PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कर्णाली प्रदेश: राजस्व संकलन लक्ष्यभन्दा तीन गुणा कम, ५० करोडको लक्ष्यमा १३ करोडमात्र



पी बी खड्का

कर्णाली प्रदेश: राजस्व संकलन लक्ष्यभन्दा तीन गुणा कम, ५० करोडको लक्ष्यमा १३ करोडमात्र

सुर्खेत: कर्णाली प्रदेश सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्ने निश्चित देखिन्छ।  प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर, आर्थिक वर्ष घर्किनै लाग्दासम्म लक्ष्यको आधा पनि भेट्न नसक्दा लक्ष्यअनुसारको राजश्व संकलन नहुने निश्चित देखिएको हो।

चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले झण्डै १३ करोड मात्रै राजश्व संकलन गर्न सफल भएको छ। उठाएको राजश्वमा लक्ष्यअनुसार अझै तीन गुणा बढी राजश्व उठाउनुपर्ने छ। तर, आर्थिक वर्षको बाँकी दुई महिना मात्रै छ। जसले गर्दा पनि लक्ष्य अनुसारको राजश्व प्रदेश सरकारले उठाउन निकै मुश्किल छ।

झण्डै ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको कर्णालीमा तोकिएको लक्ष्य भन्दा कम राजश्व उठेको छ। जसले गर्दापनि प्रदेश सरकारलाई संघीय सरकारकै भरपर्नुपर्ने भएको छ। संघीय सरकारले दिने अनुदान र सशर्त बजेटकै भरमा प्रदेश सरकार चलाउनुपर्ने बाध्यता देखिएको छ।

 

कर्णाली प्रदेश सरकारको राजश्व संकलन गर्ने प्रमुख स्रोत घर जग्गा रजिष्ट्रेसन, यातायात, मनोरञ्जन, विज्ञापन र नदीजन्य वस्तु लगाएतबाट उठाउन सक्ने व्यवस्था गरिएको छ। प्रदेश सरकारको राजस्व संकलन आन्तरिक स्रोतमा मात्रै निर्भर भएकै कारणले पनि लक्ष्य भेटाउन मुश्किल भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सन्तबहादुर सुनारको भनाई छ।

‘५० करोडको लक्ष्यमा हालसम्म १३ करोड मात्रै राजश्व संकलन गर्न सकेका छौँ,’ सचिव सुनारले भने, ‘प्रदेश सरकारको लक्ष्य र सोच अनुसार राजश्व उठ्न सकेको छैन्।’

प्रदेश सरकारले यातायातबाट ५ करोड ५३ लाख ६३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ। त्यस्तै, मालपोतबाट ७ करोड ७८ लाख ३८ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ। यसरी जम्मा १३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत राजश्व स्थानीय तहले दिएका छैनन्।

भन्सार, अन्त शुल्क र अन्तराष्ट्रिय नाकालगायतको राजश्व संघीय सरकारसँगै जाने प्रावधान रहेको छ।

संशोधित अनुमान २१ करोड

यसरी प्रदेश सरकारले लक्ष्य भेटाउन नसक्ने पक्का भएपछि संशोधित अनुमान २१ करोडको गरेको छ। ‘प्रदेश सरकारले लिएको लक्ष्य भेटाउन गाह्रो भएकाले संशोधित अनुमान २१ करोडको गरेका छौँ,’ उनले भने, ‘आर्थिक वर्षको झण्डै १० महिना बितेको अवस्थामा हामीले करिब १३ करोड उठाउन सक्यौँ भने, अव आवको मसान्तसम्म २१ करोड पुग्छ भन्ने अनुमान हो।’

प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनसमेत निराशाजनक गरेको छ। प्रदेश सरकारले हालसम्म करिब १२ प्रतिशत मात्रै बजेट कार्यान्वयन गरेको छ। प्रदेश सरकारले २८ अर्व २८ करोड २८ लाख २८ हजार रुपैयाँको जम्मा बजेट मध्ये करिव ३ अर्ब ७ करोड मात्रै खर्चेको छ। जसमा विकासे बजेट तर्फ एक अर्ब ९३ करोड ८३ लाख मात्र खर्च गरेको छ। कर्मचारी अभाव, पर्याप्त संरचना अभाव, कानुनी समस्याले अपेक्षाअनुसार बजेट खर्च गर्न नसकेको प्रदेश सरकारको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell