PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

लुक्ला 'क्र्यास'का बेला ड्युटीमा रहेका लिम्बु भन्छन्, 'असई सा'बको जिउमै विमान चढ्यो, छेवै बसेको मैले अर्को जुनी पाएँ'



सविन ढकाल

लुक्ला 'क्र्यास'का बेला ड्युटीमा रहेका लिम्बु भन्छन्, 'असई सा'बको जिउमै विमान चढ्यो, छेवै बसेको मैले अर्को जुनी पाएँ'

काठमाडौँ: नयाँ वर्षको पहिलो दिन नै विमान दुर्घटना भयो। समाचारले धेरैलाई दुःखी बनायो।


तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान बिहान टेक अफका क्रममा रनवेबाट चिप्लिँदा पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्कियो। 


दुर्घटनामा विमानका को–पाइलट सुजित ढुङ्गाना तथा दुई प्रहरीको मृत्यु भयो। बिहानदेखि नै सुरक्षामा खटिएका नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठ र रामबहादुर खड्काको मृत्यु भएको हो। असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो।


आइतबार बिहान ६ बजे देखि नै उनीहरु ड्युटीमा थिए। यात्रुको चाप बाक्लो भएकाले सुरक्षामा बिहानैदेखि चाप भएको  प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले सुनाए। 'उहाँहरु दुई जना म सँगै ड्युटीमा खटिएका थियो। आँखै अगाडि नै यस्तो दुर्घटना हुँदा अहिले पनि मुटु काँपिरहेको छ।' निरीक्षक लिम्बुले भने।


तेञ्जिङ हिलारी विमानस्थल सुरक्षा प्रमुख थिए रुद्रबहादुर श्रेष्ठ, रामबहादुर खड्का भने पर्यटक प्रहरी प्रमुखको रुपमा कार्यरत थिए। निरीक्षक लिम्बु भने इलाका प्रहरी कार्यालय नाम्चेका इन्चार्ज हुन्। विगत १५ दिनदेखि विमानस्थलमा यात्रुको चाप बढेपछि नियमित विमानस्थलमा जाने गरेको निरीक्षक लिम्बुले सुनाए।


लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा भएको दुर्घटनापछि विमानमा आगो लागेको थियो। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ। '९ बजेर ७ मिनेट गएको थियो। दुई जना असई सा'ब र मसँगै थियौं। विमान टेकअफ गर्न लागेको थियो। एक्कासि हामीतिर आएर दुर्घटना भयो,' निरीक्षक लिम्बुले भने। 


ड्युटीमा खटिएका असई खड्काको घटना स्थलमा नै मृत्यु हुन पुग्यो।' उहाँ अत्तालिएर अलि पछाडितिर सर्नुभएछ जस्तो छ। उहाँको जिउमा नै विमान चढेको देखेँ। आँखा अगाडि नै उहाँको मृत्यु भयो। रुद्र सर गम्भीर दुर्घटनामा पर्नुभयो। तत्काल उद्धारमा लाग्यौं।'


ग्रान्डी अस्पतालमा पुर्‍याइएका असई श्रेष्ठको उपचारकै क्रममा निधन भयो। 


'सँगै थियौ। दुई जनाको मृत्यु भयो। भाग्यले बाँचे जस्तो लाग्छ। अर्को जुनी पाएँ,' लिम्बुले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell