Jul 21, 2019 | ५ साउन २०७६

अर्जुन जो निर्मला प्रकरणको चक्रव्यूहमा फँसे : 'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन'

सागर बुढाथोकी/पहिलोपोस्ट

'निर्मला पन्तको न्यायको लागि देश दुनियाँ बोलेको छ। निर्मलाकी आमा (दुर्गादेवी) पीडित हुनुहुन्छ। उहाँप्रति सहानुभूति छ,' शिवकला सुस्केरा हाल्दै बोलिन्,' तर...मेरो छोरा त जिउँदो लाश। मरेको भनौँ सास छ, जिउँदो भनौँ बोल्न सक्दैन। हिँड्न सक्दैन। खान र ट्वाइलेट गर्नसमेत अरुको सहारा चाहिन्छ। म पनि दुर्गादेवी जत्तिकै पीडित हुँ तर मेरो लागि कोही किन बोल्दैन?'

यत्ति बोलेपछि शिवकलाले लामो सास फेरिन्। त्यहाँ सन्नाटा छायो। छोरो अर्जुन भण्डारा ठूलो आवाज निकालेर हाँसे।

'खायो... हाँस्यो.. मेरो बाल (कपाल) लुछ्यो। एक शब्द बोल्नु छैन। बोल्दिए त हुने नि। केही बोल त बाबु..'

भावुक स्वरमा शिवकलाले यस्तो भन्दै गर्दा उनका गहभरी आँसु छचल्किए। 

अर्जुन फेरि हासेँ।

***
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको न्युरो विभाग। रुम नम्बर ३१५ को क्याबिन। अर्जुन भण्डारा बेडमा लम्पसार परिरहेका छन्। बेडको अलिपर खाना खाने भाँडाकुँडाहरु छन्। औषधिहरु त्यतै छेउमा छ। अलि छेउतिर लुगाको पोको पुन्तुरो राखिएको छ। शिवकला छेउमा बसेर अर्जुनलाई सुम्सुम्याउँदै छिन्। अर्जुन आमाको हात तान्छ। कपाल भुताल्छ। मुखभरी थुक जम्मा गरेर आमालाई थुक्छ पनि। आमा रिसको झोँकमा थप्पड लाउँछिन्। अनि एकछिन पछि गहभरी आसुँ पार्दै सुमसुम्याउँछिन्।

अर्जुन जिब्रो निकालेर मुख बङ्गयाउँदै जिस्काउँछ। आँखा झिम्काउँछ तर मुखबाट कुनै आवाज निस्कन्न। शिवकला अवाक भएर छोरालाई हेरिरहन्छिन्।

अर्जुनको मेमोरीमा पुरानो याद केही छैन। न बोल्न सक्छन्, न हिँड्न नै। कोल्टो फेर्नसमेत अरुको सहारा चाहिन्छ। बोल्न सक्ने बनाउन डाक्टर असमर्थ भइसके। शिवकलालाई अब भगवानको मात्र भरोसा छ। त्यसैले छोराले बोल्न सकोस् भन्दै भगवानको नाम जपिरहेकी छिन्।

अर्जुन ८ महिना अघि तन्दुरुस्त थिए। हिड्न, बोल्न र डुल्न सक्थे। साइन्समा प्लस टु सकाएकाले इन्जिनियर बन्ने लक्ष्य थियो। ऋण गरेर भएपनि छोरालाई इन्जिनियर बनाउने सपना देखेकी थिइन, शिवकलाले। अर्जुनको दाइ यज्ञराजले उनलाई इन्जिनिर बनाउनकै लागि आफ्नो पढाइ त्यागेका थिए। सबैजना पढ्न घरको आर्थिक स्थितिले दिँदैनथ्यो। परिवारकै साझा सपना अर्जुनलाई इन्जिनियर बनाउने थियो। अर्जुनको पढाइ पनि यज्ञराजको भन्दा राम्रो थियो।

तर, एकाएक उनीहरुको सपनामा तुषारापात भयो। 

***

गत भदौ ७ गते अर्जुन घरमै थिए। शिवकला भान्सामा खाना पकाउँदै। अर्जुनको एकजना मिल्ने साथी उनको घरमा आए। एकछिन बसेपछि अर्जुनपनि साथीसंगै बजारतिर गए। 

अर्जुनले खाना खाएकै थिएनन्। घरमा खाना तयार हुदैँथियो। खाना तयार भएपछि शिवकलाले छोरालाई फोन लगाइन। अर्जुनले फोन उठाएनन्। एकछिनपछि हल्ला सुनियो— अर्जुनलाई गोली लाग्यो।

शिवकलाको सात्तो गयो। उनी हस्याङ फस्याङ गर्दै अस्पताल पुगिन्। अर्जुनलाई देखेपछि बेहोश। रगतै रगत बगेको, अवस्था एकदम नाजुक। उनले हेर्न सकिनन्।

होशमा आउँदा अर्जुनलाई धनगढी लगेको थाहा भयो। तर, उनलाई त्यहाँ जान कसैले दिएनन्।

महेन्द्रनगरकी १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना हुन लागेको थियो। प्रहरीले दिलिप सिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि अपराधी जोगाएर निर्दोषलाई पक्रिएको भन्दै आन्दोलन चर्किएको थियो। प्रहरीले अश्रुग्याँसहरु हानेको थियो। सामान्य झडपहरु हुन थालेका थिए। मुख्य चोकको पसलका सटहरहरु बन्द गर्ने अवस्था थियो।

अर्जुनको दाइ यज्ञराजले चलाएको मोबाइल पसल पनि आन्दोलनकै कारण बन्द थियो। उनी पनि चोकतिरै थिए।

अर्जुन घरबाट बजारतिर जादाँजाँदै दाहिने पिँडुलामा गोली लाग्यो। उनलाई महाकाली अञ्चल अस्पताल पुर्‍याइयो।  त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरियो।

आठ महिनाअघिको घटना सम्झदाँ शिवकलाको आँखा रसाए। भनिन्, ' छोराले पढेर के के गर्ला भन्ने सोचेको थिएँ तर सबै सपना भताभुंग भयो.. ।'

***

शिवकलाले पहिलोपटक महाकाली अञ्चल अस्पतालमा अर्जुनलाई देख्दा धेरै रगत बगेको देखेकी थिइन। त्यसपछि छोरो देख्न पाएकी थिइनन्। छोरोको अवस्था के थियो कञ्चनपुरमा रहेकी उनलाई थाहा थिएन। जेठो छोरो यज्ञराजले फोन गरेर अर्जुन ठीक रहेको सुनाएका थिए। उनी ढुक्क थिइन्।

उनी भदौ १८ गते कञ्चनुपरदेखि छोरो भेट्न शिक्षण अस्पताल आइन्। यत्रो ठूलो अस्पतालमा उपचार गर्दा छोरो ठीक भयो होला भन्ने लागेको थियो। धेरैपछि छोरालाई भेट्ने आशाले खुशी थिइन्। छोराको यो अवस्थाको कल्पनासम्म थिएन।

तर, जब पहिलो पटक अस्पतालमा अर्जुनलाई देखिन् त्यसपछि बेहोश...।

दाहिने खुट्टा घुँडामुनि काटिएको। नाकमा पाइप जोडिएको। पिसाबको लागि पाइप। बोल्न नसक्ने। इशारा पनि नबुझ्ने। आमालाई नै नचिन्ने। उनी रोइकराई गरिन्।

'एक पटक आमा भनिदेऊ मेरो बाबु' भनेर बिन्ती बिसाइन्। तर, छोरो त पागल जसरी पो हाँस्यो।

डाक्टरले उनलाई सुनाए, 'बिरामी अस्पताल ल्याउँदा रगत धेरै बगेको थियो, धन्न बचायौँ। अस्पताल ल्याउँदाल्याउँदै ब्लड सर्कुलेसनमा असर पर्‍यो।दिमागमा रगत नपुगेर दिमाग सुकेको छ। उसलाई पुरानो कुराहरु केही याद छैन।'

डाक्टरको कुरा सुनेर शिवकला मन कटक्क खायो। आफूलाई सम्हाल्न सकिनन्। रोइकराई गरिन्। छोरोलाई बोल्न सक्ने बनाइदिनू भन्दै डाक्टरहरुलाई बिन्ती बिसाइन्। छोराको हालत ठीक भएन, उनी आफै बिरामी परिन्। उनकै होस गुम्यो।

त्यसपछि छोरा यज्ञराजले एक हप्तामै उनलाई कञ्चनपुर पठाइदिए। छोरो ठीक भएको हेर्न आएकी उनी बिरामी भएर कञ्चनपुर फर्किन्।

'छोरो हेर्न आएको मेरो आफ्नो होस गुम्यो। म पागल जस्तै भएपछि छोराले मलाई गाउँ फर्काइदियो' गहभरि आँसु पार्दै भनिन्, 'अहिले पनि कहाँ ठीक छु र ? आफुले सर्वस्व ठानेको छोरोको यो हालत हुदाँ कुन आमा ठीक हुन्छे र ?'

***

भदौ २५ गते कञ्चनपुर फर्किएपछि उता बस्न पनि मन मानेन। छटपटी बढ्दै गयो। छोराको तस्विर आँखाभरी नाच्थ्यो। छोराले बोलेको आवाज कानभरि गुन्जिन्थ्यो। छोरासँग बात मारेको हिँड्डुल गरेको सपनामा पनि देख्थिन्।

अत्ति भएपछि असोज २५ गते फेरि काठमाडौँ आइन्। 

उनी बसेको क्याबिनबाट शिक्षण अस्पतालको बगैँचा देखिन्छ। गएका आठ महिनामा त्यो बगैँचामा धेरै फूल फूले, झरे, ओइलाए। अस्पतालको झ्यालबाट देखिने ठूला रुखका पातहरु झरेर पलाए पनि। तर, उनको छोरोमा कुनै परिवर्तन देखिएन। 

उनलाई डाक्टरहरु आएर बारम्बार भन्छन्, 'अब तपाईँको छोरो बोल्न सक्दैन। यहाँबाट लैजानुस् अरु हजारौँ बिरामीलाई बेड चाहिन्छ।'

छोरो अब कहिल्यै बोल्न सक्दैन भन्ने कुरा उनलाई विश्वास लाग्दैन। उनी डाक्टरलाई जवाफ दिन्छिन्, 'बिरामी हजार जना होलान्, तर मेरो हजार वटा छोरा छैनन्। छोरो ठीक नभइकन म घर जान्नँ।'

अस्पतालले घर लैजान दिनहुँ आग्रह गरे पनि यही अवस्थामा घर नलाने अडान गरेको बताउँछिन्। सरकारले केही व्यवस्था नगरेसम्म अस्पतालमै बस्ने सुनाउँछिन्। अस्पतालमै सकस भोग्न तयार छिन्।

अर्जुन बेडमा लम्पसार परिरहन्छन्। शिवकला हेरचाह गर्दै बसेकी छिन्। डाक्टरहरुले अर्जुनलाई भुलाउन गीत सुनाउन सुझाव दिएका छन्। तर अर्जुनको हात परेपछि केही टिक्दैन। उनले सुत्दासुत्दै मोबाइल फुटाए। ल्यापटप तोडे। अहिले गीत सुन्नलाई केही छैन। भन्छिन्, 'कहिले कपाल भुताल्छ मेरो। थुक्छ पनि। भित्तामा हानेर हात नै काटेछ। के गर्नु दिमाग नै नभएपछि के लाग्छ।'

***

उनी अस्पतालमा बस्दाबस्दै एकोहोरो हुन्छिन्। पुराना कुराहरु सम्झँदा दिमाग रन्थनिन्छ। अस्पतालमै बसेर टोलाइरहँदा छोराले थुक्छ। झसङ्ग भएर हेर्दा हाँस्छ। 

'बिचराको मनमा के के कुरा खेल्दो हो, बोल्न आवाज आउँदैन। त्यसरी नै रिस पोख्छ'  निराश हुँदै भन्छिन्, ' नतोडेको कुनै सामान छैन। नच्यातेको कुनै लुगा छैन। चारवटा ह्विलचियर तोडिसक्यो हातले नै।'

च्यातिएको लुगा देखाउन थाल्दा अर्जुन हात हल्लाउँदै हाँस्छन्।
 
'ममी ममी म इन्जिनियर बन्छु' आवाज कानमा गुन्जिन्छ। झसङ्ग भएर छोरोलाई हेर्छिन्। छोरो लम्पसार...।

यस्तो अवस्था धेरै पटक भएको छ उनलाई। तर, यथार्थमा त्यस्तो हुन्न। त्यही सम्झेर छोरो निदाएपछि रुन्छिन्। जिन्दगीको आशा भरोसा बेडमा लम्पसार परिरहेको देख्दा भक्कानो छुट्छ।

शिवकलाका श्रीमान १७ वर्षअघि बिते। ३ छोरा २ छोरीको लालनपालन उनले नै गरिन्। चिया पसल चलाएकी थिइन्। जेठो छोरो यज्ञले मोबाइल पसल चलाएको थियो। यसरी नै उनीहरुको छाक टरिरहेको थियो। जिन्दगी जसोतसो चलिरहेको थियो।

शिवकलासँग आफ्नो जमिन छैन। मासिक चार हजार तिरेर जग्गा भाडा लिएकी छिन्। त्यही जग्गामा झुपडी हालेर बसिरहेकी छिन्। 'बल्ल तल्ल छोराहरु ठूला भएर केही गर्लान जस्तो भएको थियो यस्तो आइलाग्यो। हामी गरिबको त सुख पाउने भाग्य हुन्न रैछ'सुकसुकाउँदै बोल्छिन्।

गएको आठ महिनादेखि उनको घरमा चुलो बलेको छैन। दुई छोराहरु छिमेकका शरणमा छन्। दुई छोरीको बिहे भइसकेकाले ढुक्क छ। चिन्ता छ त अर्जुनकै।

अर्जुनको स्याहार गर्न दुई जना मान्छेले सम्भव छैन। ओल्टोकोल्टो फेर्नेदेखि खुवाउन समेत मान्छे चाहिन्छ। खाना होटलबाट मगाएर खानुपर्छ। होटलको खानाले पनि पटक पटक बिरामी भएकी छिन्। भन्छिन्, 'घटनासँग सम्बन्ध नभएको मान्छेको यस्तो बिजोक। मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन।'

अहिलेसम्मको उपचार खर्च सरकारले बेहोरेको छ। अरु राम्रो अस्पतालमा उपचार गरिदिए छोरो ठीक हुन्थ्यो कि भन्ने लाग्छ। तर अब के गर्ने भन्न सरकारी मान्छे आएका छैनन्। सरकारी मान्छे भेट्न नआएर अलमलमा परेको सुनाउँछिन्।

'कि त राम्रो अस्पतालमा उपचार गराउनु पर्‍यो। ठीक नहुने नै हो भने जीवनभर पालन पोषणको व्यवस्था गर्नुपर्‍यो'  गहभरी आँसु पार्दै भनिन्,'यसरी केही नगरिकन अस्पतालमा बस्दाबस्दै म नै पागल भइसकेँ।'

***
उनी आफू निर्मला पन्तको आमा दुर्गादेवी जत्तिकै पीडित भएको सुनाउँछिन्। उनको र आफ्नो पीडा उस्तै लाग्छ। आफ्नो छोराको बारेमा दुर्गादेवीले एक शब्द नबोलेकोमा पनि चित्त दुखेको छ।

'उहाँकी त छोरी मरिन्। पीडा त भयो नै। तर उहाँको छोरीको बारेमा देश बोल्यो। मेरो छोरो जिउँदो लाश हुँदा पीडा त मलाई नि उस्तै भयो। तर खै को बोल्यो?'

दिक्क मान्दै भन्छिन्, ' दुर्गादेवीले मेरो छोराको बारेमा केही बोलिदिएको भए पनि मनलाई सन्तोष हुन्थ्यो। उस्तै पीडा भए पनि हाम्रो लागि बोल्ने कोही भएनन्।'

बोल्दै गर्दा अर्जुनले उनलाई कोट्याए। अनि सोधिन्, ' खाजा खाने हो ?' 

अर्जुनले हाँस्दै मुन्टो हल्लाए। अनि उनी जिस्काउँदै खाजा खुवाउन थालिन्। केही बेर छोरासँग जिस्किएपछि भनिन्, ' खोइ कतिन्जेल यहाँ यसरी बस्नुपर्ने हो ? अझै के के हुने हो ?'

यसो भन्दा उनको मुहारमा अन्यौलको भाव प्रष्ट झल्किएको थियो।

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

 थप समाचार



ट्रेन्डिङ पोस्ट