PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सचेत गराउँदा गराउँदै दुर्घटना ! सोमबारमात्र लुक्लामा डेढ सय उडान



वसन्तराज उप्रेती

सचेत गराउँदा गराउँदै दुर्घटना ! सोमबारमात्र लुक्लामा डेढ सय उडान

काठमाडौं : एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले आइतबार दुर्घटनाग्रस्त समिट एयर टेकअफ गर्ने समयमा सचेत भएर अघि बढ्न पाइलटलाई सुझाब दिएको पाइएको छ।

समिट एयरको पाइलटबीच भएको अन्तिम संवादमा एटीसीले ‘टेक कसन प्रोसिडिङ ट्राफिक’ (सावधानी अपनाएर अगाडि बढ्नु) भनेका छन्। र, पाइलटले ‘डिपार्टिङ ट्राफिक इन्साइट’ (अगाडि ट्राफिक हेरेर उडान गर्दैछु) भनेका छन्।

समिट एयर भन्दा अघि तारा एयरको ९ एन एकेके कलसाइनको डोनियर जहाजले टेकअफ लिएको थियो। सीसीटीभी फुटेजमा समेत तारा एयरपछि टेकअफका लागि समिट गएको देखिन्छ। ताराले टेकअफ लिएपछि गएको समिटको जहाज रनवेबाट एक्कासी दायाँतर्फ मोडिएर दुर्घटनामा परेको थियो। लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका प्रमुख इमनाथ अधिकारीले तारा एयरपछि समिटलाई उडान गर्न निर्देशन दिएको बताए।

'त्यतिखेर मौसम राम्रो थियो। टेक अफ क्लियरेन्स पनि राम्रै थियो। तारा एयरको ९ एन एकेके कलसाइनको डोनियर उडेपछि एटिसीले ट्राफिक हेरेर उडान गर्न निर्देशन दिएको थियो। जहाज टेकअफका लागि अगाडि बढ्यो तर, एक्कासी दायाँतर्फ मोडिएर दुर्घटनामा पर्यो,' उनले भने। 
जहाज दुर्घटनाका बारेमा विभिन्न आशंका गरिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीका अनुसार प्राविधिक कारण नभएर मानवीय त्रुटिका कारण जहाज दुर्घटनामा परेको प्रारम्भीक अध्ययनमा देखिएको छ। जहाजको उडान नै को-पाइलटले गरेको देखिएको छ।

'जहाज उडानका लागि आधिकारिक म्यानुअलका आधारमा चरणवद्ध रुपमा पाइलटको क्षमता विस्तार गर्दै अनुमति दिइनुपर्छ। पहिला उडान अघि ककपिट हेरेपछि मात्रै एटिसीले टेक अफको अनुमति दिन्थ्यो। पछिल्लो समय एयरलाइन्ससँगै जहाज संख्या बढ्ने क्रममा छन्।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै प्राधिकरणले पूर्णरुपमा उडानको जिम्मेवारी सम्वन्धित एयरलाइन्स कम्पनीलाई दिएको हुन्छ,’ ती कर्मचारीले भने, 'को-पाइलटलाई जहाजमा भएको म्यानुअलका आधारमा क्षमता विस्तार गर्दै जानुपर्छ। तर कम्पनीले अपरेशनसँग सम्वन्धित जिम्मेवारी पूरा नगरेको पाइएको छ।'

अध्ययन समितिलाई बुझाइयो एफडिआर
जहाज दुर्घटना अध्ययनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले आइतबार दुर्घटनास्थलमा गएर जहाज भित्र रहेको एफडिआर 'फ्लाइट डाटा रेकर्डर' र सिभिआर 'ककपिट भ्वाइस रेकर्डर' छानविन समितिलाई बुझाइसकेको प्राधिकरणले जानकारी दिएको छ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा छानविन समिति गठन भइसकेको छ। समितिको सदस्य सचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, तारा एयरका वरिष्ठ क्याप्टेन रवीन्द्र डंगोल र नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ छन्।

लुक्लामा सोमबार डेढ सय उडान
समिट एयरको जहाज दुर्घटनापछि उडान प्रभावित भएको लुक्लामा सोमबार डेढ सय उडान भएका छन्। विमानस्थलका प्रमुख अधिकारीका अनुसार फिक्स्ड विङ र रोटर विङ गरी डेढ सय भन्दा बढी उडान अवतरण भइसकेको छ। 

फिक्स्ड विङ उडान अवतरणका लागि विमानस्थल संचालनमा ल्याइसकिएको उनले बताए। उनका अनुसार हेलिकोप्टरका नयाँ हेलिप्याड र नजिकैको फूटबल ग्राउण्ड प्रयोगमा ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell