काठमाडौं : नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने भएको छ। टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने भएको हो।
निकट भविष्यमा कम्पनीले मध्यपूर्व र दक्षिण कोरियामा पनि यो सेवा सुरु गर्ने योजना बनाएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। उनका अनुसार मध्यपूर्व क्षेत्रमा पर्ने मलेसिया, कतार, युएइ(युनाइटेड अरब इमिरेट्स) र दक्षिण कोरिया लगायतका मुलुकमा सेवा सुरु हुनेछ।
यसअघि पोस्टपेड मोबाइलमा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा थियो।
सेवा सुरु भएपछि टेलिकमको प्रिपेड सिममार्फत चीन र भारतबाट नेपालमा कल गर्न र एसएमएस सेवा लिन सकिनेछ। रोमिङ शुल्क भने चर्को छ।
चीनको स्थानीय नम्बरमा कल गर्नका लागि ५० रुपैयाँ र चीनबाट नेपालमा कल गर्नका लागि ९० रुपैयाँ शुल्क लाग्ने टेलिकमले जनाएको छ।
चीनमा हुँदा राखिएको रोमिङमा नेपालबाट आएको कल उठाउँदा ५३ रुपैयाँ शुल्क लाग्नेछ।
यसैगरी रोमिङ सेवा अन्तर्गत भारतको स्थानीय नम्बर र नेपालमा कल गर्दा प्रति मिनेट ३० रुपैयाँ शुल्क राखिएको र नेपालबाट आएको कल उठाउँदा १४ रुपैयाँ शुल्क लाग्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
यसैगरी एसएमएसमा चीनबाट नेपालमा एसएमएस पठाउँदा ५४ रुपैयाँ शुल्क राखिएको छ भने भारतबाट नेपाल एसएमएस पठाउँदा २४ रुपैयाँ शुल्क राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार चीन र भारतबाट नेपाल बाहेकका मुलुकमा कल गर्दा प्रतिमिनेट ३९७ रुपैयाँ शूल्क राखिएको छ।
कम्पनीका अनुसार सेवाग्राहीले *१४१५# डायल गरी प्रिपेड सिममार्फत मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनसक्ने छन्।