PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

इन्जिनियरिङ कलेजको अनियमितताः छानबिन प्रक्रिया रोक्न सर्वोच्चद्वारा अस्वीकार



पहिलोपोस्ट

इन्जिनियरिङ कलेजको अनियमितताः छानबिन प्रक्रिया रोक्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँः सर्वोच्च अदालतले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको अनियमितता छानबिन रोक्न अस्वीकार गरेको छ। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले अघि बढाएको छानबिन प्रक्रिया रोक्न माग गर्दैै कलेज सञ्चालक समितिका तर्फबाट डा. उपेन्द्र गौतमले दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

गौतमले संसद्ले अघि बढाएको छानबिन प्रक्रिया रोक्न माग गर्दै चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले चैत २५ गते दुबै पक्षलाई छलफलमा बोलाएको थियो।

सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। छानबिनका लागि कार्यदल गठनमात्र भएको अवस्थामा आदेश जारी गर्न नपर्ने सर्वोच्चको ठहर छ।

‘निवेदकले उल्लेख गरेको संघीय संसद्को समितिबाट मिति २०७५/९/२९ मा भएको निर्णय लगायत विवादित निर्णय एवम् पत्रहरु हेर्दा आर्थिक अनियमितता र भ्रष्टाचार छानबिन कार्यदल गठन गर्ने सम्बन्धमा सिफारिसको कामसम्म गरेको देखियो । तदनुसार छानबिन गर्ने सम्बन्धमा पत्राचार भएको देखिन्छ’, सर्वोच्चको संयुक्त इजलासको आदेशमा भनिएको छ ‘सार्वजनिक महत्वको शैक्षिक प्रतिष्ठानको काम कारबाहीमा अनियमितता भए नभएको कुराको छानबिन गर्नु आवश्यक र स्वाभाविक हुने देखिएकाले र निवेदकले उठाएका कानुनी पश्नहरु प्रस्तुत निवेदनको अन्तिम सुनुवाइका सन्दर्भमा निरुपण गर्न उपयुक्त हुने प्रकृतिको देखियो । सुविधा सन्तुलनका दृष्टिले हेर्दा हाल निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएकाले अन्तरिम आदेश जारी गरी रहन परेन।

अनियमितता प्रकरणमा कलेजका सञ्चालकमध्ये एक लम्बोदर न्यौपाने फरार छन्। विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको अभियोग लागेपछि न्यौपाने फरार छन्। अख्तियारले पाठकविरुद्ध भने मुद्दा दायर गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell