PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिस्काको रमझममा विवादित बनेको टौमढीको त्यो घर जसबाट हेर्दाको पैसा उठाउँदा बल्झियो नक्सा विवाद



सहयोग रञ्जित

बिस्काको रमझममा विवादित बनेको टौमढीको त्यो घर जसबाट हेर्दाको पैसा उठाउँदा बल्झियो नक्सा विवाद

चैत २७ गते भक्तपुरको टौमढी स्कवायरमा हजारौं मानिसहरु जम्मा भएका थिए।

भक्तपुरकै प्रसिद्ध बिस्का जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ यात्राको दृश्य हेर्न मानिसहरु तछाडमछाड गरिरहेका थिए। वरिपरिका सबै घर भरिभराउ थिए।

जात्राको तस्विर खिच्न र दृश्य कैद गर्न फोटो पत्रकारहरु र टिभी क्रु टौमढीका घरघर चहार्न थाले। सबैलाई राम्रो तस्विर खिच्ने आकांक्षा हुने नै भयो। धेरैको नजर गयो टौमढीमा रहेको न्यातापोल मन्दिर अगाडि बन्दै गरेको तीन तल्ले घरमा।

तर, जब जात्राको रौनक उत्कर्षमा पुग्दै गयो चाइनिज इट्टाले बनेको यो घर विवादित बन्दै गयो।

कारण थियो: जात्राका लागि बुकिङ खुल्ला गरेर तस्विर खिच्न र भिडियो लिन पैसाको बार्गेनिङ।

बार्गेनिङको सिकार भए नेपालकै पत्रकारहरु। त्यसपछि सामाजिक संजालमा यो काण्डले ठूलै रुप लियो।

बिस्का जात्राको तस्विर खिच्न देश विदेशबाट हजारौं मानिसहरु टौमढी पुग्दा फोटो र भिडियो लिनका लागि सार्वजनिक रुपमै विज्ञापन गरेर रकमको डिल गरेको चर्चा सार्वजनिक संजालमा भाइरल भयो।

भक्तपुरवासीले यसप्रकारका गतिविधिले नकारात्मक असर पर्ने टिप्पणी गरे। तर, केहीले निजी घरबाट कसैले फोटो खिचेर पैसा कमाउँछ भने त्यो घरको मालिकले पनि केही रकम माग्दा खराबी नभएको बताए।

त्यसबीच घरमा टाँसिएका दुई सूचनामा धेरैको ध्यान गयो।

त्यसमा 'बिस्का जात्रा लाइभ हेर्न निजी बाल्कोनीमा बुकिङ खुल्ला। केही स्थानमात्रै बाँकी छ। छिटो गर्नुस' उल्लेख गरी घर धनीले आफ्नो सम्पर्क नम्बर दिएका थिए।

सो घरबाट दृश्य खिचेवापत पाँच हजार देखि ३० हजार रुपैयाँ सम्म लिएको भनेर सामाजिक संजालमा चर्चा चल्यो।

विरोध गर्ने ले पनि फोटो भिडियो लिन केही रकम मागेको भए त्यसमा आपत्ति जनाउने ठाउँ नहुने भने तर घर मालिकले ३० हजारसम्म पैसा उठाएको थाहा पाएकाले त्यसलाई गलत ठहर्याए।

भादगाउँ टेलिभिजनले त लाइभ गर्न सही स्थान नभएको र भएको स्थानमा पनि डलरको भाउमा भाडा तिर्न नसक्दा प्रत्यक्ष प्रसारणमा समस्या आएको भनेर फेसबुकको स्ट्याटसमै लेख्यो।

यस्तै नेपा च्यानलले पनि क्यामरापर्सन मात्र उभिन्न मिल्ने ठाउँका लागि उच्च रकम तिर्न पर्‍यो भनेर स्ट्याटस लेख्यो।

 

डलरको भाउमा पैसा मागेको आरोप लगाइएको घर सोही तीन तल्ले घर थियो।

घरधनीले फोटो खिच्न पाँच हजार र भिडियो लिने भए २० हजारसम्म मागेको पत्रकारहरुले उल्लेख गरेका छन्।

एउटा मिडियाले त भिडियो खिचेवापत ३५ हजार रुपैया तिरेको बताएको छ।

विवाद चर्किँदै गएपछि हामी उक्त घरको सूचनामा टाँसिएको नम्बरमा सम्पर्क गरी घर धनीलाई भेट्न गयौं। उनले विवादका बीच पनि कुरा गर्ने प्रस्ताव सहर्ष स्वीकार गरे।

विवादित घरका विश्वनाथ हाडाका छोरा बिजेश हाडाले बुकिङ खुल्ला गरेको स्वीकार्दै भने, 'बुकिङ ओपन गरेकै हो। यो घर यही प्रायोजनका लागि बनाएको हो। भक्तपुरमा अहिले पर्यटकको संख्यामा कमी आएकाले आफूले सोचेको जति नभएको तर केही पैसा उठेको छ।'

आफ्नो निजी घरमा कसलाई प्रवेश दिने नदिने त्यो आफ्नो इच्छा हो भन्दै उनले यहाँबाट फोटो, भिडियो लिने 'पब्लिक डिमान्ड' भएको बताए।

उनले पैसा लिएर फोटो, भिडियो लिन दिनुलाई 'स्टार्ट अप' व्यवसायको संज्ञा दिँदै भने, 'मैले त कन्सेप्ट सेल गरेको हो। तर यहाँ मैले नयाँ व्यापार मोडल भित्राएको छु। मैले हेर्ने भनेको व्यापार हो।'

टौमढीमा रहेको आफ्नो घरबाट राम्रो भ्यू आउने र त्यसलाई कैद गरेर पैसा कमाउने व्यक्तिहरुले केही रकम पैसा तिर्दा के हुन्छ? प्रश्न गर्छन्। धेरै जनाले उनको यो भनाइलाई समर्थन पनि गरेका छन्। केही फोटो पत्रकारहरुले हाडाको 'कन्सेप्ट' नौलो र राम्रो रहेको बताएको उनी बताउँछन्।

'तर तपाईले त पाँच हजार देखि ३० हजार सम्म कै रेट तोक्नु भएछ त, यो अलि धेरै भएन र?' भन्ने प्रश्नमा उनको उत्तर दोहोरिँदै गयो,' किन लिन पाइँदैन होला? मान्छेहरुले सकारात्मक भन्दा नकारात्मक तरिकाले यस विषयलाई बुझे। मेरो घर हो। रेट भनेकै हो। मिलाएर बार्गेनिङ गरेको हुँ। कति पैसा लिने नलिन भन्ने कुरा हाम्रो आफ्नो कुरा हो।'

कसैसँग जबर्जस्ती पैसा नलिएको भनेका हाडाले कति रकम उठाए भन्ने बारेमा भने खुलाएनन्।

अनि यसरी कारोबार गर्दा वडा वा नगरपालिकासँग अनुमति लिनु भयो त ?

हाडाले भने, 'यो त स्टार्ट अप हो। अहिले नै म करको दायरामा आउँदिन।'

उनले आफ्नो घरबाट रकम लिएर फोटो लिन दिने काम व्यवसायिक रुपमा काम गर्दै आएका फोटोग्राफरहरुका लागि सुरु गरेको तर्क गरे।

'मैले यो प्रोफेसनलहरुका लागि सुरु गरेको हो। उहाँहरु यहाँ आएर व्यापारिक प्रायोजनका लागि फोटो भिडियो खिच्छन्। त्यसमा केही नाफाको माग मात्रै मेरो हो। मान्छेहरुले बुझेनन्।'

 

रकम विवादले बल्झियो नक्सा विपरीत बनेको संरचनाको बहस

विश्व सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर भक्तपुर नगरपालिका वडा नम्बर ५ मा अवस्थित उक्त घरकाबारे वडामा बुझ्दा पुरातत्व र वडाले पास गरेको नक्सा विपरीत हाडाले न्यातापोल र भैरवनाथ मन्दिर देखिने गरी झ्याल राखेको खुलेको छ।

वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम गोपाल कर्माचार्यले भने, 'वडाले टौमढी स्क्वायरमा बनेको उक्त घरबारे पहिला नै अनुसन्धान गरेको हो। तर सो घरको नक्सामा न्यातापोल तिर फर्किने झ्याल नै छैन।'

जेठ २९ गते पास भएको नक्सामा हाडाको घरको मूल ढोका नारायण चोकमा पर्छ। टौमढी स्कवायर, न्यातापोल र भैरव मन्दिर खुल्ला रुपमा देखिने गरी नक्सामा झ्याल ढोका कतै छैन।

विवादित घरबाट देखिने टौमढी स्कवायर /न्यातापोल मन्दिरको दृश्य

घर निर्माण भएर झ्याल खुल्ला गरेको देख्दा नगरपालिका प्रमुख सुनिल प्रजापतिले पनि बन्दै गरेको घरका बारेमा सोधखोज गर्न भनेको केही दिनमै उक्त घर नयाँ विवादमा फसेको कर्माचार्यले बताए।

विश्वसम्पदा क्षेत्र भित्र भक्तपुरमा घर बनाउन पहिला पुरातत्वबाट नक्सा पास गर्नुपर्ने हुन्छ। त्यसपछि सो नक्सालाई नगरपालिकाबाट पास गराउनुपर्ने हुन्छ। नगरपालिकाले चित्त नबुझे नक्सामा फेरबदेल गराउन सक्छ।

नेपाल मजदुर किसान पार्टीको गढ भक्तपुर नगरपालिका भित्र नक्सा पास गरेको भन्दा फरक घर बनेकोमा नगरपालिकाप्रति प्रश्न तेर्सिने नै भो। त्यसमाथि सम्पदा क्षेत्रमा कालो ट्याङकी राख्न प्रतिबन्ध लागइएको छ। हाडाको मात्रै नभइ अन्य घरहरुमा समेत कालो ट्याङ्की राख्न दिएको आरोप नगरपालिकाले खेप्दै आएको थियो।

कालो ट्याङ्की राख्नु पनि अनैतिक रहेको र त्यसलाई हटाउने अभियान संचालन गर्ने भन्दै कर्माचार्यले शहरकै केन्द्रमा बनेको हाडाको घरको नक्सा जेठमा पास भएको र आफूहरुलाई घर बनेपछि मात्रै रिपोर्टिङ भएकाले आफूहरुले अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइ सकेको बताए।

घरबाट पैसा लिएर फोटो र भिडियो लिन दिएकोमा विषयमा उनले आपत्ति प्रकट गर्दै भने, 'अस्वभाविक तरिकाले पैसा लिएको भनेर रिपोर्टिङ भएको छ। नगरपालिकाले यसलाई गम्भीर रुपमा नै लिएको छ।'

कर्माचार्यले भक्तपुरकै प्रसिद्ध जात्राको विश्वभर प्रचारप्रसार गर्न हिँडेका पत्रकारहरुलाई पैसा उठाउनु नाजायज रहेको भन्दै त्यस्ता गतिविधिमाथि रोक लगाउने बताए।

नक्सा विपरीत बनेको घरका झ्याललाई बन्द नै गर्नेपर्छ भन्दै उनले भने, 'स्टार्टअपको नाममा सम्पदा क्षेत्र भित्र जथाभावी गर्न पाइँदैन। यसले गलत नजिर बस्छ।'

किन बनाइयो त नक्सा विपरीत झ्याल?

बिजेश हाडाले पनि नक्सा विपरीत झ्याल राखेको स्वीकारे। भने, 'हाम्रो घर अगाडि अर्को घर छ। हाल खुल्ला छाडिएका संरचनामा झ्याल राख्ने हो। उसले घर बनाएको अवस्थामा यो खुल्ला संरचना आफै बन्द हुन्छ। त्यसमाथि मेरो घर निर्माण प्रक्रिया मै रहेको छ।'

भूकम्पपछि आफ्नो घर पुनर्निर्माणको काम भइरहेको र नक्सामा हाल झ्याल बनाउन छोडिएको स्थानमा पुरै पर्खाल रहेको समेत स्वीकार्दै हाडाले त्यस विषय आवाज उठ्नु स्वभाविक रहेको बताए।

उनले आफ्नो घर अगाडि रहेको भनेको एक तल्ले घरमा हाल आर्ट क्राफ्टको पसल छ। सो घर भैरवनाथको नौ बाजा भजन गुठीको नाममा रहेको छ।

वडा अध्यक्ष कर्माचार्य भने अगाडि घर नबने पनि झ्यालका लागि खुल्ला छाडिएका भाग बन्द गराउने बताउँछन्।

हाडाले भनेको घर गुठीको जग्गा भएकाले त्यसमा अहिले वा पछि घर नबन्ने बताउँछन्। भन्छन्, 'यस्तो गैर जिम्मेवार कुरा गरेर यहाँको कानूनलाई छल्न पाइँदैन। अनुसन्धान हुन्छ। कारवाही हुन्छ।'

उता हाडा भने देशमा कानून भन्दा माथि कोही नरहेको र आफ्नो घर निर्माण चरणमा रहेकाले भविष्यमा कानूनी रुपमा हुने निर्णयलाई सहर्ष स्वीकार गर्ने बताउँछन्।

स्थानीयहरु भने हाडाको आफ्नै सम्पति भए पनि धेरै पैसा असुलेको कुरा भने गलत रहेको बताउँछन्। यसबाट पर्यटक र जात्रा हेर्न आउनेमा नकरात्मक असर पर्ने उनीहरुको तर्क छ।

सम्बन्धित समाचार: राजनीतिक विजयको प्रतीकस्वरुप भक्तपुरमा य:सिं ठड्याइँदै

भक्तपुरमा बिस्का सुरु, ग:हिटी पुुर्‍याउने क्रममा बिग्रियो भैरवनाथको रथ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell