PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

लुट्न नै भारतबाट काठमाडौं : छोराछोरी पढाइदेखि परिवारको पालनसम्म, चोरीबाटै गाडी र जग्गा!



सविन ढकाल

लुट्न नै भारतबाट काठमाडौं : छोराछोरी पढाइदेखि परिवारको पालनसम्म, चोरीबाटै गाडी र जग्गा!

काठमाडौं : लुट्नै लागि कोही भारतका विभिन्न ठाउँबाट काठमाडौंसम्म आइपुग्छन् भन्दा तपाईँलाई अनौठो लाग्ला। सीमावर्ती क्षेत्रमा सामान्य लागे पनि भारतका विभिन्न ठाउँबाट काठमाडौंसम्मै यस्ता अपराधीको यात्रा हुन थालेको केही घटनाहरुले स्थापित गर्छ।

महानगरीय प्रहरी बृत्त लैनचौरको टोलीले केही दिन अगाडि असनबाट तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो। भारत मोतीहारी जिल्ला ठाना पकरीदयाल ढाकाग्राम घर भएका २० वर्षीय दीपक जैसवाल, १९ वर्षीय बिजु साह र सीतामडी जिल्लाका २१ वर्षीय राजकुमार रामलाई प्रहरीले समातेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले जानकारी दिए।

उनीहरु केही वर्षदेखि भारतबाट काठमाडौं आएर लुट्ने धन्दामा सक्रिय थिए। राजधानीको ठमेल, न्युरोड, लौनचौर, दरबारमार्गमा उनीहरु सक्रिय रहने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। अहिलेसम्म ६ वटा घटनामा उनीहरुको संलग्नता भएको पुष्टि भइसकेको छ। 'राजधानीमा भएका लुटपाटका ६ वटा घटनामा उनीहरुको संलग्नता पुष्टि भइसकेको छ। अरु घटनाको बारेमा पनि अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी बृत्त लैनचौरका डिएसपी गौतम केसीले भने।

अहिलेसम्म चार जनाको समूह लुट्ने धन्दामा सक्रिय देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। समूहका एक जना भने फरार छन्। उनीहरूले राति एक्लै हिँडिरहेका र एकान्तमा भेटिएका मानिसलाई पछाडिबाट रडले प्रहार गरी लुट्ने गरेको एसपी सिंहले जानकारी दिए।

'राति मदिराले लठ्ठ भएका मानिसलाई फलो गर्छन्। एकान्तमा पुगेपछि रडले हिर्काएर बेहोस बनाउँछन्। अनि अरु साथी बोलाएर साथमा भएको सुनदेखि पैसा सम्म लुट्छन्,' एसपी सिंहले भने।

उनीहरूले लुटेको सामान टेकुस्थित चन्दन पोदारको घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। कोठाबाट १ लाख ९८ हजार रुपैयाँ, ९ थान मोबाइल, ९ थान घडी, क्यामरा, मनी ब्याग लगायतका सामान बरामद गरेको हो।

लुटेको पैसाले काठमाडौंमा छोराछोरी पढाउनदेखि ६ जनासम्मको परिवारसमेत पालेको देखिएको छ। 'अरु कुनै पनि कामधन्दा भएको देखिँदैन। तर, उनीहरुले बालबच्चा पढाउनदेखि काठमाडौंमा सम्पूर्ण खर्च पुर्‍याएका छन्,' डिएसपी केसीले भने। लुटेर कमाइ भएपछि परिवारका सदस्यले समेत लुट्न प्रोहोत्सान गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरुसँग भारतको रासन कार्ड समेत छ।

उनीहरु राति १० बजेदेखि लुट्न निस्कने र बिहान झिसमिसे भएपछि कोठा फर्किने गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

चोरीकै भरमा काठमाडौँमा घर र गाडी!

गत फागुन २७ गते महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले चोरीको ७० लाख भन्दा बढी सामानसहित तीन जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसमेत थिए। भारतको मोतीहारी घर भएका पारसप्रसाद र सन्तोष पोदार समातिए। अन्य केही भारतीय नागरिक भने भाग्न सफल भए।

उनीहरु पनि चार वर्षदेखि काठमाडौंका आएर चोरीमा सक्रिय रहेको देखियो। भारतीय नागरिक पारसप्रसाद चोरी गिरोहका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुल्यो। विगत चार वर्षदेखि उनी नेपालमा रहेर चोरी गर्दै आएका थिए। चोरीमा प्रयोग भएको बा १ ज ११९२ नम्बरको ट्याक्सी, बा १४ च ७२६९ नम्बरको मारुती भ्यान र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरूको नै भएको समेत खुल्यो। चोरीबाटै गाडी र मोटरसाइकल समेत उनीहरुले जोडेका थिए। ती साधनलाई चोरीकै लागि प्रयोग पनि गर्दै आएका थिए।

चोरेका सामान ओसार्नका लागि नै उनीहरूले गाडी किनेको प्रहरीको दाबी छ। त्यस्तै पारसले काठमाडौँमा जग्गा समेत किनेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी बृत्त महाजगञ्जका डिएसपी फणीन्द्र प्रसाईले जानकारी दिए। ‘गाडी उनीहरूको नै भएको बताएका छन्। जग्गा समेत किनेको खुलेको छ। यस विषयमा हामी अनुन्धान गर्दैछौं,' उनले भने।

प्रहरीले पोदार समूहबाट अन्य चोरीको सामान समेत बरामद गरेको छ। 'समूह ठूलो हुनसक्छ। हामी केही प्रमाण जुटाउदौछौं,' डिएसपी प्रसाईले भने।

कालीमाटी क्षेत्रमा दैनिकजसो चोरीका घटनामा भारतीय नागरिक पक्राउ पर्ने गरेका छन्। घरमा रंगरोगन गर्ने, प्लाष्टिक टिप्ने लगायतका बहानमा मौका छोपेर चोरी गर्ने गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell