PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कसरी रह्यो अहिलेको समुद्री आँधी फोनी अर्थात् सर्पको फण नाम? सुमात्रामा जन्म, बंगलादेशको न्वारान



पहिलोपोस्ट

कसरी रह्यो अहिलेको समुद्री आँधी फोनी अर्थात् सर्पको फण नाम? सुमात्रामा जन्म, बंगलादेशको न्वारान

काठमाडौँ :  वैशाख १३ गते भारतको मौसम विभाग (आइएमडी) ले इन्डोनेसियाको सुमात्रा द्विपको पश्चिमपट्टी एउटा डिप्रेसनलाई ट्रयाक गर्‍यो। 

तातो हावा र चीसो हावाको जम्काभेट भएपछि यस्तो डिप्रेसन उत्पन्न हुन्छ। 

त्यतिबेला आइएमडीले यसलाई बब ०२ मा वर्गीकरण गरेको थियो। त्यही दिन अमेरिकी जलसेनाले चलाउने ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले ट्रपिकल साइक्लोन फर्मेसन अलर्ट जारी गर्‍यो। 

डिप्रेसन गहिरो हुन थाल्यो र उत्तरतिर जान थाल्यो। न्वारानै नहुँदा यसको शक्ति देखिन थालेपछि सेन्टरले चेतावनी जारी गर्दै यसलाई ०१बी क्याटेगोरीमा राख्यो।  

वैशाख १४ गते शनिबार यो समुद्री आँधीको न्वारान भयो- फोनी। अंग्रेजीमा fani लेखिए पनि यसको उच्चारण फोनी हुन्छ। 

यो आँधीले सबैभन्दा पहिला भारतको उडिसामा हान्ने भए पनि यसको न्वारान भने बंगलादेशले गरेको हो। फोनीको अर्थ हुन्छ सर्पको फण। 

कसरी राखिन्छ नाम?

पहिले यस्ता आँधीको नाम राख्ने चलन थिएन। हिन्द महासागर क्षेत्रमा आउने आँधीको न्वारान हुन थालेको सन् २००० पछि मात्रै हो। 
नाम नहुँदा आँधीको नम्बर वा अक्षांश, देशान्तरका नम्बरहरु सम्झनु पर्ने हुन्छ। जुन झण्झटिलो हुन्छ। त्यस्तै एकभन्दा बढी आँधीलाई ट्रयाक गर्नुपर्दा अप्ठेरो पनि हुन्छ। 

सन् २००४ मा यो क्षेत्रका ८ वटा देश बंगलादेश, भारत, माल्दिभ्स, म्यान्मार, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्यान्डले विभिन्न नामहरुको एउटा सेट बनाए। त्यही नामहरु समुद्री आँधी बन्न थालेपछि राख्ने गरिन्छ। 

यसको समन्वय गर्छ विश्व मौसम विज्ञान संगठन अर्थात् डब्ल्युएमओले। यी नामहरु पालैपालो घुमिरहन्छन्। कुनै समुद्री आँधीले धेरै नै क्षति पुर्यायो भने त्यो नामलाई सूचीबाट हटाइन्छ र अर्को नाम राखिन्छ। 

उत्तरी हिन्द महासागरको समुद्री आँधीको नाम नयाँ दिल्लीमा कार्यालय रहेको रिजनल स्पेसलाइज्ड मिटियोरोलोजिकल सेन्टरले राख्छ। यसले अरेबियन सागर र बंगालको खाडीलाई कभर गर्छ। 

सन् २०१४ अक्टोबरमा हुदहुद आँधीले नेपालमा समेत प्रभाव पारेको थियो। त्यतिबेला धौलागिरी हिमालमा हिमपहिरो जाँदा र भारी हिमपात हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो। यो नाम ओमानले राखेको थियो। 

नामका लागि आठ वटा सूची राखिएको छ जसमा आठ देशले आ-आफ्ना नाम दिएका छन्। अर्थात् कूल ६४ नाम। 

बंगलादेशले ओनिल, ओग्नी, निशा, गिरी, हेलेन, चपला, अक्खी र फोनी नाम दिएको छ। 

भारतले दिएका नामहरु अग्नि, आकाश, बिजली, जल, लहर, मेघ, सागर र वायु हुन्।  

पाकिस्तानले फनूस, नर्गिस, लैला, निलम, निलोफर, वारदा, तितली र बुलबुल नाम दिएको छ। 

गत वर्ष भारतको आन्ध्र प्रदेश र उडिसालाई प्रभावित पारेको आँधीको नाम पाकिस्तानले दिएको तितली थियो। सन् २०१७ मा भारतकै केरला र तमिलनाडुमा क्षति पुर्याएको आँधीको नाम अक्खी थियो। यो पनि बंगलादेशले दिएको नाम थियो। यसको अर्थ आँखा हुन्छ। 

नाम छान्दाखेरी यी देशहरुले जुन ठाउँमा आँधीले प्रभाव पार्छ, त्यस क्षेत्रकाले सजिलै बुझ्ने खालका नाम छान्छन्।  

जस्तै भारतले दिएका नाममध्ये अब वायु मात्र बाँकी छ भने बंगलादेशका सबै ८ वटा नाम प्रयोग भइसक्यो। पाकिस्तानबाट बुलबुल नाममात्र प्रयोग हुन बाँकी छ भने श्रीलंकाको पवन र ओमानको पनि महामात्र बाँकी छ। म्यानमारका तीन वटा नाम र थाइल्यान्डका पाँच वटा नाम प्रयोग हुन बाँकी छ। 

कुन नाम कसले दिएका र कुन प्रयोग हुन बाँकी छ तलको सूचीमा हेर्नुस्। इटालिकमा भएका नाम प्रयोग हुन बाँकी हुन्। 

नेपालमा कस्तो असर ?

‘फोनी’ शुक्रबार बिहान १०:१५ बजे समुद्रबाट भारतको ओडिसाको तटीय क्षेत्रमा प्रवेश गर्‍यो। यो चक्रवात भारतको पश्चिम बंगाल, झारखण्ड हुँदै उत्तर-पूर्व दिशातर्फ मोडिइ बंगलादेश तर्फ सर्दै जाने क्रममा क्रमश: कमजोर बन्दै जानेछ। भारत र बंगलादेशमा यो आँधीका कारण १० लाखलाई सुरक्षित स्थानमा सारिएको छ। 


 
नेपालको मौसम विभागको अपडेट यस्तो छ- 

भू-उपग्रहबाट प्राप्त तस्वीर तथा मौसम विष्लेशणको आधारमा उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना न्युन देखिएको छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नभए पनि सो सँग सम्बन्धित मौसम प्रणाली (Peripheral Effect) को कारणबाट नेपालको बिशेषत: पुर्व र मध्य भागमा बदली एबं केहि स्थानहरुमा वर्षा भएको छ । यसको साथै नेपालको पश्चिम र मध्य भु-भागमा भने पश्चिमी वायुको समेत प्रभाव रहेको छ।
 
नेपालको पूर्वी र मध्य क्षेत्रका धेरै स्थानहरुमा आज (शुक्रबार) र भोलि (शनिबार ) मेघ गर्जन/चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने  सम्भावना रहको छ। पूर्वी क्षेत्रका केहि स्थानहरुमा आइतबार सम्म पनि वर्षा हुन सक्नेछ । पश्चिमि क्षेत्रमा भने आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।
 
देशको हिमाली भू-भागहरुमा आज (शुक्रबार) र भोलि (शनिबार) मध्यम देखि भारी हिमपातको सम्भावना रहेकोले खासगरि पर्वतारोहीहरु सतर्क रहनु पर्ने अवस्था छ।
 
आइतबार देखि देशको मध्य क्षेत्रमा र सोमबार देखि मात्रै पुर्वी क्षेत्रमा मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना देखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell