PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कांग्रेसको वर्ष २०७५ : हारबाट पाठ सिकेर पार्टी बलियो बनाउन कसरत तर किचलो कायमै



नेत्र तामाङ

कांग्रेसको वर्ष २०७५ : हारबाट पाठ सिकेर पार्टी बलियो बनाउन कसरत तर किचलो कायमै

२०७४ को निर्वाचनमा हार व्यहोरेर प्रमुख प्रतिपक्षीको भूमिकामा झरेको कांग्रेसले यो भूमिका पनि राम्रोसँग निर्वाह गर्न नसकेको आरोप लाग्यो।  
यद्यपि २०७५ कांग्रेसका लागि महत्वपूर्ण वर्षको रुपमा रह्यो। अघिल्ला वर्षहरुको तुलनामा कांग्रेस यो वर्ष रचनात्मक देखियो।

हारबाट पाठ सिकेर होला, जसरी भए पनि पार्टी बलियो बनाउन कांग्रेसले यो वर्ष प्रशस्त कसरत गर्‍यो। पार्टी संस्थापन पक्ष र प्रतिपक्षबीच कार्यक्रमहरुको प्रतिस्पर्धा नै चल्यो। एकै विषयमा गुटउपगुटका बैठक फरकफरक स्थानमा भए। जसले गर्दा वर्ष २०७५ कांग्रेसका लागि सम्झनलायक वर्ष रह्यो।

यो वर्ष पार्टीमा विभिन्न विषयमा किचलो कायमै रहे पनि पार्टीमा रचनात्मक काम भने जारी रह्यो। यसवर्ष नै पदाधिकारीले पूर्णता पायो भने यही वर्ष संघीय विधानसमेत संशोधन भयो। 

जिल्ला सभापतिहरुको राष्ट्रिय भेला यही वर्ष भयो भने विभन्न समितिहरुले पूर्णता पाउँदै आएको छ। महाधिवेशन नजिकिएकोले पनि हुन सक्छ पदाधिकारीहरुको जिल्ला दौडाहा उत्तिकै बढ्दो छ। 

वर्ष २०७५ मा महत्वपूर्ण कसरत यस्तो रह्यो।

पदाधिकारीमा पूर्णता

२०७२ को फागुन २४ गते केन्द्रीय सभापतिमा चुनिएका सभापति शेरबहादुर देउवाले वैशाख २१, २०७५ मा मात्र पदाधिकारी मनोनयन गरे। उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाई मनोनयन गरेसँगै पदाधिकारीमा पूर्णता पायो। यसो त निर्वाचनमा पार्टी नै कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारलाई देउवाले कात्तिक २०, २०७५ मा उपसभापतिमा मनोनयन गरे। यो सँगै कांग्रेसले पार्टीको क्रियाकलापमा गति बढायो। 

जिल्ला सभापतिहरुको हेटौडा भेला

पार्टीभित्र रहेको तीव्र असन्तुष्टिलाई शान्त पार्न हेटौडामा आयोजित जिल्ला सभापतिहरुको राष्ट्रिय भेला कोसेढुंगा सावित भयो। निर्वाचनको हार, पार्टीको सक्रियता कमजोर बन्दै गएको विषयमा सभापति देउवालाई प्रहार गर्ने योजनाकासाथ जिल्ला सभापतिहरुको भेला असारको ५, ६ र ७ गते हेटौडामा भयो। भेलाले २१ बुँदे घोषणापत्र जारी गर्‍यो। 

उक्त भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल नरम बनेपछि कृष्णप्रसाद सिटौलालाई मञ्च नै प्रदान गरिएन। त्यसयता सिटौला पक्ष नेता पौडेलपक्षसँग तर्किन थालेको छ भने संस्थापन पक्षसँग असन्तुष्टि जारी राखेको छ।

सरकारविरुद्ध प्रदर्शन

देशमा प्रमुख प्रतिपक्षीको दलको भूमिकामा रहेको कांग्रेसलाई सदनमा कडा रुपमा प्रस्तुत हुन नसकेको आरोप लाग्दै आएको छ। यद्यपि यो बीचमा कांग्रेसले सदन अवरुद्ध गर्नुका साथै सडकमा समेत प्रदर्शन गरेको छ। साउन १५ गते कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्‍यो भने माघ २१ गते पनि सरकारविरुद्ध प्रदर्शन गर्‍यो। यो अवधिमा चिकित्सा शिक्षा विधेयकमाथि समर्थन गर्दै कांग्रेसले प्रदर्शन गरेको थियो।

महासमिति बैठक, विधान संशोधन

चर्को दबावपछि कांग्रेसले यो वर्ष महासमिति बैठक आयोजना गर्‍यो। राजधानीको यगम्बर पार्टी प्यालेसमा मंसिर २९ बाट शुरु भएको महासमिति पुस ५ गते केन्द्रीय कार्यालयमा सर्‍यो र पुस ८ गते सम्पन्न भयो। महासमितिले कांग्रेसको संघीय विधान संशोधन गर्‍यो। र केन्द्रीय समितिमा पेश गर्‍यो। यद्यपि महासमितिले अनुमोदन गरेको विषयलाई भने केन्द्रीय समितिले लतारेको छ। केन्द्रीय समितिमा तल्लो तहबाटै निर्वाचित आउनुपर्ने भन्ने म्यान्डेटलाई केन्द्रीय समितिले लतारेको हो। यस विषयमा विवाद कायमै रहेको छ।

विभिन्न समिति गठन र समिति पूर्णता

कांग्रेसले वर्ष २०७५ मा अनुशासन समिति गठन गर्‍यो। वर्षको अन्तमा चैत ४ गते भीष्मराज आङ्देम्बेको संयोजकत्वमा बनेको अनुशासन समितिले आफ्नो काम थालिसकेको छ। अनुशासन समितिले जिल्लाबाट पार्टी छाडेर गएको नेताहरुको विवरण मगाएको छ। हुन त यसअघि पनि कांग्रेसले देशभरबाट हारको रिपोर्ट मगाएको थियो।

त्यसैगरी साउन २ गते केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त भए। चैत २९ गते प्रतिष्ठानका प्रमुख केन्द्रीय उपसभापति विमलेन्द्र निधिले ३८ जना सदस्य मनोनित गरे। यद्यपि कार्यसम्पादन समिति यही वर्ष गठन हुने भनिएपनि गुटको किचलोका कारण समिति गठन हुन सकेन।

नेताहरु जिल्ला दौडाहामा

कांग्रेसका नेताहरु वर्षान्तमा जिल्ला दौडाहामा निस्किएका छन्। यसरी जिल्ला दौडाहामा निस्कनेहरुमा पार्टी सभापति देउवादेखि नेता प्रकाशमान सिंहसम्म छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शंशाक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला पनि जिल्ला दौडाहामै छन्। पार्टीको जिल्ला सम्मेलन धमाधम हुन थालेकोले पनि केन्द्रीय पदाधिकारी जिल्ला दौडाहामा निस्किएका हुन्।

कांग्रेसलाई क्षति

वर्ष २०७५ मा कांग्रेसले चर्चित नेता गुमाए। साउन २० गते स्याङ्जाका जिल्ला सभापति कमलप्रसाद पंगेनीको निधन भयो। पंगेनीको हृदयघातका कारण निधन भएको थियो। २०३५ सालदेखि राजनिति सुरु गरेका पंगेनी २०७० सालको चुनावमा स्याङजा २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
यसैगरी साउन २६ गते पुराना नेता भरत शम्शेरको मृत्यु भयो। गोरखा परिषद्का संस्थापक अध्यक्ष राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले बिना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए।
यही वर्ष चक्रप्रसाद बास्तोलाको निधन भयो। असोज २६ गते छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका पूर्वमन्त्री बास्तोलाको निधन भएको हो।
२०६९ पुस १४ मा मोरङ विराटचोकमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा उनी मस्तिष्कघातका कारण लडेका थिए। पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका बास्तोला भारतका लागि नेपाली राजदूतसमेत भएका थिए।

नेवि संघको किचलो कायमै

पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि म्याद थपिएको नेपाल विद्यार्थी संघको कार्यकाल माघ २ मा सकिएको छ। त्यसैगरी पार्टीले नेविसंघमा ३२ वर्षे हदम्याद पनि लगाएको छ। जसले गर्दा धेरै विद्यार्थी नेताहरु रिटायर हुने भएका छन्।

संशोधित विधानअनुसार दोस्रो पटक  ५ महिना म्याद थपिएको थियो। थपिएको समयसीमा भित्र १४ जिल्लामा मात्र अधिवेशन भएकाले वर्तमान कार्यसमितिको म्याद फेरि थप्ने या तदर्थ समिति बनाउने भन्नेमा नेविसंघका नेताहरु विभिाजित थिए।  यद्यपि माघ २८ गते अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएसँगै स्वतः भंग भयो।

नेविसंघमा तदर्थ समिति गठन गर्ने कांग्रेसको तयारी छ। तर कहिले गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन। पौडेल पक्षका पूर्व पदाधिकारीले भने चाँडोभन्दा चाँडो तदर्थ समिति गठन गर्न माग गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell