PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विदेश जाँदा सीम कार्ड, फर्कँदा सुनका डल्ला : जारी छ विमानस्थलबाट तस्करी



सविन ढकाल

विदेश जाँदा सीम कार्ड, फर्कँदा सुनका डल्ला : जारी छ विमानस्थलबाट तस्करी

काठमाडौं : दोहाबाट उडेको नेपाल एयरलाइन्सको बिमान आइतवार बिहान करीब १० बजे काठमाडौंमा अवतरण भयो। अवतरण भएसँगै एक युवक धावनमार्गतिर दौडिए। विमानको गति रोकिएपछि ती युवकले दुवै पाङग्रामा ओट लगाए।

त्यसपछि विमानबाट यात्रुहरु झरे र त्यहाँ नजिकै अड्याइएको बसमा चढे। गुडिसकेको बस अलिकति पर पुगेपछि अर्कोतिर तेर्सियो। एक युवक बसको छेउमा पुगे। उनलाई विमानबाट आएका यात्रुले केही सामान दिए। त्यसपछि यात्रु आफ्नो गन्तव्यतिर लागे।

आइतबार नै करीब ५ बजेतिर प्रहरीले एक युवकलाई नियन्त्रणमा लियो। समातिएका ती युवक नेपाल वायुसेवा निगमका कर्मचारी रञ्जीत कुमार यादव थिए। र, यी तिनै विमानस्थलको धावनमार्गमा गाडी रोकेर सामान लिने व्यक्ति थिए। विमानस्थलमा सुन तस्करी गरेको विषयमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बिहान करीब १० बजेतिर दोहाबाट आएका यात्रुले यादवको हातमा थमाएको वस्तु सुन रहेको पुष्टि भयो। ‘विदेशबाट आउने युवकलाई सुन बोकाएर पठाउने र यादवले सुन बुझ्ने गरेको पाइयो,' महानगरीय प्रहरी परिसरका एसएसपी वसन्त लामाले भने।

प्रहरीले विमानस्थलको सीसी क्यामरा फुटेज, मोबाइल रेकर्ड र बयानको आधारमा कर्मचारी यादवलाई नियन्त्रणमा लिएको हो। यादव विगत एक वर्षदेखि निगममा मेन्टिनेन्ट हेङ्गरका रुपमा काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

यादवलाई दोहाबाट ल्याएको सुन दिने भने सिरहाका धनेन्द्रकुमार यादव हुन्। प्रहरीले विशेष सुचनाको आधारमा दोहाबाट सुन आउँदैछ भन्ने जानकारी पाएपछि धनेन्द्रकुमारको निगरानी थालेको थियो। विमानस्थलबाट बाहिरिनेबित्तिकै धनेन्द्रलाई नियन्त्रणमा लिएर सोधपुछ तथा खानतलासी गरिएको थियो। उनको साथबाट सुन नभेटिएपछि उनले गरेकै संकेतका आधारमा प्रहरीको अनुसन्धान रञ्जीत यादवतिर मोडिएको थियो।

मोटरसाइलमा सुन बोकेर डेरा टू विमानस्थल

२२ वर्षीय यावदले पहिलो पटक सुन तस्करी गरेको दावी गरेका छन्। तर, प्रहरी भने यादवले पटक पटक सुन ल्याएको प्रारम्भिक अनुसन्धानमा देखिएको दावी गरिरहेको छ।

आइतवार यादवले चलाएको मोटरसाइकलको व्याट्री राख्ने ठाँउमा १० तोलाका तीन वटा सुनका बिस्कुट फेला परेको थियो। यादवले विमानबाट आएको सुन आइतवार नै अर्का एक जनालाई बुझाउनुपर्ने थियो। तर, सुन बुझ्ने युवक समयमा लक्षित व्यक्ति नआएपछि यादव सुन बोकेर काडाँघारीमा रहेको डेरा गएका थिए। र, करीब ४ बजेतिर फेरि विमानस्थल नै फर्किएको अनुसन्धानमा खटिएका डिएसपी होविन्द्र बोगटीले बताए। ‘समयमा नै सुन बुझ्ने युवक आएको भए सुन बरामद नहुन पनि सक्थ्यो। समयमा नआएकाले यादव दिनभर सुन बोकेर हिँडी नै रहेका थिए,' बोगटीले भने।

उनीहरुले विमानस्थलको सुरक्षा स्क्रिनिङ नै नपुग्दै बीच बाटोबाट सुन तस्करी गर्ने गरेको देखिएको छ। ‘यो एउटा डरलाग्दो प्रवृत्ति देखियो। यसमा थप अनुसन्धान गर्छौ,' एसएसपी लामाले भने।

विमानस्थलका कर्मचारीमाथि छानविन गर्ने प्रहरी तयारी

३८ सय किलो सुन प्रकरणमा जोडिएका केही व्यक्ति पक्राउ परेपछि विमानस्थलबाट संगठित रुपमा हुने सुन तस्करी रोकिएको सरकारका मन्त्री तथा गृहमन्त्रीले दावी गर्दै आएका थिए। त्यतिमात्र होइन, प्रधानमन्त्रीले पनि सुन तस्करी बन्द भएको भाषण गरेका थिए।

२०७४ माघ महिनामा बाहिरिएको ३३ किलो सुन प्रकरणसँगै विमानस्थलका कर्मचारीको संलग्नता समेत खुलेको थियो। तर, त्यसपछि भने विमानस्थलका कर्मचारी नै मिलेर सुन तस्करीको घटना बाहिरएको थिएन। आइतवारको यो घटनाले संगठित रुपमा सुन तस्करी जारी छ भन्ने प्रस्टिन्छ। ‘एयरलाइन्सका कर्मचारीको संलग्नता दोहोरियो। यो गम्भीर हो। तल्लो तहका कर्मचारीको सलग्नता देखिएको छ,' परिसरका प्रमुख एसएसपी लामाले भने।

प्रहरीले यो घटनासँगै अब नेपाल एयरलाइन्सका कर्मचारीमाथि पनि छानविन गर्ने बताएको छ। ‘एयरलाइन्सका कर्मचारीको संलग्नता भेटियो। कसकसको सलग्नता छ, हामी अनुसन्धान गर्छौ,' एसएसपी लामाले भने।

प्रहरीले दोहामा बसेर सुन तस्करी गर्ने केही शंकास्पद व्यक्तिको पहिचान समेत गरेको दावी गरेको छ। नेपाल र दोहामा रहेका व्यक्तिले संगठित रुपमा वैदेशिक रोजगारीमा रहेका युवालाई प्रयोग गरेर सुन तस्करी गर्ने गरेको खुलेको हो। नेपालबाट दोहा जाँदा सीमकार्ड दिएर पठाउने र आउँदा सुन बोकाउने गरेको एसएसपी लामा बताउँछन्। ‘सीममा नियमित सम्पर्क गर्न सीम दिएर पठाउने र अर्को आउँदा सीम र सुन बोकाउने गरेको पाइयो,' एसएसपी लामाले भने।

तस्करले यसरी सुन बोकेर नेपाल आउने युवालाई २ सयदेखि ५ सय रियालसम्म दिने गरेको खुलेको छ।

विमानस्थलबाट बाहिरिएको अवैध सुनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसरको टोलीले आज साँझ सुनसहित नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले पुष्टि गरे।

यादवले विदेशबाट आएको सुन धावनमार्गमा पुगेर लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले यादवको साथबाट ३० तोला सुन बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell