PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

प्रस्तावित न्यायाधीश ढुंगानालाई सांसदहरुको प्रश्न: अदालतमा बेन्च फिक्सिङ र बेन्च सपिङ कसरी रोक्ने?



बीपी साह

प्रस्तावित न्यायाधीश ढुंगानालाई सांसदहरुको प्रश्न: अदालतमा बेन्च फिक्सिङ र बेन्च सपिङ कसरी रोक्ने?

काठमाडौं: सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश प्रकाश ढुंगानाको सुनुवाई सकिएको छ। सिंहदरबारस्थित संघीय संसदको सुनुवाई समितिमा आज भएको सुनुवाईमा सांसद सुमनराज प्याकुरेलले अदालतमा बेन्च फिक्सिङ र बेन्च सपिङ बढेको दाबी गर्दै यसलाई निराकरण गर्ने उपाय मागेका थिए।

'पैसा खर्च गरेपछि मान्ने न्यायाधीशको बेन्चमा मुद्दा जाने र त्यही बेन्च फिक्सिङ र सपिङ हुन्छ। यसलाई कसरी कम गर्न सकिन्छ,' सांसद प्याकुरेलले प्रश्न गरे। 

जवाफमा ढुंगानाले यस्तो समस्या बढ्दै गएको स्वीकार गर्दै आफैले कम गर्नुपर्ने धारणा राखे। यसका लागि न्यायलयसहित कार्यपालिका र सांसदलेसमेत ध्यान दिनुपर्ने तर्क पेश गरे। उनले भने, जहिले पनि मुद्दा हार्नेले सेटिङ गर्‍यो भन्छ। जित्नेले न्याय पायो भन्छ। हामी जनताको विश्वास जितेर आएकोले हामीमाथि विश्वास छ।' 

यता सांसद भीमसेनदास प्रधान न्यायाधीश भएपछि अख्तियार लाग्दैन त्यसैले अकुत सम्पत्ति कमाएका व्यक्ति न्यायिक क्षेत्रमा प्रवेश गर्न चाहन्छन्। यसलाई कसरी रोक्न सकिन्छ? भनी प्रश्न गरेका थिए। त्यसैगरी उनले अदालतमा बिचौलिया भरिभराउ रहेको आरोप लगाए।

जवाफमा प्रस्तावित न्यायाधीश ढुंगानाले सर्वोच्चमा विचौलियालाई प्रवेश नरहेको दाबी गरे। भने, 'अदालतको गेटमै पास गरेका छौ। मुद्दासँग सम्बन्धितबाहेक कोही आउन सक्दैनन्।'

सांसद योगेश भट्टराईले कोटको कपडाभन्दा कोट सिलाउन महँगो भएको उदाहरण पेश गर्दै अदालतको न्याय महँगो हुन थालेकोबारे प्रश्न गरेका थिए।

यसबारे ढुंगानाले सेवाग्राही नै सरकारले निशुल्क सेवा दिने वकिल राख्दाराख्दै महँगा वकिल खोज्न गएकाले न्याय महँगो पर्न गएको दाबी गरे। यसका लागि सरकारी वकिलबाट सेवा लिन सकिने उनको तर्क थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell