PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

राप्रपाले धर्म निरपेक्षको ब्यानर र पोष्टर जलाउने



पहिलोपोस्ट

राप्रपाले धर्म निरपेक्षको ब्यानर र पोष्टर जलाउने
फाइल फोटो।

काठमाडौं : हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै वैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने जनाएको छ।

गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन घरदैलो सुरु गरेको हो। आफ्ना मागमा जनमत सिर्जना गर्न भन्दै फागुनमै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ।

पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम गरिसकेको छ।

पहिलो चरणको तेश्रो कार्यक्रम अन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम प्रारम्भ गरेको राप्रपाले वैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने जनाएको हो। ६ गतेको कार्यक्रमलाई हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने "टर्निङ्ग प्वाइन्ट" हुने बताएको छ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले वैशाख ६ गतेको कार्यक्रम विगतदेखि हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थान विन्दुको रुपमा रहने बताए। प्रचार विभाग प्रमुख श्रेष्ठले राप्रपाले वैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने जानकारी दिए। तर, संविधान जलाउने कार्यक्रम नभएको उनले प्रस्ट पारे। उनले भने, 'संविधानका आधारभूत मान्यतामा हाम्रो असहमति छ, गणतन्त्र, धर्म निरपेक्षता र संघीयताबारे हामीले फरक मत राख्दै संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं, संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण रुपमा आफ्नो मान्यता स्थापित गर्न संघर्षरत छौं।'

वैशाख ६ गते रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङ लगायतका नेताहरू सहभागी हुनेछन्। राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा वैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell