PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नर्स भर्सेज नर्सिङ संघको लडाई : प्रहरी र पत्रकारमाथि पोखियो आक्रोश



सागर बुढाथोकी

नर्स भर्सेज नर्सिङ संघको लडाई : प्रहरी र पत्रकारमाथि पोखियो आक्रोश

काठमाडौं: विगत  ६ दिनदेखि नेपाल नर्सिङ संघमा धर्नामा रहेका नर्सहरुले आज एकाएक निर्णय गरे - अनशन बस्ने।

मानव अंग प्रत्यारोपण केन्द्रमा दुई साता आन्दोलन गर्दा पार नलागेपछि उनीहरु नर्सिङ संघको साहारा लिन आएका थिए। तर, माग पुरा हुने आशामा यता आएका उनीहरु गएका ६ दिनमा दुई पटक हिरासत पुगे। वार्ता भयो तर, समस्या समाधान भएन। अनी उनीहरुले एक मात्र विकल्प देखेँ - अनशन।

आज २ बजेबाट जीता बरालले अनशन सुरु गरिसकिन्। फिस्टेल नर्सिङ कलेजको क्याम्पस प्रमुखसमेत रहेकी उनी राजीनामा दिएर नर्सको पक्षमा अनशन बस्न आएकी हुन्। मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स दिकी शेर्पा आज साँझ मानव अंग प्रत्यारोपण केन्द्रमा अनशन बस्दै छिन्। उनी स्थापना कालदेखि त्यहाँ कार्यरत छिन्।

नर्सिङ संघको प्रांगणमा नर्सहरुले अनशन घोषणा गर्दै गर्दा संघको हलमा अन्तराष्ट्रिय नर्स दिवसको कार्यक्रम थियो। पत्रकारहरु आन्दोलित नर्सहरुको रिपोर्टिङमै व्यस्त थिए।

नर्सिङ संघको एक जना पधाधिकारीले माथि झ्यालबाट टाउको निकाल्दै भनिन्, 'पत्रकारहरु यता माथि आउनुस्, तपाईहरुलाई हामीले बोलाएको हो।'

त्यता कसैको ध्यान गएन। उनी तल प्रांगणमा आएर भन्न थालिन्, 'पत्रकारहरु हामीले बोलाएको हो हामीले उपयोग गर्न पाउनुपर्छ। तपाईहरु हामीले कार्यक्रम सुरु गरेपछि कार्यक्रम बिथोल्न यस्तो नाटक गर्ने?'

त्यसपछि माहोल तनवाग्रस्त भयो। आन्दोलित नर्स र संघका पधाधिकारीहरुबीच भनाभन भयो। हात हालाहालको स्थिति सिर्जना भयो।

आन्दोलित नर्सहरुले जंगिदै भने, 'हामी पनि नर्स हो हामीपनि कार्यक्रममा जान पाउनुपर्छ। हामी हाम्रै कार्यक्रम गरिरहेका छौँ कसैको कार्यक्रम बिथोलेका छैनौँ।'

संघका पधाधिकारीको जवाफ, '८५ हजार नर्स छन्। उनीहरु सबैलाई कार्यक्रममा ल्याउने? कार्यक्रम बिथोल्ने नियत नभएको भए किन अनशनको नाटक?'

'तपाईहहरुको नियत राम्रो भएको भए हामी २ जनालाई मात्र कार्यक्रममा जान दिनुस्। हाम्रो आन्दोलनलाई नाटक नभन्नुस्।'

उनीहरुको आग्रहले काम गरेन।

स्थिति तनावग्रस्त बन्यो। दुई पक्षबीच बाझाबाझ भएपछि प्रहरीले बीचमा हस्तक्षेप गरे। नर्सिङ पधाधिकारीहरु आफुहरुलाई सुरक्षा खतरा भएको भन्दै प्रहरीसँग जंगिए। कार्यक्रम स्थगित भएको जानकारी दियो।

तर, स्थिति साम्य भएन। संघका पधाधिकारीहरु प्रहरीसँग जंगी रहे। आन्दोलित नर्सहरुसँगको विवाद पनि चर्किरहेको थियो। उनीहरुले प्रहरी अधिकृतलाई माथि लिएर गए। २० मिनेटसम्म संघमा कोलाहल मच्चियो।

नर्सिङ संघका पधाधिकारीहरुले प्रहरीलाई भने, 'उनीहरुले हाम्रो कार्यक्रम बिथोल्न तल कार्यक्रम गर्दा किन चुप हुनुभयो।'

प्रहरी अधिकृत जवाफ-'हामीले सुरक्षा दिने हो अरुको कार्यक्रममा बिथोल्ने हैन।'

यस्तै बाझाबाझ लामो समयसम्म चलिरह्यो। संघका पदाधिकारीहरुले प्रहरी र पत्रकारमाथि आक्रोश पोखे। पत्रकार र प्रहरीले आफ्नो कार्यक्रमलाई वेवास्ता गरेर आन्दोलनकारी नर्सहरुलाई सहयोग गरेको आरोप लगाए।

२० मिनेटपछि स्थिति साम्य भयो। प्रहरी अधिकृत तल झरे। संघले पत्रकार सम्मेलन गर्ने भयो।

संघका पधाधिकारीलाई सोधियो, 'अभिभावक भएर पनि नर्सहरुलाई कार्यक्रमममा आउन दिनु भएन। आफ्नै सन्तानदेखि तपाईहरुलाई कसरी सुरक्षा खतरा?'

संघकी अध्यक्ष तारा पोखरलेले भनिन्, 'योङ केटीहरु हुन मुढे बल गर्छन्। यहाँ आएर रुन्छन्। त्यसैले हो। हामीले उहाँहरुको माग पुरा गर्न सहयोग गर्ने, हो गरिरेहका छौँ। स्वास्थ्य मन्त्रालयले नै गर्दैन भने हामी के गर्न सक्छौँ।'

संघका पधाधिकारीहरुले यस्तै उत्तर दिएर कार्यक्रम सके। तल जीता बरालले अनशन सुरु गरिन्।

अहिले नर्सिङ संघको प्रांगणमा बरालको अनशन चलिरहदाँ उता मानव अंग प्रत्यारोपण केन्द्रमा दिकी शेर्पा अनशन बस्ने तयारी गरिरहेकी छिन्। उनीहरु एउटै स्वरमा भन्छन्, 'माग पुरा नहुन्जेल अनशन तोड्दिनौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell