PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

आफ्नै कमिट्मेन्टमा अर्थमन्त्री युवराज खतिवडाको 'यू टर्न' : शक्तिशाली नेताको क्षेत्रमा बजेट रकमान्तर



सविन मिश्र

आफ्नै कमिट्मेन्टमा अर्थमन्त्री युवराज खतिवडाको 'यू टर्न' : शक्तिशाली नेताको क्षेत्रमा बजेट रकमान्तर

काठमाडौं : आर्थिक अनुशासन लत्याउँदै अर्थ मन्त्रालयले चैत महिनामा ११ अर्ब ८८ करोड १० लाख ४२ हजार १८५ रुपैयाँ रकमान्तर गरेको छ।

चैतमा अर्थले १ सय २३ वटा फाइलबाट आर्थिक सहायता, भौतिक सुविधा, संघीय संरचना सुधार कार्यक्रम लगायतका नाममा यो रकम रकमान्तर गरेको हो।

विगतको जस्तै शक्तिशाली नेताको निर्वाचन क्षेत्रमा अर्थले थप रकम दिएको छ। आर्थिक अनुशासनहीनता तोड्ने र जथाभावी रकम नदिने आफ्नै प्रतिवद्धताबाट अर्थमन्त्री डा. युवराज खतिवडा यु टर्न भएका छन्। खतिवडाले धार्मिक कार्यक्रमदेखि कर्मचारीको पोशाक भत्तासम्मका लागि रकमान्तर निकासा दिएका छन्।

आर्थिक वर्षको पहिलो ९ महिना बितिसक्दा समेत खर्च गर्न नसकेको सरकारले एकै महिनामा एकैपटक ठूलो रकम बाँडेको छ।

'यसरी जथाभावी रकमान्तर गर्दै जाँदा सार्वजनिक वित्त व्यवस्थापनको मर्म नै मरेर जान्छ,' महालेखा नियन्त्रकको कार्यालयका एक अधिकारीले भने, 'अर्थ मन्त्रालयले आर्थिक अनुशासनहीनता तोड्न सकेन, विगतकै परिपाटी दोहोरियो।'

अर्थ मन्त्रालयले शक्तिशाली मन्त्री तथा सांसदको गृह जिल्ला भित्रका कार्यक्रम अघि बढाउन रकमान्तर निकासा दिएको भेटिएको छ। नेकपाका महासचिव विष्णु पौडेलको रुपन्देही, नेकपाकै नेताहरु पम्फा भुषाल र नवराज सिलवालले प्रतिनिधित्व गर्ने ललितपुर, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको काभ्रेलगायतका जिल्लामा नयाँ आयोजना तथा पुराना कार्यक्रमलाई बजेट दिइएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार एउटै आयोजनाका नाममा दुई अर्ब चार करोड रुपैयाँसम्म रकमान्तर निकासा दिइएको छ। पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालय पाँचवटा योजना कार्यालयबाट खर्च गर्ने गरी यो रकम उपलब्ध गराइएको अर्थले जनाएको छ। सरकारले साढे दुई किलोमिटर लामो नागढुंगा-नौबिसे सुरुङ मार्ग निर्माणका क्रममा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा वितरणका लागि एक अर्ब ८१ करोड रुपैयाँ रकमान्तर निकासा दिइएको छ। चार किस्तामा आयोजनालाई रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

सरकारले धार्मिक कार्यक्रम एवं सभा गर्न पनि रकमान्तर गरेर पैसा दिएको छ। दुईवटा धार्मिक कार्यक्रम गर्न ६० लाख रुपैयाँ रकमान्तर निकासा दिइएको विवरणमा उल्लेख गरिएको छ। सरकारले पिण्डेश्वर अर्द्ध कुम्भ मेला सुनसरीलाई ५० लाख र १२ औँ राष्ट्रिय बौद्ध सम्मेलनको लागि धर्मोदय सभा काठमाडौंलाई १० लाख रुपैयाँ रकमान्तर निकासा दिएको छ।

यसैगरी सशर्त अनुदानर्माफत् विभिन्न प्रदेशहरुमा हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि पनि थप रकम रकमान्तर निकासा दिइएको विवरणमा उल्लेख छ। गण्डकी प्रदेशमा त्यसरी गएका कार्यक्रम कार्यान्वयनका लागि ५४ करोड नौ लाख रुपैयाँ रकमान्तर निकासा दिइएको अर्थले जनाएको छ।

काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा भएको खर्च दुई करोड ३४ लाख रुपैयाँ यसपटक अर्थले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको छ। यसैगरी रुपन्देहीमा तिनाउ र दानव नदी करिडोरका लागि १५ करोड रुपैयाँ बजेट दिइएको छ। दुई नदीमा करिडोर निर्माणका लागि यो रकम दिइएको हो। सुर्खेत, बर्दिवास र बुटवलमा स्थापना गर्ने भनिएको मेडिकल कलेजका लागि दुई करोड रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको छ। ललितपुरमा दुई सडक आयोजना अघि बढाउन १५ करोड रुपैयाँ रकमान्तर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell