PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

प्रधानमन्त्रीको वार्षिक रिपोर्टः एक वर्षमा ३१४ औपचारिक कार्यक्रममा सहभागी, ७७ मध्ये २९ जिल्लाको भ्रमण



पहिलोपोस्ट

प्रधानमन्त्रीको वार्षिक रिपोर्टः एक वर्षमा ३१४ औपचारिक कार्यक्रममा सहभागी, ७७ मध्ये २९ जिल्लाको भ्रमण

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लागि आफू निरन्तर क्रियाशील रहेको बताएका छन्। नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू दैनिक १८ घण्टा सक्रिय रहेको बताए।

प्रधानमन्त्रीले जनतासँगको सम्बादका लागि आफू एक वर्षमा ७७ मध्ये २९ जिल्लाको भ्रमण गरेको सम्बोधनमा उल्लेख गरे। यस अवधिमा ३१४ वटा औपचारिक कार्यक्रममा सहभागी भएको रिपोर्ट कार्ड समेत सम्बोधनमार्फत सुनाए।

 

प्रधानमन्त्रीको वार्षिक रिपोर्ट उनकै शब्दमा

  • समयको गति समाउन मैले पनि आफूलाई यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु। प्रत्येक परिश्रमी नेपालीझैँ मैले पनि आफूलाई हरेक दिन सामान्यतः बिहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु। मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा म ३१४ वटा विभिन्न कार्यक्रममा सहभागी भएको छु। जनतासँगको सम्वाद कुनै न कुनै रूपमा जारी राखेको छु।
  • सरकारको नेतृत्व सम्हालेपछि मैले, सडक–सञ्जालको हिसाबले लामो दूरीमा रहेको कर्णाली प्रदेशको राराबाट जनतासँगको सम्वाद यात्रा थालेको थिएँ। छोटो नै सही डोल्पा, हुम्ला, जुम्ला र सुर्खेतमा आफूलाई अड्याएर तपाईंहरुका भावना सुन्ने र मेरा योजना सुनाउने काम गरेँ। ६ वटा प्रदेशसभाहरूलाई सम्बोधन गर्ने क्रममा त्यहाँका जनप्रतिनिधिहरूसँग सम्वाद गरेँ। आज म यी सम्वादहरूको सकारात्मक परिणाम देखिरहेको छु।
  • सडकको शिलान्यास वा यस्तै विभिन्न अवसर पारेर प्रदेश १ को पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका कार्यक्रममा सहभागी भएको छु। सिराहाको भेला र रौतहटको विशाल सभालाई सम्बोधन गरेको छु। तय भएको औपचारिक कार्यक्रमलाई बीचमै छोडेर अकस्मात आएको चक्रवातबाट पीडित बारा–पर्साका जनताको दुःख र पीडासँग आफूलाई जोड्न पुगेको छु।
  • व्यावसायिक स्याउ फार्मलाई प्रोत्साहित गर्न मनाङ पुगेको छु। जलविद्युत परियोजना शीघ्र सम्पन्न गराउन दोलखा पुगेको छु।
  • यसरी बितेको एक वर्षमा जनतासँग सम्वाद गर्न ७७ मध्ये २९ जिल्लाहरूमा म स–शरीर नै पुगेको छु। कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भाग र तराईका अधिकांश भागमा रहेको फरक फरक प्रकृतिका असुरक्षित बस्ती व्यवस्थापनका लागि कार्यविधि लागू गर्न यी जिल्लाहरूको भ्रमणले सरकारलाई प्रेरित गरेको छ।
  • गएको साल दशैँसम्ममा दुनैलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्छौँ’भनेर गरिएको बाचा पूरा हुँदा त्यहाँका जनतालाई जस्तै मलाई पनि औधी खुसी लागेको छ। सिमीकोटमा सल्लाह गरे बमोजिम ताक्लाकोट हुँदै सीमापार गर्ने नाका व्यवस्थित गर्ने काम सार्थक भएको छ। सीमानदी महाकालीमाथि कम्तीमा पनि झोलुङ्गे पुल चाहियो भन्ने दार्चुलाका दिदीबहिनी/दाजुभाइहरुको माग कार्यान्वयन भएको छ र असुरक्षित नदी आरपारलाई सुरक्षित पार्ने हाम्रो अभियानमा मद्दत पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell