PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


पहिलो पटक विदेश पुगेकी 'कुमारी'को अनुभव : त्यता पनि माग्ने हुँदा रैछन्, अन्तरिक्ष यात्रा गर्न पाए हुन्थ्यो !


सहयोग रञ्जित

पहिलो पटक विदेश पुगेकी 'कुमारी'को अनुभव : त्यता पनि माग्ने हुँदा रैछन्, अन्तरिक्ष यात्रा गर्न पाए हुन्थ्यो !

'मस्कोमा पनि माग्ने मान्छे हुँदा रहेछन् !' 

पहिलो पटक विदेश यात्रा गरेर फर्केकी १२ वर्षकी मतिनालाई सबैभन्दा अनौठो यही लाग्यो।

९ वर्षसम्म जीवित देवी कुमारीका रुपमा पुजिँदै आएकी मतिना शाक्य वैशाखको पहिलो साता विदेश पुगेकी थिइन्।  

सन् २००७ मा यसैगरी भक्तपुरकी कुमारी सजनी शाक्य लिभिङ गडेस शीर्षकको वृत्तचित्र रिलिजको कार्यक्रममा अमेरिका पुगेकी थिइन्। तर त्यसको महँगो मूल्य चुकाउनु पर्‍यो। परम्परा विपरीतको काम गरेको आरोप लाग्यो। अन्ततः उनलाई कुमारी पदबाट नै हटाइयो। 

मतिनालाई यो डर छैन। किनभने परारको दशैँमा उनले जीवित देवीको पदबाट अवकाश पाइसकेकी छिन्। तर पनि परिवारका सदस्यहरु र आफन्त  उनलाई सदा 'द्य: माजु' नै भन्ने गर्छन्।

कुमारीको पदमा रहँदा वसन्तपुरस्थित कुमारी घरबाट चाडवाडमा बाहेक अरु बेला बाहिर हिँडडुल गर्न मिल्दैन थियो। घर फर्केपछि बल्ल समाजको व्यवहारसँग घुलमिल हुन थालेकी छिन् मतिना। 

काठमाडौंबाट बाहिर अहिलेसम्म नगरकोट र लुम्बिनीसम्म मात्रै पुगेकी मतिना यो पटक भने धेरै टाढा पुगिन् - पराई भूमिमा।

वैशाख ४ गते मतिना आफ्ना बुवा प्रताप, आमा सुनीता शाक्य र कुमारी घरका चिताइदार महेन्द्ररत्न  शाक्यसँग एक साताका लागि रुस पुगेकी थिइन्। नेपाली राजदूतावाससँग सहकार्य गरेर मतिनालाई रसियाको यात्रा गराउने व्यवस्था मिलाउने दुई रसियन नागरिक इगोर अगोरोद्निकोभ र दुर्सन आलिएभा थिए। 

कैलाश पर्वत जाने बेला नेपाल ‌ओर्लँदा उनीहरु कुमारी घर पुगेका थिए। कुमारी परम्पराबाट प्रभावित उनीहरुले रसियामा नेपालको कुमारी संस्कारबारे बुझाउने प्रयत्न गरिरहेका छन्। त्यसै क्रममा पूर्वकुमारीको मस्को यात्राको व्यवस्था उनीहरुले मिलाएका थिए।

अन्तरिक्ष यात्रा गर्ने चाहना

मतिना जिज्ञासु भइन् रसियामा। भाषाको समस्या थियो। त्यसैले उनीहरुसँग हिँड्डुल गर्दा 'ट्रान्सलेटर' सँगै हुन्थे। मतिना आफूले बुझ्न चाहेको कुरा सोधिरहन्थिन्। 
 
रसियामा रहँदा मस्कोबाहिर रहेको अन्तरिक्ष यात्री प्रशिक्षण केन्द्र 'ज्वेज्द्नी गोरोद' मा अन्तरिक्ष उडानका वैज्ञानिक प्रविधि र उपलब्धिहरूबारे मतिनालाई जानकारी दिइएको थियो। त्यसको व्यवस्था गरेका थिए अन्तरिक्ष यात्री सलिजन खलिफाबले। 

मतिनाका पिता प्रतापमान शाक्यका अनुसार खलिफाबले मतिना आएको थाहा पाएपछि अन्तरिक्ष यात्री प्रशिक्षण केन्द्र घुमाउने प्रस्ताव गरे।

केन्द्रमा मतिनाले अन्तरिक्षमा यात्रा गरिसकेका यात्रीहरुसँग कुराकानी गर्नुका साथै अन्तरिक्ष यान भित्र गएर त्यसको अवलोकनसमेत गरिन्। 

मतिनालाई पनि यानबाट अन्तरिक्षको यात्रा गर्न मन लागेको रहेछ। तर अन्तरिक्षमा गएपछि मानिसले कसरी पानी र खानाको जोहो गर्छन् भनेर सुनेपछि भने केही आत्तिइन्। 

एक हप्ता यात्रामा मतिनालाई सबैभन्दा राम्रो लाग्यो रसियन राष्ट्रपतिको निवास भएको स्थान क्रेमलिन।  ९९ तल्ले गगनचुम्बी भवनबाट मस्को शहर हेर्दा दंग परिन्।

रुसी विश्वविद्यालयमा पढ्न प्रस्ताव

भ्रमणकै सिलसिलामा मतिना रसियाली जनमैत्री विश्वविद्यालय पुगिन्। विश्वविद्यालयले मतिनालाई कक्षा १२ पछि विश्वविद्यालयमा पढ्न प्रस्तावसमेत गर्‍यो। प्रताप भन्छन्,' विश्वविद्यालयको डिनले नै मतिनालाई त्यहाँको बारे जानकारी दिए। उनीहरु मतिना यहाँ पढ्न आउनु भन्ने चाहन्थे।'

मस्को जानुहुन्छ त पढ्न?

हामीले मतिनालाई सोध्यौँ।

'अहिले पढ्दैछु। पछि थाहा हुन्छ,' उनले छोटो जवाफ दिइन्। 

मतिना हाल भोटेबहालमा रहेको ग्रीन पिस को एडमा कक्षा ९ मा अध्ययनरत छिन्। बिहान ८ बजे विद्यालय पुग्नुपर्छ। ५ बजेसम्म कक्षा हुन्छ। 
कुमारी हुँदा भने मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म मतिनालाई पढाउन शिक्षकहरु कुमारी घर मै पुग्थे। विद्यालयले अरु विद्यार्थीलाई जसरी परीक्षा लिन्थ्यो, जीवित देवी कुमारीको पनि त्यसरी नै परीक्षा हुन्थ्यो। 

मस्कोमा रहँदा घुमफिर मात्र हैन, नेपालको संस्कृति रुसी नागरिकहरुलाई बुझाउने विभिन्न कार्यक्रम पनि भए। 

वैशाख ६ गते रसियास्थित नेपाली राजदूतावासमा मतिनाकै सम्मानमा विशेष कार्यक्रम आयोजना गरियो। वर्तमान कुमारी तृष्णा शाक्यको तस्विरलाई पुज्दै सुरु भएको कार्यक्रममा नेपालमा कुमारी संस्कारबारे चर्चा भयो। 

रसियाका लागि नेपालका पूर्व राजदूत सेर्गेइ भेलिच्किन र रसियन नागरिकहरु पनि सहभागी कार्यक्रममा रुसी नागरिक रासुल हाम्जातोभले कुमारीका बारेमा लेखेको कविता वाचन गरियो। त्यसलाई रसियामा बस्दै आएका कृष्णप्रसाद श्रेष्ठले यसरी नेपालीमा अनुवाद गरी सुनाए-

'रुप अवर्णनातीत –दिव्योपहार हो कि त ?
उनकै सौन्दर्यको गाथा गाउँछन् आरसी स्वत:
नपरोस् तिमीले पर्न कुदृष्टिमा अनिष्टका,
सदा होस् शुभ हे देवी! कुमारी ! दिव्य बालिका !!'

प्रताप भन्छन्, 'रुडन विश्वविद्यालयमा कार्यक्रम हुँदा लबीदेखि नै कुमारी र इन्द्रजात्राका तस्विरहरु राखिएका थिए। प्राध्यापक र विद्यार्थीले स्वागत गरे। यो कुमारीप्रति सम्मान नै हो।'

कार्यक्रममा सहभागीहरुले कुमारी प्रथाबारे बुझ्ने अवसर पाएका थिए। उनीहरु नेपालको कुमारी संस्कृतिबारे जानकारी हासिल गर्न चाहन्थे। प्रताप सँगै इगोर र दुर्सनले उनीहरुको जिज्ञासा मेटाउँथे। 

रसियामा मतिनालाई गरिएको सम्मान व्यक्तिलाई नभइ कुमारी संस्कतिप्रति रहेको उनको बुझाइ छ।

रुसी मिडियामा पनि कुमारीबारे फिचर छापिए। moya-planeta.ru मा रुसी भाषामा छापिएको लेखेको नेपाली भावानुवाद यस्तो थियो-

पूर्व कुमारीसित बिहे गर्नेको मृत्यु हुन्छ भन्ने विश्वास छ। तर पनि आधुनिक पूर्व कुमारीहरु स्कूल जान्छन्, बिहे गर्छन् र विश्वविद्यालय पनि जान्छन्। इन्टरनेट, टेलिभिजन लगायतका विकासहरु भए पनि जन्मदेखि देवीका रुपमा व्यवहार गरिने बालिकाले भित्री मनमा आफ्नो शरीरमा कुनै देवी तलेजु भवानीको बास रहेको विश्वास गर्न छाड्दिनन्। 


प्रताप पनि भन्छन्,'मानिसहरुमा कुमारी प्रति भ्रम छ। कुमारीबाट अवकाश प्राप्त गरेपछि बिहे गर्नुहुँदैन, बाहिर धेरै हिँडडुल गर्न हुँदैन भन्छन्। हाम्रै समाजमा भएका भ्रमले विदेशमा असर गर्ने हो।'

 
 



पहिलो पटक विदेश पुगेकी 'कुमारी'को अनुभव : त्यता पनि माग्ने हुँदा रैछन्, अन्तरिक्ष यात्रा गर्न पाए हुन्थ्यो ! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट