PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२०७५ सालका ५ फिल्म, जसले पस्किए नेपालीपन



रीना मोक्तान

२०७५ सालका ५ फिल्म, जसले पस्किए नेपालीपन

२०७५ सालमा १ सय ३० फिल्म चलचित्र विकास बोर्डमा दर्ता भयो। करिब १०० को हाराहारीमा फिल्महरु प्रदर्शनमा पनि आए। कति फिल्म विदेश प्रदर्शनमै मात्र सीमित रहे। कति फिल्मको प्रदर्शन मिति नै हेरेफेर भएकाले प्रदर्शनमा आउन सकेनन्। 

समीक्षात्मक हिसाबले कमै फिल्म उत्कृष्टको सूचीमा परे यसपाला। यस वर्षका फिल्महरुको व्यापारिक ग्राफ भने निराशाजनक नै रह्यो, समीक्षाजस्तै। 

तथापि, करोड क्लबको हल्ला अनि चोरिएका पटकथामा फिल्महरु बन्ने क्रम जारी रहे। दुईअर्थी संवादबिनाका फिल्म कमै बने। यसैबीच व्यवसायिक धेय नलिई कलात्मक फिल्म बनाउन केही निर्देशक निर्माताले जोखिम मोल्ने आँट गरे। यसको उदाहरण हो 'हरि'। केही सिनेमाले नेपाली फिल्मको कालो बादलमा चाँदीको घेरा पनि देखाए। 

कथा, प्रस्तुतिकरण र प्राविधिक पक्षका आधारमा त्यस्तै चाँदीको घेरा हुनसक्ने उत्कृष्ट पाँच फिल्म:

'हरि' : प्रयोगात्मक फिल्म
फिल्मका मुख्य अभिनेता विपिन कार्की आफै पनि स्वीकार्छन्, यस किसिमको फिल्म बन्न 'इन्डस्ट्री'ले अझै लामो समय कुर्नुपर्छ। उनले यसलाई आफ्नो करियरकै राम्रो फिल्म भनेका छन्। 

'हरि'ले फिल्म लिट्रेट दर्शकहरुबाट तारिफ बटुल्यो। तर, हलबाट लगानी उठाउन भने सकेन। सफल केसी र प्रतीक गुरुङ निर्देशित फिल्ममा विपिनसँगै सुनिता श्रेष्ठ, लक्ष्मी बर्देवा, कमलमणि नेपाललगायतको अभिनय छ। 

परम्परागत कथ्य परम्परामा 'सर्यलिजम' शैली यो फिल्ममा प्रयोग छ। फिल्मले चार पुस्ताको पारिवारिक कथा भन्छ। फिल्ममा विपिन एकसाथ चार भूमिकामा देखिन्छन्। जिजु बुबा, हजुरबुबा र ६० को दशकमा बुबा। फिल्मबाट अभिनयमा अब्बल विपिनले आफ्नो अभिनय प्रतिभालाई यसमा देखाए। उनी आफैले फिल्मलाई न्यारेसनमेत गर्छन्। फिल्ममा प्रगोग गरिएका सिनिमेटोग्राफी र पार्श्व ध्वनि निकै सान्दर्भिक छ। 

यो फिल्मको बलियो पक्ष नै क्यारेक्टराइजेसन, सिनिमेटोग्राफी र पात्रहरुको जीवन्त अभिनय नै हो। फिल्मको सिनिमेटोग्राफीमा निकै मेहनत र कलाको प्रयोग देखिन्छ। 

फिल्ममा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवागायतको मुख्य अभिनय छ। यो प्रयोगात्मक फिल्म नै हो। 

 

'रोमियो एण्ड मुना' : फरक कन्सेप्टमा नयाँ लभ स्टोरी 
त्यस्तै यही वर्ष प्रदर्शनमा आएको अर्को फिल्म हो 'रोमियो एण्ड मुना'। नरेशकुमार केसी निर्देशित फिल्मले पश्चिमा संस्कृतिमा हुर्किएको केटो रोमियो र नेपालको गाउँमा हुर्किएकी मुनाको कथा समेट्छ। फिल्ममा दुई चर्चित प्रेमकथाहरु 'रोमियो एण्ड जुलिएट' र 'मुना मदनबाट'बाट नाम सापटी लिइएका पात्रहरुको प्रेमकथा प्रस्तुत छ। 

फिल्ममा विनय श्रेष्ठ वेदको भूमिकामा देखिएका छन्। मुनाको भूमिकामा भने सृष्टि श्रेष्ठ। फिल्मले प्रेस लभस्टोरी देखाउँछ। 
फिल्मका संगीत र गीतमा मेहनत झल्कन्छ। प्रख्यात आर्टिस्ट भ्यान गगका चित्रहरुलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएका छन्। भ्यान गगका चित्रहरु मात्र नभएर वेदको प्रेमलाई गगका प्रेमसँग मिलाएर फिल्ममा देखाइएका छन्। फरक कन्सेप्ट र कथा समावेश यो फिल्मको बलियो पक्षमा विम्बात्मक प्रयोग पर्छ। 
फिल्ममा राक्षसी रुपलाई एक जनावरको दृश्यबाट बारबार फिल्ममा देखाइन्छ। सिनिमेटोग्राफीको पनि तारिफ योग्य नै थियो। निर्देशक नरेशले आफ्नो फिल्म मेकिङप्रतिको हुटहुटीलाई लभ स्टोरीमा पनि देखाए। 

बुलबुल :  महिलाको हिरोइजम
महिलालाई नायक बनाएको फिल्म 'बुलबुल'लाई लिएर लामो समय फिल्म क्षेत्रमा बहस भयो। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले रणकलाको भूमिका निभाएकी छिन् यसमा। फिल्ममा उनी टेम्पो चालकको भूमिका देखिएकी छिन्। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। 

टेम्पो चलाएर पारिवारिक एवं व्यक्तिगत जीवन सम्हाल्ने महिलाको दैनिकीमा बुलबुलको कथा उनिएको छ। उनले त्यस्ता पात्रहरुको प्रतिनिधित्व गर्छिन् जो काम गर्ने परिवार हेरिरहेकी हुन्छिन्। 

फिल्ममार्फत् मुकुन भुषालले डेब्यू गरेका छन्। उनको डेब्यू अविस्मरणीय रह्यो। उनले डेब्यू अभिनयबाट दर्शकको मन जिते।  
पार्श्व ध्वनि, बिम्व अनि सिनिमेटोग्राफीमा फिल्मले प्रशंसा पायो। निर्देशक पौडेलले मूलधारे फिल्महरुको भिडमा 'बुलबुल'को प्रयोगात्मक पाइला चालेर आफ्नो निर्देशकीय कलालाई प्रस्तुत गरे।


साइँली : अर्गानिक कथामा विदेशिने 'साइँली'को कथा 
फिल्म 'साइँली' समीक्षात्मक हिसाबले अब्बल नै रह्यो। मौलिक कथालाई निर्देशक रामबाबु गुरुङले पर्दामा देखाएका थिए। 'कबड्डी' निर्देशक रामबाबुले गायक हेमन्त राणाको 'साइँली'बोलको गीतको शीर्षक सापटी लिएर फिल्म बनाएका हुन्। 

फिल्मले वैदेशिक रोजगारीमा आधारित कथा भन्छ। फिल्मले विदेशिने 'साइँली'को कथा, व्यथा अनि पीडा बोलेको छ। 'साइँली'को भूमिकामा अभिनेत्री मेनुका प्रधानले न्याय दिएकी छिन्। फिल्मको केन्द्रीय द्वन्द्व ऋणको भारी हो।

ऋण चुकाउनका लागि साइँली र पिताम्बर(गौरव पहारी)ले गरेको संघर्ष र भोगेका पीडासँगै अघि बढ्छ यो फिल्म। फिल्ममा हँसाउनकै लागि भनेर द्वीअर्थी शब्द घुसाएका छैनन्।

भाषिक हिसाबले गण्डकीको आञ्चलिकता झल्काउने साइँलीले कथा भने सिंगो देशकै बोल्छ। फिल्ममा दयाहाङ र केनिपा सिंहको पनि मुख्य अभिनय छ। 

गोपी : कृषिमा भविष्य 
'गोपी'लाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्मले एमए पढेर गाई पालनमा रुचीकर सुधीरको कथा भन्छ। उनका बुबा छोरा अमेरिका जाओस् भन्ने इच्छा गर्छन्, तर सुधीरलाई नेपालमै केही गर्नुछ। गाई पाल्न चाहने सुधीरको कथा नयाँ कथा हो। 

कृषिमा पनि भविष्य खोज्न सकिने कथा वरीपरी घुमेको छ यो फिल्म। फिल्मले कृषि प्रधान देशका नागरिकलाई एकपटक सोच्न बाध्य गराउँछ। कम समयमै छायाँकन सकाएका निर्देशक लामाले फिल्मबाट सरल अनि गम्भीर विषय पस्केका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell