PahiloPost

Jul 15, 2019 | ३० असार २०७६


बोडेको जिब्रो छेड्ने जात्रा : सुइरो बनाउनेदेखि छेडाउने भाइ र घोच्ने दाइसम्म सबैको एउटै चिन्ता- हामीपछि को?


सहयोग रञ्जित

बोडेको जिब्रो छेड्ने जात्रा : सुइरो बनाउनेदेखि छेडाउने भाइ र घोच्ने दाइसम्म  सबैको एउटै चिन्ता-  हामीपछि को?

बुद्धकृष्ण बाग श्रेष्ठ अहिले निराहार छन्। चैत २९ गतेदेखि उनले अन्न खाएका छैनन्। रक्सी र जाँड खान त हुन्छ, तर खाँदैनन्। वैशाख २ गतेसम्मको आहारा पानीमात्रै हो। त्यसो गरेमा जिब्रोमा स्वाद बस्दैन र जिब्रो नरम हुन्छ।

यो सबै तयारी हो नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते बोडेमा हुने 'मे प्वा खनिउ जात्रा' (जिब्रो छेड्ने जात्रा) का लागि।

सातौँ पटक जिब्रो छेड्ने तयारी गरिरहेका बुद्धकृष्णको अनुभव सुन्न हामी बोडेमा रहेको घर पुग्ने बित्तिकै उनले भने, 'संस्कृति जोगाउने कुरा गर्छन्। परम्परालाई निरन्तरता दिने भन्छन्। तर जात्रा निरन्तरता दिने कसले? भोलिका लागि पनि जिब्रो छेड्ने र छेडाउने मान्छे चाहिन्छ। मुखले मात्र भनेर भएन।'

उनले संकेत गर्दै थिए- धेरै समय अब उनले जिब्रो छेडाउन सक्दैनन्। 'यो पालि पनि गाह्रै थियो। स्वास्थ्य केही कमजोर छ। तर मैले नगर्ने भएपछि यहाँ अरु कोही गर्ने अघि आएनन्। त्यसैले बोडेको पहिचानलाई निरन्तरता दिन फेरि जिब्रो छेड्दैछु।'

‘रगत आउन हुन्न’

बुद्धकृष्ण बाग श्रेष्ठ 

पहिलाभन्दा बोडेको जात्रा हेर्ने मानिसको संख्या बढ्दैछ। हजारौंका बीच सयौं क्यामराहरु बुद्धकृष्णप्रति नै तेर्सिन्छन् त्यस दिन। त्यसैले पहिलाभन्दा केही 'प्रेसर' बढी भएको उनी सुनाउँछन्।

'मलाई कति दुखेको छ, त्यो मलाई थाहा हुने हो। रगत आयो भने छेडाउने मान्छेलाई दोष जान्छ। जात्रा हेर्न आउनेहरुका अगाडि हाम्रो पीडा व्यक्त गर्नु जायज हुँदैन।'

२०६२ सालदेखि लगातार चारपटक उनैले जिब्रो छेडाएका थिए। तर २०६५ सालमा आमाको निधन भएकोले  जिब्रो छेड्न सकेनन्। त्यसपछि संचारमाध्यममा बोडेको जात्रा नै रोकिने भनेर समाचारहरु आए। तर त्यस्तो भएन।

२०६६ मा बोडे विष्णुघाटका जुजुभाइ बाँस श्रेष्ठ जिब्रो छेडाउन तयार भए। त्यसपछि लगातार आठ वर्ष  जिब्रो उनैले छेडाए।

बुद्धकृष्णले जिब्रो छेडाउन नहुने भएपछि जात्रा रोकिने समाचारहरु सुनेपछि जात्रालाई निरन्तरता दिन आफू जिब्रो छेडाउन तयार भएको बताउँछन् जुजुभाइ।

जुजुभाइ बाँस श्रेष्ठ

पहिलोपटक जिब्रो छेडाउन केही डर लागेको तर पछि यस परम्पराप्रति विश्वास बढेको भन्दै जुजुभाइ भन्छन्,' जिब्रो छेडायो भने बोडेमा अनावृष्टि, अतिवृष्टि, अनिकाल, महारोग नलाग्ने, महामारी र महाभूकम्प नआउने कथन छ। भाग्यवश २०७२ सालमा यहाँ त्यति धेरै क्षति भएन। यसबाट झनै विश्वास बढ्यो।'

तर २०७३ मा पारिवारिक, आन्तरिक कारण र अरुलाई मौका दिन भनेर फेरि उनले जिब्रो नछेडाउने भए। त्यसपछि पनि बोडेमा जात्रा रोकिने हल्ला फैलियो।

‘ख्याक नभनिदिनुस्’

यस्तै खबरका कारण बुद्धकृष्ण संचारमाध्यम प्रति अलि असन्तुष्ट छन्। भन्छन्, 'कसैले नछेड्ने भन्यो भन्दैमा जात्रा रोकिने होइन। विकल्प खोज्नु पर्‍यो भनेर चर्चा गर्ने हो। व्यक्तिगत रुपमा को मान्छेले जिब्रो छेडाउने हो उसलाई भेट्नु छैन। किंवदन्ती भनेर यो जात्रामा ख्याकलाई जिब्रो छेडाइन्छ भनेर लेख्छन्। देवीदेवतालाई साक्षी राखेर गरिने पर्वको बारेमा किंवदन्ती भनेर जे पनि गर्न प्रचारप्रसार गर्न भएन नि।'

ख्याकले जिब्रो छेडाउने भनेकैले यस जात्रालाई निरन्तरता दिन  अरु कोही नआएको उनको तर्क छ।

'ख्याक वा भूत बन्न कसलाई मन हुन्छ?’, उनले मिडियालाई सुझाव दिए, ‘जात्राका समस्याहरु उजागर गर्दै राम्रा पक्षबारे पनि लेखिदिनुपर्‍यो।'

जुजुभाइ भने पहिला राक्षसलाई जिब्रो छेडाएर सुरु गरिएको किंवदन्तीहरु रहेको सुनाउँदै थप्छन्, 'निलबाराही जंगलको दायाँ बस्ने द्वारपालले बुँ दे (खेतैखेत भएको देश हाल बोडे) मा आएर दु:ख दिएको र त्यसलाई त्यहाँका बासिन्दाहरुले समातेर कहिलै नफर्किने गरी गाउँबाट लखेटेको खुशीमा जात्रा सुरु भएको हो।'

द्वारपाललाई बोडेमा आएर ७ वर्षसम्म जिब्रो छेडाएर नगर परिक्रमा गर्ने वाचा गरी छोडिएको र ७ वर्ष पछि भने यहीँकै स्थानीयहरुले बोडेको हितमा जिब्रो छेडाउँदै आएको कथन रहेको उनी बताउँछन्।  

बोडेलाई चिनाउने यस जात्रालाई सीमित व्यक्तिहरुले व्यक्तिगत रुपमा संचालन गर्दै आएका छन्। मध्यपुर थिमि नगरपालिकाले केही वर्ष यता सहयोग गर्दै आएको छ। तर त्यतिले मात्रै जात्राको खर्च पुग्दैन।

त्यसैले बुद्धकृष्ण मानिसहरु काममा व्यस्त हुँदै गएको र आफूहरुले गरेसम्म अरुले कसले गर्छ भन्ने बारे खासै चासो नै नदिएको भन्दै प्रश्न गर्छन्, 'जात्रा त रोकिनु भएन नि। यहाँका सबैले यसबारे सोच्नु पर्दैन? यसबारे अहिलेदेखि नै बहस हुनुपर्ने हो।'

उसो त समस्या जिब्रो छेड्ने मान्छेको मात्रै होइन। हाल बोडेमा कमि नायः (जिब्रो छेडाइदिने व्यक्ति) नै छैनन्। त्यसैले यस पटक १२ पटक जिब्रो छेडेका बुद्धकृष्णका दाजु कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाउने कार्य गर्दैछन्।

२०७५ मा बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेडाएपछि

बुद्धकृष्ण जिब्रो छेड्नेसँगै कमि नायः खोज्नु पर्ने अवस्था आएको भन्दै भन्छन्, 'हेर्ने मान्छेलाई रमाइलो तर काम गर्नेलाई गाह्रो।'

बुद्धकृष्ण र जुजुभाइ दुवैजना बोडेको यो संस्कृति जोगाउनका लागि विकल्पहरु तयार गर्नुपर्ने बताउँछन्।

११ इन्चको नटुचा (सुइरो) बनाउनेको विकल्प खै ?

११ इन्चको नटुचा (मुलु-सुइरो) अहिले बोडेको लाकुछें टोलको एक घरमा खाने तेलमा डुबाएर राखिएको छ। वैशाख २ गते त्यही नटुचा बुद्धकृष्णको जिब्रोमा छेडिन प्रयोग हुनेछ। लाकुछेंका नकर्मीहरु सयौं वर्षदेखि जात्राका लागि फलामे नटुचा बनाउँदै आइरहेका छन्।

अहिलेसम्म धेरैले जिब्रो छेड्ने र छेडाउने मान्छेको तयारीका बारे चर्चा गरिरहे। तर जिब्रो छेड्न प्रयोग हुने नटुचा बनाउने प्रक्रियाबारे धेरैले चासो दिएनन्।

यसपटक ६१ वर्षे धर्मलाल नकर्मीले नै जिब्रो छेड्नका लागि नटुचा बनाएका छन्। विगत २५ वर्षदेखि जात्राका लागि नटुचा बनाउँदै आएका उनी यो पेशा बाजेबुबाहरुको पालादेखि नै आफ्नो परिवारले गर्दै आएको बताउँछन्। तर उनलाई पनि आफूपछि कसले नटुचा बनाउने हो भन्ने पिर छ।

पहिला नटुचा बनाएको हेर्न आउनेको घुइँचो लाग्थ्यो। धर्मलालको घरमै बसेर यसबारे धेरैले अध्ययन गरे, समाचार लेखे। विदेशीहरु भोज खाँदै दृश्य कैद गर्थे। अहिले भने त्यो खोज र चासो हराएको उनी बताउँछन्। भन्छन्,'जात्रा आउन लाग्यो कि आफै तयार गर्‍यो। कसैले सोध्न आउँदैनन्। तर त्यसो भन्दैमा मैले बनाउन छाडेको छैन।'

लाकुछें स्थित आफ्नो घरमा नटुचा देखाउँदै धर्मलाल नकर्मी

कसरी बन्छ नटुचा ?

मानिसको जिब्रोमा प्रयोग हुने भएकोले नटुचा बनाउने प्रक्रिया सामान्यभन्दा फरक छ। नटुचा बनाउने काम एक महिनाअघि नै सुरु हुन्छ।

नरम फलामको डण्डीलाई पगालेर परम्परागत शैलीको नटुचा आकृतिमा ढालिन्छ। माथि खड्ग आकार र तल चुच्चो आकारको नटुचा बनाउने छुट्टै विधि छ।

नटुचा बनिसकेपछि त्यसमा ग्रिज दलिन्छ। पछि त्यसलाई कपास बेरिन्छ र फेरि ग्रीज लगाइन्छ। त्यसपछि नटुचालाई न्हप (नकर्टको सानो बाँस) लाई काटेर भित्र हालिन्छ। कपास र ग्रीजले छोपेर बाँसमा करिब एक हप्ताभन्दा बढी बन्द गरेर राखिन्छ। त्यसो गरे फलाममा भएका रासायनिक तत्त्व नाश हुने र फलाम नरम हुने धर्मलाल बताउँछन्।

त्यसपछि जात्राको चार दिन अगाडि झिकेर शुद्ध खाने तोरीको तेलमा डुबाएर राखिन्छ। तेलले नटुचालाई नरम बनाउने र मानिसको जिब्रोमा सजिलै पस्ने उनी बताउँछन्।

 

लाकुछेंस्थित उनको घरमा पुग्दा उनले हामीलाई सानोबाँसमा भित्र राखेको नटुचा देखाउँदै फेरि चिन्ता व्यक्त गर्दै भने, 'म नभएपछि घरमा बनाउने मान्छे छैन। जात्रा जोगाउन भए पनि यसको तालिम दिनु पर्ने देखियो।'

पहिला काठको ठेक्कीमा तेल राखेर डुबाउने गरिन्थ्यो। तर अहिले भने ठेक्की हराएर प्लास्टिकको बट्टामा राख्ने गरिएको छ। दुई वर्षदेखि भने ग्रिज नपाएर उनले भ्यासेलिन प्रयोग गर्दै आएका छन्।

अहिले नगरपालिकाले नटुचा बनाउन १५ हजार दिएको छ। तर नटुचा बनाउने चार जनाको गुठी संचालन गर्न त्यति पैसाले नपुगे पनि देशको जात्रा संचालन गर्न पछि नहटेको उनी बताउँछन्।

पंचायतकालमा बोडेका प्रधानपंच रामभक्त दही श्रेष्ठले बोलाएर जात्राका लागि १० रुपैयाँ फालेर दिएकाले रिसाएर धर्मलालले धेरै वर्षसम्म पैसा नलिई नै नटुचा बनाएको सुनाउँछन्। भन्छन,'पैसा नै नलिई हामीले धेरै वर्ष काम गर्‍यौं। अहिले दिएको अपुग छ। तर देशको जात्रा हो। रोकिनु भएन।'

पंचायतकालमै प्रेमचन्द्रले जात्राका लागि भनेर सय रुपैयाँ दिए। एक पैसा नलिइ काम गरेको अवस्थामा सय पाउँदा उनको परिवारलाई भने अच्चमे लाग्यो। पछि बिस्तारै वडाले पाँच सय रुपैया दिन थाल्यो।

त्यो पाँच सय रुपैया त नटुचा लिन घर आउनेलाई सगुनको रुपमा जाँडरक्सी खुवाएरै सकिन्थ्यो। अहिले पंचायतबाट गणतन्त्र आयो। रकम केही बढ्यो। खर्च अझै अपुग छ।

आशा र दोधारमा रहेका धर्मलाल भन्छन् 'पैसा नलिई जात्रा चलेकै थियो। आज पनि चलेकै छ। भोलि पनि चल्ला। तर मुख्य कुरा भनेको म पछि भविष्यमा नटुचा कसले बनाउँछ भन्न सकिँदैन।'



बोडेको जिब्रो छेड्ने जात्रा : सुइरो बनाउनेदेखि छेडाउने भाइ र घोच्ने दाइसम्म सबैको एउटै चिन्ता- हामीपछि को? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट