PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रत्नबहादुरको 'रक' गर्ने रहर : नियतिले ठगे पनि भन्छन्,  'म डिप्रेसनले गाँजिएर मर्न चाहन्नँ....'

रत्नबहादुरको 'रक' गर्ने रहर : नियतिले ठगे पनि भन्छन्,  'म डिप्रेसनले गाँजिएर मर्न चाहन्नँ....'

सागर बुढाथोकी/पहिलोपोस्ट


बागबजारस्थित रोयल म्युजिक एकेडेमीको एउटा क्लासमा एक युवक ड्रम बजाइरहेका छन्। संगीतले पूरै कोठा गुञ्जायमान छ। ‘यो मन त मेरो नेपाली हो..’ को धून आइरहेको छ। उनी टाउको हल्लाउँदै हात चलाइरहेका छन्। शरीरको हाउभाउ आकर्षक देखिन्छ। उनी तत्कालै रोकिने मुडमा देखिन्नन्। संगीतमै मनमगन भएर ड्रम ठोकिरहेका छन्।

अपत्यारिलो जस्तो लाग्ला तर प्रष्ट देखिन्छ- उनको दुबै हातको कुइनो मुन्तिरको भागै छैन। कुइनोमा 'स्टिक' बाँधेर ठोकिरहेका हुन् ड्रम उनले। अरुभन्दा फरक देखिन्छन् तर, संगीत दमदार सुनिन्छ।

रोयल म्युजिक एकेडेमीमा संगीत सिक्ने अधिकांश 'टिन एजर' हरु छन्। कोही गितार समाइरहेका छन् त कोही ड्रम सिक्न व्यस्त। सबैको उमेरमा समानता छ। 'लुक्स' पनि त्यस्तै। 

सिन्धुपाल्चोकका रत्नबहादुर तामाङ भने अपवाद देखिन्छन्। उमेर होस् या लुक्स कुनै कुरा अरुसँग मिल्दैन। उमेर ३४ वर्ष। मंगोल अनुहार। होचो उचाई। हात पनि आधामात्रै। 

रत्नबहादुरले संगीतसँग साइनो जोडेको दुई महिनामात्र भयो। यसअघि उनको तीन पुस्ते खानदानको संगीतसँग सम्बन्ध थिएन। उनी पनि अपवाद बनेनन्। उनले संगीतको 'स' नै जानेका थिएनन्। ड्रमको बारेमा थाहा नै थिएन। जसरी जीवनमा हात गुम्छ भन्ने सोचेका थिएनन् संगीत पनि नसोचेकै विषय थियो।

तर, अहिले संगीत जीवनको नशा बनेको छ। साथी भने पनि संगीत, दुस्मन भने पनि संगीत नै। उनी संगीतसँगै बात मार्छन्। जिन्दगीको 'फ्रस्टेसन'होस् या खुशी, ड्रम ठटाएर नै पोख्छन्। किनकि, उनी एक्लो छन्।

केही वर्षअघिसम्म रत्नबहादुर खुशी थिए। परिवार थियो। साथी थिए। प्रेमिका थिइन्। आफन्तहरु थिए। रोजगार थियो। जीवनसँग गुनासो गर्नुपर्ने कुनै कारण थिएन। तर, उही रत्नबहादुर अहिले बेचैन छन्। जिन्दगीको उर्वर उमेरमा सकसपूर्ण दिन काटिरहेका छन्।

सुखी रत्नबहादुरबाट दुःखी रत्नबहादुरमा 'घटुवा' हुनुको कथा अत्यन्तै दर्दनाक छ। रत्नबहादुर विगत सम्झेर भावुक हुँदै भन्छन्, 'कस्तो थिएँ, कस्तो भएँ - सबै समयको खेल रहेछ।'

रत्नबहादुर २०७० सालमा वैदेशिक रोजगारका लागि दुबई गएका थिए। तर, त्यहाँ राम्रो काम पाएनन्। त्यसपछि त्यतैबाट इराक गए। काम चलिरहेको थियो। आम्दानी ठिकै। काममा बढुवा भएकाले खुशी नै थिए।

२०७२ साल वैशाखमा नेपालमा भूकम्प गयो। समाचारमा  देखे— सिन्धुपाल्चोक ध्वस्त। अत्तालिँदै घरमा फोन गरेपछि घर भत्किएको खबर पाए। दाइकी एउटी छोरी भूकम्पमै परेर बितिछन्। अर्की छोरी अपाङ्ग। खबर सुनेपछि त्यहाँ बस्न मन लागेन। आपत परेको बेला घर फर्कनै जाति भनेर फर्किए।

चौतारा पाँचमुरेस्थित घरको हालत बेहाल थियो। आर्थिक अवस्था नाजुक। हातमुख जोर्नलाई काम नगरी सुख थिएन। बुवा एक दशक अगाडि नै क्यान्सर लागेर बितेकाले परिवारको जिम्मेवारी उनको काँधमा थियो। उनी पटक-पटक विदेश गए पनि कमाउन सकेका थिएनन्। यो पटक पनि त्यस्तै-त्यस्तै भएको थियो।  

उनले विदेशबाट आएको केही दिनमै धापासी हाइटस्थित एउटा घरमा काम पाए। 'थ्रिजी वेल्डिङ' फलामहरुको काम थियो। विदेशमा पनि त्यही काम गर्थे।

उनी फलामको पाइप लिएर भर्‍याङ चढिरहेका थिए। अकस्मात झट्का लाग्यो। ठूलो आवाज निकालेर कराए। भर्‍याङ फलामको थियो, शरीर त्यसैमा टाँसियो। साथीहरुले सुकेको भाटाले हानेर बल्लतल्ल छुटाए। तर, उनी सग्ला थिएनन्। हातहरु क्षतविक्षत थियो। ज्यान भतभती पोलिरहेको थियो।

भर्‍याङ नजिकैको बिजुलीको पोलमा पाइप टाँसिएर उनलाई करेन्ट लागेको थियो।

उनी अर्धचेत अवस्थामा थिए। असह्य पीडा भइरहेको थियो। साथीहरुले अस्पताल लान गाडी रोके। ट्याक्सी बोलाए। दर्जनौँ ट्याक्सीहरुलाई अनुरोध गर्दा पनि कसैले रोकेनन्। एम्बुलेन्स बोलाउन कसैको होस भएन। रगत धेरै बगिसकेको थियो। रत्नबहादुरले बाँच्ने आशा त्यागिसकेका थिए। सास गए ढुक्क हुन्थ्यो भन्ने मनस्थितिमा पुगिसकेका थिए। त्यसपछि बेहोस।

होस खुल्दा अस्पतालमा थिए। अस्पताल भर्ना भएको एक साता भइसकेको रहेछ। एउटा मिठाइको गाडीले उनलाई उद्धार गरेर चिरायु अस्पताल पुर्याएको रहेछ। चिरायुमा आइसियु अभाव भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रिफर गरेछ। त्यहाँ पनि आइसियूकै समस्या। त्यसपछि उनलाई केएमसी अस्पताल सिनामंगल पुर्‍याइएको रहेछ।

हाइभोल्टेजको करेन्ट। अस्पताल समयमै पुर्‍याउन नसकिएको। उपचार प्रभावकारी हुन सकेन। होसमा आउनासाथ हातका औँलाहरु काटेर फाल्नु पर्यो । औँला नकाटे 'इन्फेक्सन' हुने डर थियो।

छँदाखाँदाको औँला गुम्दा पीडा नहुने कुरै थिएन। अस्पतालमा बस्दाबस्दै दिक्क लागिसकेको थियो। मनमा अनेकथरी कुराहरु खेल्थे। औंला नै नभएपछि त बिजोगै हुन्छ भनेर सोचिरहन्थे। तर, औंलाहरु काटेर मात्र नहुने भयो। हातको कुइनामुन्तिर नकाटे झन समस्या पर्ने चिकित्सकहरुले बताए। त्यसपछि रत्नबहादुर पागल जस्तै भए। उनलाई बाँच्न मन लागेन।

दुई हात नभएको कल्पना गर्दा ज्यान सिरिङ्ग हुन्थ्यो। जिन्दगीका बाँकी दिनहरु सम्झँदा आँसु रोकिन्नथ्यो। सोच्दा मात्रै तनाव हुन्थ्यो। मनस्थिति अनेक बनेको थियो। आत्मविश्वास शून्य। स्तब्ध थिए उनी।

'मर्न पाए हुन्थ्यो' मन मष्तिष्क दुवैमा यस्ता कुराहरु मात्र खेल्थे।

'सोचेर मात्र मर्न नसकिने रहेछ, कति कोशिश गरेँ, हिम्मत आउँदै आएन,' अस्पतालका दिनहरू सम्झिदै गर्दा रत्न भावुक सुनिए।

केएमसी अस्पतालमा १८ दिन बसे। लगभग अर्धचेत अवस्थामै। होस आउँदा बेहाल हुन्थे। तनाव र निराशाले गर्दा जुनसुकै बेला जे पनि गर्न सक्ने खतरा थियो। जीवनकै सबैभन्दा सकस क्षण थियो। तर,दिदीले दिनरात नभनिकन उनलाई रुँघिरहेकी थिइन्। दिदी एकमात्र सहारा बनेकी थिइन्।

२५ दिनपछि केएमसीबाट शिक्षण अस्पताल रिफर गरियो। केही दिनमै त्यहाँ टाउकोको अपरेसन सकियो। उनलाई देखेर उनकी दिदी तर्सिइन्। भान्जी तर्सिइन्। उनी छक्क परे। 'मेरो अनुहार देख्दा तर्सनु पर्ने के भयो र?' आफैलाई प्रश्न गर्दै बाथरुमतिर दौडिए। ऐना हेर्दा त आफैँ तर्सिए।
फेरि स्तब्ध!

आफ्नो अनुहार आफैलाई कुरुप लाग्यो। टाउकोको माथिल्लो भागको छाला नै थिएन। पुरै कुच्चिएको। विरक्त लागेर ऐना फुटाइदिन मन लाग्यो। तर, हात भए पो ऐना फुटाउनु? टाउको ठोक्दा झन क्षतविक्षत हुने खतरा। बाथरुमबाट रुँदै फर्किए।

छँदाखाँदाको हात सद्दे थिएनन्। टाउको उस्तै। आर्थिक अवस्था कमजोर। अपांग भएपछि प्रेमिका पनि आफ्नै बाटो लागेकी थिइन्। रत्नबहादुरलाई विरक्तिन यिनै कारण पर्याप्त थियो। लामो समय विरक्तिए। उपचार खर्चको लेखाजोखा थिएन। खल्ती रित्तिएको थियो। ऋण उस्तै थपिएको।

***

अरुको सहाराबिना खानपिन गर्न नै गाह्रो हुन्थ्यो। शौचालय जाँदा उस्तै समस्या। साथीभाइले कतिञ्जेल सहयोग गर्थे र? आफन्तको आर्थिक अवस्था पनि उस्तै। घरमा भएकी बुढीआमा उनलाई हेर्दै भन्थिन्, 'के आइलाग्यो नि यस्तो? मेरो त मर्ने बेला भइसक्यो तेरो जिन्दगी कसरी कटाउँछस्?'

आमाको कुराले रत्नबहादुरको गला अवरुद्द हुन्थ्यो, भक्कानो छुट्थ्यो तर 'छोरा मान्छे रुनुहुन्न' भन्ने सम्झँदै आमाको अगाडि दिल खोलेर रुन सक्दैन थिए। रात परेपछि भने आँसु रोकिन्थ्यो। रोएपछि मन हलुका भएको महसुस गर्थे।

रोएर जिन्दगी कतिञ्जेल चल्थ्यो र?  जसोतसो दिन कटिरहेको थियो। कृत्रिम हात हाल्न पाए केही सहज हुन्थ्यो भनेर बुझिरहेका थिए। तर, कृत्रिम हात अत्यधिक महंगो। १० देखि १५ लाखसम्म पर्ने भएकाले उनको वशको कुरै थिएन।

त्यही बेला एक जना समाजसेवीले उनको पीडा बुझे। रत्नले कृत्रिम हात पाए। उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। कृत्रिम नै सही आत्मविश्वास केही हदसम्म बढ्यो।

***

रत्नबहादुर आमासँगै घरमा थिए। आमाले छिमेकीबाट गाईको दूध ल्याउँथिन्। तताएर जमाउँथिन्। दही बनाउँथिन्। मोही पार्थिन्। घ्यू जम्मा गर्थिन्।

किनेर ल्याएको दूधमा आमाको त्यत्रो मेहनत देख्दा छक्क पर्दै आमालाई सोधे, 'एक मानो दुधमा पनि किन यस्तो आमा?'

'केही उपाय नलागेपछि यसरी नै जोहो गर्नुपर्छ बाबु। अब काम गरेर खान सक्दिनँ। तेरो हालत यस्तो छ।'

बूढीआमाको खर्च जोहो गर्ने आइडिया देखेर उनी नाजवाफ भए। आमाको आइडियाले आफू पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास थपियो। केही न केही त गरेरै  छोड्छु भन्ने प्रण गरेर काठमाडौँ हानिए। तर,गर्ने के त? लगानी गर्न पैसा थिएन। जागिर खान पढाइ लेखाइ। शारीरिक श्रम झन् असम्भव।

जानेको सीप वेल्डिङ मात्र थियो। केही केटाहरु खोजेर वेल्डिङको ठेक्का लिने विचार गरे। काम खोज्न लगातार काठमाडौंका गल्ली चहारे। महिनौँसम्म काठमाडौँको गल्ली चहार्दापनि काम हात लागेन। उनको अवस्था देखेर कसैले काम दिएनन्।

त्यसपछि रत्नपार्कको फुटपाथमा कपडा बेच्न सुरु गरे। त्यहाँ पनि महानगरले टिक्न दिएन। बिहानदेखि साँझसम्म बस्दा पनि व्यापार गर्न सकेनन्। महानगरले लखेटेर हैरान पार्थ्यो। फेरि ऋण लिएर दूध डेरी खोल्ने योजना बनाए। तर, त्यो योजनापनि सफल भएन।

एकपछि अर्को काम आँटेका उनी कुनैमा सफल भएनन्। कामकै लागि धाउँदा धाउँदा निराश भइसकेका थिए। विकल्प केही देखेका थिएनन्। काठमाडौंको साँघुरो कोठामा बस्दाबस्दै विरक्तिसकेका थिए। त्यही बेला फेसबुकमा भेटिएकी एकजना युवतीले उनलाई मन पराएको 'ग्रिन सिग्नल' दिइन्। उनले आफ्नो यथार्थ बताए। यथार्थ थाहा पाउँदापाउँदै ती युवतीले उनीसँग बिहे गर्न प्रस्ताव राखिन्।

जिन्दगीदेखि विरक्तिएको निराश केटोलाई प्रेम प्रस्ताव! उनको मन चंगा सरी उड्यो। कसैले त माया गर्दोरहेछ भनेर मख्ख परे। दुर्घटनापछि पहिलोपटक विश्वास भन्ने शब्दसँग प्रेम जाग्यो। दिउँसै सपना देख्न थाले। सन्तानको बाउ बनेर हिँडेको कल्पनामा डुब्न थाले। सुखदु:ख साटासाट गर्ने मान्छे पाएको कल्पना गर्दा पनि आनन्द भयो।

कोठामा बसेर कल्पिन्थेँ— 'ओहो अब त मेरी पनि श्रीमती। मेरो कुरा सुन्ने मान्छे हुने भयो। अब जिन्दगीमा पहिलेको जस्तो निराश हुनुपर्दैन।'

लगत्तै तिनै युवतीसँग बिहे भयो। बिहेपछि भाग्य चम्किन्छ भन्ने सोचेका थिए। तर, सोचेजस्तो जीवनमा कहिले भएको थियो र?
१० महिना नपुग्दै सम्बन्ध विच्छेद भयो। जिन्दगी झन् भद्रगोल। 

'हात गुम्दाभन्दा बढी श्रीमतीले छोडेको सम्झँदा पीडा हुन्छ,' उनी भावुक सुनिए। रोयल म्युजिक ऐकेडेमीबाट बाहिरिँदै गर्दा भने,  'बाँकी कुरा सुन्न भोलि मेरो रुममै आउनुस् है।'

***

हात्तीगौँडास्थित एउटा सानो कोठा। एउटा दराज, पलङ पनि एउटै। सबै सामानहरु मिलाएर राखिएको। बेडमा कृत्रिम हात लडिरहेको थियो। पेन्चिस र पेचकस त्यसको छेउमै। उनी भने ड्रमको अभ्यास गरिरहेका थिए। तर, म्युजिक ऐकेडेमीको जस्तो ड्रम थिएन त्यहाँ।

टेबल, त्यसको छेउमै पानीको बाल्टिन। अनि नजिकै राइस कुकरको कार्टुन। त्यसैले उनलाई ड्रम सेट बनाएका थिए। स्टिकले ठटाएर अनौठो आवाज निकालिरहेका थिए। त्यो एकेडेमीमा सिकेको कुराको अभ्यास थियो। ड्रम बजाउन स्थगित गर्दै भने, 'अभ्यास गर्न यसरी नै काम चलाएको छु। ड्रम नै किन्न त लाखौँ पर्ने रहेछ।'

एकपछि अर्को काममा असफल भएपछि उनी निराश थिए। श्रीमतीले छोडेर गएपछि निराशाले हद नाघेको थियो। केही नगरी बस्दा झनै हालत खराब हुने डर थियो।

दिनभर सोचेँ, — 'के गर्ने त?'

आफै जवाफ पाए, —'म्युजिक सिक्ने।'

'हात नै छैन कसरी ?'

त्यसको जवाफ पनि अन्तर्मनबाट नै पाए, — 'साँचो मनले चिताए भगवानले पुर्‍याउँछन्।'

यही सोचेर कोठाबाट निस्किएका उनी रोयल म्युजिक एकेडेमीमा पुगे। एकेडेमीको सञ्चालकले उनलाई सुरुमा तलदेखि माथिसम्म हेरे। रत्नबहादुरको उमेर, लुक्स र शारीरिक अवस्था हेर्दा मोडर्न म्युजिकको लागि कुनै एंगलबाट फिट थिएनन्। तर, उनको इच्छा देखेर एकपटक ट्राइ गरे।

गितार चलाउन सम्भव भएन। ड्रममा ट्राइ गरे। ड्रम बजाएपछि रोयल म्युजिक एकेडेमीको टिचरले रिजेक्ट गरेनन्। ड्रममा उनको सम्भावना देखियो।

'मान्छेको जिन्दगीमा कहाँ गएर के हुन्छ भन्ने सोच्नै नसकिने रहेछ' रत्नबहादुरले मुस्कुराउँदै भने, 'उहाँले मलाई फ्रि मै ड्रम सिकाउँछु भन्नु भयो। जिन्दगीबाट निराश भएको बेला त्यही दिनदेखि म्युजिक मेरो साथी बन्यो।'

रत्नबहादुरले सहयोगमा पाएको दुईवटा कृत्रिम हात पुरानो भइसकेको छ। बिग्रिएर दिनहुँ हैरान हुन्छन्। भनेजसरी काम नगर्दा धेरै पटक विपत परेको छ। लामो समयसम्म टिकाउन एउटा मात्र हात लगाएर हिँड्छन्। नयाँ किन्न त उनको कल्पना बाहिरको कुरा भयो।

'यो हात बिग्रिएर दिक्क भइसकेँ। नेपालमा बनाउने ठाउँ छैन। आफै बनाउनु परेको छ' बेडमा लडिरहेको हातलाई देखाउँदै रत्नबहादुरले भने, ' सम्झौतामाथि सम्झौता जिन्दगी यसरी चलिरहेको छ। यही कृत्रिम हात पनि बिग्रियो भने त ट्वाइलेट जान नि अरुको भर पर्नुपर्छ।'


उनी हरेक दिन यही कोठामा एक्लै हुन्छन्। कामको लागि धाउँदाधाउँदै थाकिसकें। सोच्दा सोच्दै दिमाग तातिसक्यो। फेरि नयाँ योजनाहरु बनाउने हिम्मत नआएको बताउँछन्। आफ्नै आफन्त र साथीभाइहरु टाढिँदै गएकाले बाँच्ने चाह हराउँदै गएको सुनाउँछन। आफ्नो लागि आफै बोझ भएको अनुभव गरेका छन्।

'तर....डिप्रेसनले गाँजिएर मर्न चाहन्नँ' निराश हुँदै रत्नबहादुर भन्छन्।

त्यसो भए गर्ने के त ?

'मलाई कसैले विश्वास गरेर काम दिए आभारी हुने थिएँ,' कुराकानीको बिट मार्दै गर्दा भने, ' म जस्तै अपांगहरुको एउटा ब्याण्ड खोल्न चाहन्छु। आफ्नो बाँकी जीवन म्युजिकमा समर्पित गर्न चाहन्छु।'
 



ट्रेन्डिङ पोस्ट

Ncell