PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओली सरकारमाथि ११ दलको आक्रमण:  देउवा र वैद्यको नेतृत्वमा सडक आन्दोलनको तयारी



नेत्र तामाङ

ओली सरकारमाथि ११ दलको आक्रमण:  देउवा र वैद्यको नेतृत्वमा सडक आन्दोलनको तयारी

काठमाडौं: शुक्रवार राजधानीको राष्ट्रिय सभा गृहमा सत्ता बाहिर रहेका विभिन्न दलका ११ विद्यार्थी संगठनले संयुक्त कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा वक्तका रुपमा निम्त्याइएको थियो माउ पार्टीका प्रमुखहरुलाई।

विषय थियो समसमायिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठी।

कार्यक्रममा समसमायिक राजनीतिमाथि चर्चा गर्दै सत्ताबाहिरका दलका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि खनिए।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवादेखि, कम्युनिस्ट नेताहरु र मधेसवादी दलका नेता राजेन्द्र महतोसम्म उपस्थित थिए।

शुरुमा विद्यार्थी संगठनका नेताहरुले आफ्नो धारणा राख्दै सरकार अधिनायकवादतर्फ लम्केको आरोप लगाउँदै अबका दिनमा विद्यार्थीले के गर्ने भनी प्रश्न गरेका थिए।

जवाफमा माउ पार्टीका नेताहरुले आआफ्नो तर्क राखे।

अब आन्दोलन रोक्न सकिन्नँ: देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आन्दोलन रोक्न नसकिने चेतावनी दिए। भने, 'जहाँ पनि हस्ताक्षेपमात्रै। हामीले काम गर्न दिएकै हो। विद्यार्थीले आन्दोलन थाले पार्टीको साथ रहनेछ।'

विखण्डनकारीलाई काखमा राखेर सरकारले राष्ट्रवादको कुरा गरिरहेको आक्षेप लगाएका छन्। सरकारले वर्ष दिनमा एउटा पनि काम गर्न नसकेको आरोप लगाउँदै शान्ति सुरक्षाको विषयमा सरकार असफल भएको दाबीसमेत गरे।

'देश टुक्राउने विषयमा जनमत संग्रह हुनै सक्दैन,' देउवाले भने, 'सीके राउतसँग के सहमति गरेको स्पष्ट पार्नुपर्छ। विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने?'

सुदूर पश्चिमको महेन्द्रनगरमा मारिएकी निर्मला पन्तको विषय उठाउँदै सरकारमाथि कडा आक्षेप पनि लगाए उनले। 'सरकारले निर्मलाको बलात्कारीलाई लुकाउने काम गरेको छ,' देउवाले भने।

उनले एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएकोमा कटाक्ष गरे। देउवाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वले हत्या हिंसा छाड्नुपर्ने र सरकारले पनि वार्ताको पहल गर्नुपर्ने बताए।

 

ओलीलाई मोहन वैद्यको जवाफ उखानबाटै : जुन गोरुको सिङ छैन उसको नाम तिखे

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य (किरण)ले मुलुकको स्थिति धेरै गम्भीर रहेको बताए। मुलुक जटिलतातिर गएको भन्दै उनले संविधान बनेपनि धोकेबाजहरुले धेरैलाई धोका दिएको आरोप लगाए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखानबाटै प्रश्न गरे, 'ओलीजी धेरै उखानमात्र भन्नुहुन्छ। काम गर्नुहुन्न। जो कम्युनिस्ट होइनन्। तर, कम्युनिस्ट भन्छन्। जुन गोरुको सिङ छैन उसको नाम तिखे?'

किरणले मधेशी आन्दोलन जिउँदै रहेको र थरुहट आन्दोलन बाँकी नै रहेको बताए। उनले आदिवासीको माग ज्यूँकात्यूँ रहेकाले जनवादी क्रान्ति बाँकी नै रहेको बताए।

सरकारले प्रतिवन्धित घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दको पार्टीलाई उनले राजनीतिक पार्टी भएको दाबी गरे। 'विप्लव राजनीतिक पार्टीको हो। जनआन्दोलनको बीउ यहीँ छ,' उनले भने।

अब सडकमा साथसाथ : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका पूर्व संयोजकसमेत रहेका नेता राजेन्द्र महतोले हजारौं सीके राउत जन्माउने धन्दामा सरकार लागेको आरोप लगाए। उनले पार्टीहरु झगडा गर्नै व्यस्त रहेकाले विद्यार्थीहरुलाई आन्दोलनमा उत्रिन आह्वानसमेत गरे।

सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा गडबडमात्रै भइरहेको बताए। 'प्रधानमन्त्री ओलीले सब ठीकठाक भनिरहेका छन्,' उनले भने, 'प्रधानमन्त्रीलाई सोध्या छ? त के ठीकठाक छ?

उनले प्रधानमन्त्रीमाथि कडा आक्षेप पनि लगाए। 'झापामा बञ्चरोले टाउको काट्ने सत्तामा रेशम चौधरीलाई चाहिँ आजीवन कारावास,' महतोले भने, 'सीके राउत हजारौं जन्माउने धन्दामा लाग्न भएन नि सरकार।'

उनले मुलुकको भविष्य विद्यार्थीहरु नै भएको बताउँदै आजको कार्यक्रमलाई आन्दोलनको ट्रेलर रहेको बताए। भने, 'पूरै फिल्म देखाउनुस्। अब सडकमा भेटौला।'

छिर्केमिर्के राष्ट्रवाद चल्दैन: सीपी मैनाली

नेकपा मालेका महासचिव सीपी मैनालीले अब छिर्केमिर्के राष्ट्रवाद नचल्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'हामी दलहरूवीच छलफल हुनुपर्छ। हामीले साझा एजेन्डा बनाउन सक्छौ। अहिले हामीले गर्नुपर्ने कुरा के हो ठम्याउन पर्छ।'

उनले थपे, 'अहिलेको सरकार न कम्युनिस्ट न लोकतान्त्रिक। छिर्केमिर्के राष्ट्रवादी पार्टी। फाइदाको निम्ति गरेको राष्ट्रवाद।'

राजनीतिक परिवर्तन सँगै नागरिकताको विषयमा नीति बदलेकोमा उनले असन्तुष्टि पोखे। सरकारले रेशम चौधरीको विषयमा भने मैनालीले समर्थन गरेका थिए। भने, 'रेशम चौधरी अपराधिक मुद्दा हो। थारु आन्दोलनको कुरा नै होइन।'

कार्यक्रममा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले ओली सरकार नेपाललाई अफगानिस्तान बनाउन लागि परेको आरोप लगाए। देउवातर्फ इंगित गर्दै किरातीले भने, 'कांग्रेसको सरकारले सीके राउतसँग सम्झौता गरेको भए ओलीले सरकार उखेलेर फालिसक्थे।'

उनले प्रतिपक्षीबाट देउवा र कम्युनिस्टको तर्फबाट वैद्यलाई ओली सरकारविरुद्ध नेतृत्व गर्न तयार हुन सुझावसमेत दिए।

राष्ट्रवादी केन्द्र नेपालका नेता चन्द्रबहादुर थापाले पुरानै नारा बोकेर विद्यार्थी आन्दोलन काम नलाग्ने बताए। उनले ३५ सालदेखिको नारामा विद्यार्थी नेताहरु आन्दोलनमा रहेकोले त्यसलाई कार्यन्वयन गर्नतिर लाग्न सुझाव दिए।

कार्य्रक्रममा नयाँ शक्ति पार्टीबाट डम्बर खतिवडा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पनि सरकार अराजक बन्दै गएको आरोप लगाएका थिए।

विप्लव समूहलाईसमेत निम्त्याइएको कार्यक्रममा विप्लवका विद्यार्थी संगठनको शुभकामना पत्र पढेर सुनाइएको थियो। विप्लवको विद्यार्थी संगठनले प्रधानमन्त्री ओली कौरव भएको आरोप लगाएका थिए।

बाबुराम र उपेन्द्र अनुपस्थित

कार्यक्रममा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई, संघीय समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवलाई, नेता शरतसिंह भण्डारीलाईसमेत निम्ता गरिएको थियो। तर उनीहरु कार्यक्रममा उपस्थित भएनन्।

कार्यक्रममा कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले उपप्रधानमन्त्री यादवलाई सरकार छाडेर आन्दोलनमा आउन आह्वान गरे। भने,  'अब सरकारविरुद्ध आन्दोलन छेड्नुपर्छ। उपेन्द्र यादवजी चाँडो सरकार छाड्नुपर्यो। एक भएर लड्नुपर्यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell