PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यू-१९ विश्वकप छनोट : कुवेत विरुद्ध नेपाल ८ विकेटले विजयी, रित र पवनको अर्धशतक



पहिलोपोस्ट

यू-१९ विश्वकप छनोट : कुवेत विरुद्ध नेपाल ८ विकेटले विजयी, रित र पवनको अर्धशतक

काठमाडौँ : मलेसियामा भएको आइसीसी यू-१९ विश्वकप छनोट (एसिया)को अन्तिम लिग खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ।

कप्तान रोहित पौडेलको ३ विकेट अनी रित गौतम र पवन सर्राफको अर्धश मद्दतमा नेपालले कुवतेलाई सहजै पराजित गरेको हो।

कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो।

६ टोली सम्मिलित छनोटमा ४ जित र १ हारको नतिजापछि नेपाल ८ अंकसहित अंकतालिकामा दोस्रो स्थानमा रह्यो। तर युएईभन्दा पछि परेकोले नेपाल अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा छनोट हुन सकेन। उता अन्तिम खेलमा ओमानमाथि १० विकेटको जित हात पारेको युएई सबै ५ खेल जित्दै १० अंकका साथ शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्यो। नेपाल र युएईबीचको खेल वर्षाका कारण प्रभावित बनेपछि डिएल मेथडमा नेपालले १ रनको दर्भाग्यपूर्ण हार बेहोरेको थियो। उक्त हारले नै नेपालको विश्वकप पुग्ने सपनालाई चकनाचुर बनाइदियो।

रोहितको ३ अनि रसिद खान, सूर्य तामाङ र कुशल मल्लले २-२ विकेट लिएपछि नेपालले कुवेतलाई २ बल बाँकी छँदै १५७ रनमा अलआउट गरेको थियो। कुवेतका लागि नुमन बुड्रोले सर्वाधिक ७० रन बनाए भने गोकुल कुमारले ३६ रन जोडे। कुवेतका ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका कप्तान रोहितले कुवेतको तल्लो क्रमको विकेट लिने क्रममा ३ ओभर बलिङ गर्दै १३ रन अर्चेर ३ विकेट लिए। फास्ट बलर रसिद खानले ५ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए। स्पिनरद्वय सूर्य तामाङ र कुशल मल्लले समान २ विकेट लिए। सूर्यले १० ओभर स्पेलमा १ मेडन राख्दै २७ रन खर्चे। कुशलले १० ओभरमा २ मेडन राख्दै २१ रन खर्चे। अर्का स्पिनर पवन सर्राफले १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चेपनि विकेट लिन सकेनन्।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले गतिलो सुरुवात गरेको थियो। ओपनरद्वय रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए। दुवै खेलाडीले अर्धशतक प्रहार गरे। पहिलो विकेटका रुपमा आउट भएका पवनले ६१ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५३ रन जोडे। यस्तै रितले ८४ बल खेल्दै ७ चौकाको मद्दतमा ६२ रन बनाए। आसिफ शेखले २० बल खेल्दै ५ चौका र १ छक्कनको मद्दतमा नटआउट ३३ रन बनाए। यस्तै सन्दिप जोराले ३ बलमा १ चौका प्रहार गर्दै नटआउट ५ रन जोडे।

कुवेतका हानोद अमानुल्लाह र अब्दुल सदिकले १-१ विकेट लिए।

नेपाल र युएईसँग पराजित कुवेत बाँकि तीन खेल जितेर ६ अंक जोड्दै तेस्रो स्थानमा रहन सफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell