PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कांग्रेस पनि अब शक्ति आर्जनको बाटोमा लाग्नुपर्छ : शशांक कोइराला 



कांग्रेस पनि अब शक्ति आर्जनको बाटोमा लाग्नुपर्छ : शशांक कोइराला 

बनेपा: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालमा अहिले पानी जहाज चलाउन भन्दा सार्वजानिक यातायातलाई राम्रो बनाउन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले अहिले सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा ठूला ठूला सपना बाँड्न लागेको बताए। कोइरालाले भने,‘नेपाली नागरिक अहिले सर्वजानिक यातायातमा सुधार खोजीरहेका छन्। तर प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ। सरकारले काम भन्दा बढी गफ गर्न लागेको छ। यो राम्रो होइन।’ 

कोइरालाले प्रधानमन्त्री केपी ओली जनताका आवश्यकता पूरा गर्ने भन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको बताए। ‘आम नेपाली सहज दैनिक जीवनयापनको बाटो खोजीरहेका छन्। तर प्रधानमन्त्री केपी ओली न्यायालय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हात माथि पार्ने बाटोको खोजीमा हुनुहुन्छ,’ महामन्त्री कोइरालाले भने। उनले ओली सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको बताउँदै यो सरकारबाट सुशासन र विधीको शासनको कल्पना गर्न नसक्ने बताए। 

महामन्त्री कोइरालाले सरकारका गतिविधि हेर्दा कांग्रेस आफ्नो शक्ति आर्जन गर्न ढिलो गर्न लागेको आफूलाई आभास भएको बताए। उनले कांग्रेसले शक्ति आर्जनका लागि पहिले आफूबीचमा एकता गर्नुपर्ने बताए। कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेको समेत स्पष्ट पारे। 

कोइरालाले भने,‘कम्युनिष्टको दुईतिहाईको सरकार छ। यो दुईतिहाईको सरकार अझै शक्ति आर्जन गरेर अधिनायकवादी बन्ने बाटोमा छ। यस्तो अवस्थामा कांग्रेस पनि आफ्नो शक्ति आर्जन गर्ने बाटोमा लाग्नु जरुरी छ। कांग्रेसले शक्ति आर्जन गर्ने भनेको आफू बीचमा भावनात्मक रुपमा एक हुने हो। कांग्रेस एक भएमा कसैको केही लाग्ने छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell