PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

लुक्ला दुर्घटना ‘लाइभ’ हेर्दा : रनवेबाट सीधा नगई एक्कासी दायाँ मोडिएर कसरी हेलिकप्टरमा ठोक्कियो विमान?



वसन्तराज उप्रेती

लुक्ला दुर्घटना ‘लाइभ’ हेर्दा : रनवेबाट सीधा नगई एक्कासी दायाँ मोडिएर कसरी हेलिकप्टरमा ठोक्कियो विमान?

काठमाडौँ : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान आइतबार मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो।

पहिलोपोस्टलाई प्राप्त सिसिटिभी फुटेज अनुसार मनाङ एयरको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै समिटको विमान ठोक्किन आएको थियो। 

रनवेको दायाँ भागमा रहेको हेलिकप्टर पार्किङ स्थलमा मनाङको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै एउटा विमान टेक अफ गर्छ। त्यतिबेलासम्म समिट एयर रनवेको बायाँ पट्टी रहेको पार्किङ स्थलमा नै टेक अफका लागि तयार भएर रहेको हुन्छ।

पहिलो विमान टेक अफ गर्ने बित्तिकै समिटको विमान पार्किङ एरियाबाट बायाँ मोडिएर युटर्न लिई रनवेमा सीधा उड्न तयार भयो। 

विमानमा यात्रु कोही थिएनन्। पाइलट, को पाइलट र एयरहोस्टेस मात्रै थिए। अहिले सगरमाथाको सिजन भएको हुनाले लुक्लामा आउने विमानको चाप रहेको छ।  

‘विमानमा यात्रु थिएनन्’, दुर्घटना हुँदा विमानस्थलमै रहेका तर बल्लतल्ल भागेर ज्यान जोगाएका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले पहिलोपोस्टलाई भने, ‘सिजनको समयमा यात्रु आउने धेरै, जाने कम हुन्छन्। कुनै कुनै समय त खाली खाली विमान उड्ने गरेको देखिएको छ। आज पनि त्यस्तै भयो।‘

रनवेबाट विमानले गति लिई भूँइ छोड्नु पर्नेमा ओरालो ठाउँमा पुगेपछि एक्कासी दायाँतिर मोडिएर हेलिकप्टर पार्किङतर्फ गएको र मनाङको हेलिकप्टरलाई घिसारेर लगेको सिसिटिभी फुटेजमा देखिन्छ। 

हेर्नुस् भिडियो-

सीधा जानु पर्ने विमान किन दायाँतिर मोडियो?

विश्वकै जोखिमपूर्ण विमानस्थलहरुमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाई सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र छ। 

‘त्यसमाथि टेक अफ गर्ने बेलाको रनवेको बनोट अलि ओरालो छ’, नेपाल वायुसेवा निगमका अवकाशप्राप्त पाइलट कृष्णविक्रम क्षेत्री भन्छन्, ‘विमान टेक अफ गर्ने क्रममा कहिलेकाहिँ प्राविधिक समस्या आइदिन्छ। त्यस्तो बेला गुडिरहेको विमानलाई सीधै लगेर ब्रेक लगाउँदा दुधकोशीमा पर्न सक्ने जोखिम हुन्छ।‘

उनका अनुसार यो विमानस्थलमा टेकअफको समयमा प्राविधिक समस्या आउँदा विमानलाई दायाँ अथवा बायाँ लगेर ब्रेक लगाउनुपर्ने हुन्छ। ब्रेक लगाउने क्रममा ब्रेक नै जाम पर्‍यो भने यस्तो समस्या देखा पर्न सक्ने बढी सम्भावना देखिन्छ।'

यही विमान गत वर्ष पनि वैशाख ३ अवतरणको क्रममा रनवेको दायाँ पट्टी चिप्लिएको थियो। १८ यात्रु भए पनि विमानमा रहेका कसैलाई केही भएको थिएन। त्यतिबेला ह्विल लक भएको कारण यसो भएको भनिएको थियो। 

लुक्ला विमानस्थलमा उडान र अवतरणका अनुभवी नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट उद्दव घिमिरे दुर्घटनाको कारण ठ्याक्कै यही हो भनी अनुसन्धानपछि मात्र भन्न सकिने बताउँछन्।

उनले समिटको विमान ‘रडर लक’ भएको हुनसक्ने अनुमान गरे।  

‘साना किसिमको विमानमा चालकको खुट्टामुनि रडर लक हुन्छ। रडर लकमार्फत जमिनमा रहेको विमानलाई दायाँ बायाँ मोड्ने गरिन्छ’, उनले भने, ‘टेक अफ गर्न लागिएको विमानमा कहिले काहिँ प्राविधिक समस्या आएको अवस्थामा रडर लकको सहायताले ब्रेक लगाउने काम गरिन्छ।‘ 

‘यसै पनि जोखिम मानिने लुक्ला विमानस्थलमा यस्ता समस्या आउँदा सिधै लगेर ब्रेक लगाउनुभन्दा पनि कि दायाँ कि त बायाँ लगेर रोक्ने गरिन्छ’, उद्दवले भने। 

यसरी विमान आकस्मिक रुपमा 'टेक अफ रिजेक्ट' गर्ने क्रममा रडर लक भयो भने दुर्घटना हुनसक्ने उनको भनाई छ।

लुक्लाको तेन्जिङ हिलारी विमानस्थल निर्माण गर्दा भौगोलिक कारणले धावनमार्गको बनोट १० प्रतिशत स्लोप बनाइएको छ। यसकारण उडान गर्ने बेलामा ओरालो र अवतरण गर्ने बेलामा उकालो हुन्छ। 

उनले भने, ‘विमानको वेग कम भएको अवस्थामा आकस्मिक रुपमा रोक्न सकिन्छ भने ५० नटभन्दा माथि रहेको अवस्थामा आकस्मिक रुपमा रोक्न मिल्दैन।‘

समिटको लुक्लामा दोस्रो दुर्घटना

समिटको चेक गणतन्त्रमा बनेको एलइटी एल-४१० ट्विन इन्जिन विमान लुक्लामा दुर्घटनामा परेको यो दोस्रो घटना हो। 

गोमा एयरको नाममा सन् २०११ मा स्थापना भएको एयरलाइन्सले सुरुमा सेस्ना विमान उडाउँथ्यो। सन् २०१४ को अक्टोबरमा उसले पहिलो एलइटी एल-४१० विमान ल्याएको थियो। यो किसिमको विमान नेपालमै पहिलो पटक गोमा एयरले नै उडाएको थियो। 

गोमासित यो मोडलका चार वटा एलइटी-४१० विमान भएकोमा २७ मे, २०१७ मा 9N-AKY विमान दुर्घटना भएर बिग्रेको थियो। 

विमानमा पाइलट पारसकुमार राई, को पाइलट सृजन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन थिइन्। दुर्घटनापछि तीनै जनाको जीवित उद्दार गरिएकोमा पारस र सृजनको उपचारका क्रममा मृत्यु भयो। 

प्रज्ञाले भने मृत्युलाई जितिन्। उनले गत वर्ष असारमा पहिलोपोस्टलाई भनेकी थिइन्- दुर्घटना भयो भन्दैमा उद्देश्य नै पूरा नगर्नु त? जिन्दगीमा अझै धेरै रिस्क लिनु छ। अझै माथि उड्नु छ।'

लुक्लामा सन् १९७३ यता आजसम्म भएका ११ दुर्घटनामा २६ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढीको ज्यान गएको दुर्घटना ८ अक्टोबर २००८ मा भएको यति एयरलाइन्सको दुर्घटना हो। यो दुर्घटनामा १८ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो भने क्याप्टेनमात्रै बाँचेका थिए।  

आइतबारको दुर्घटनामा घाइते भएका समिट एयरका क्याप्टेन रवीन्द्र रोकाया र लाक्पा शेर्पा उपचारपछि घर फर्किसकेका छन्।  मनाङका पाइलट चेतबहादुर गुरुङको भने उपचार भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell