PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्याडमिन्टन : अन्तर्राष्ट्रिय पदकधारीलाई हराउँदै सिता राई सेमिफाइनलमा



पहिलोपोस्ट

ब्याडमिन्टन : अन्तर्राष्ट्रिय पदकधारीलाई हराउँदै सिता राई सेमिफाइनलमा

दाङ : पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपीएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई आठौँ राषट्रिय खेलकुद अन्तर्गत महिला ब्याडमिन्टनको अन्तिम चारमा प्रवेश गरेकी छिन्।

नेपाल ब्याडमिन्टन संघको ११औं बरियतामा रहेकी सिताले ३ नं. बरियताकी शोभालाई २१-१७, २१-१५ ले  पराजित गरिन्। अब सिताले फाईनल प्रवेशका लागि नेपाल नं. १ सेनाकी नङ्शल देवी तामाङको सामना गर्नेछिन्। सेनाकी नङ्शलले सेनाकै रञ्जना भट्टलाई २१-१८, २१-१२ ले हराइन्।

यस्तै अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपिएफकी जेसिका गुरुङलाई २१-१६, २१-९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जन संगको भेट पक्का गरिन्।

जेशिकाले महिला टिम ईभेन्ट्सको प्रतिस्पर्धामा नेपाल नं. एक खेलाडी नङ्शललाई पराजित गरेकी थिईन्। रशिलाले प्रदेश १ की सिमा राजबंशीलाई २१-१४, २१-११ ले पराजित गरिन्।

पुरुष एकलतर्फ सेनाका नंम्बर एक खेलाडी रत्नजित तामाङ उपाधी रक्षातर्फ अग्रसर भएका छन्। उपाधीका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१-१०, २१-११ ले पराजित गरे। अब रत्नले फाईनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसंग प्रतिस्पर्धा गर्ने छन्। प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकलतर्फ रत्नलाई पराजित गरेका थिए। प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१०, २१-१० ले पराजित गर्दै रत्नसंगको भेट पक्का गरेका हुन्।

यस्तै गरि पूर्व नेपाल वान बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१-१५, १५-२१, २१-१६ ले हराउँदै अन्तिम ४ को यात्रा तय गरे। अव फाईनल प्रवेशका लागि बिकासले सुदूरपश्चिमका दीपेश धामी संग प्रतिस्पर्धा गर्ने भएका छन्। दीपेशले पुलिसका दीपक बोहरालाई २१-१७, २१-१५ ले पराजित गरे।

दाङ घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगलतर्फ सेनाका नङ्शल देवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन्। तामाङ र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१-१०, २१-१० को सोझो सेटमा पराजित गरे। यस्तै गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर प्राप्त गरे। यस्तै सेमिफाईनल प्रवेश गर्ने क्रममा प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २५-५, २५-३ ले तथा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१-१२, २१-१२ ले हराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell