PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नयाँ वर्ष सेलिब्रेसनका लागि पर्यटकीय गन्तव्य अन्तरिक पर्यटकले खचाखच



वसन्तराज उप्रेती

नयाँ वर्ष सेलिब्रेसनका लागि पर्यटकीय गन्तव्य अन्तरिक पर्यटकले खचाखच

काठमाडौं: नयाँ वर्ष सेलिब्रेसनका लागि मुलुकभरका प्रमुख पर्यटकीय गन्तव्यका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।

काठमाडौं नजिकका पर्यटकीय गन्तब्य नगरकोट, धुलिखेल लगायतमा रहेका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन् भने चितवन र पोखरामा पनि पर्यटकको चाप बढी देखिन्छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका होटल ९० प्रतिशत बुकिङ रहेको बताए।‘सौराहाका होटल नयाँ वर्षका लागि एक साता अघि नै ७० प्रतिशतभन्दा बढी रुम बुकिङ भइसकेका थिए। अहिले सौराहामा आन्तरिक पर्यटकको चापाचाप छ,’ उनले भने। 

सौराहामा पर्यटकका लागि १ सय १० होटल छन्। यहाँ २ हजार ८ सय पर्यटक राख्न सक्ने क्षमता छ। मूख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन्।

आन्तरिक पर्यटकको प्रमुख गन्तब्य पोखरामा नयाँ वर्ष सेलिब्रेसनका लागि बेग्लै रौनक छ। क्राउन हिमालयजका प्रबन्ध निर्देशक आग्रह अर्यालका अनुसार पोखराका सबै होटल भरिभराउ छन्।‘पोखराका सबै होटल भरिभराउ छ। पोखरामा न्यू एयर सेलिब्रेशनका लागि लेकसाइडमा सांगितिक कार्यक्रम र फूड फेस्टिभल छ’ उनले भने। उनका अनुसार पोखरा क्षेत्रमा पर्यटक बस्न सक्ने करिब ९ हजार कोठा खाली छैन।

पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका पनि पर्यटक खचाखच छन्। क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार आन्तरिक पर्यटकको भीड थामिनसक्नु छ। उनले नयाँ वर्षसँगै फेवा महोत्सवकै लागि घुम्न आउने पर्यटकको संख्या पनि बढी छ।

काठमाडौंमा रहेका होटलको अक्युपेन्सीं ६० प्रतिशत रहेको छ। होटल संघ नेपालका महासचिव विनायक शाहले नयाँ वर्षमा विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप राम्रो रहेको बताए। उनले पछिल्लो समयमा नेपालीहरु घुम्ने क्रम बढेकाले समेत आन्तरिक पर्यटकले साना होटल थेगेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell