PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

काठमाडौंमा के गर्दैछन् सीके राउत?



बीपी साह

काठमाडौंमा के गर्दैछन् सीके राउत?

काठमाडौं : सरकारसँग ११ बुँदे सहमति गरेपछि खोलेको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए।
सरकारसँगको सहमतिपछि सञ्चार माध्यमबाट टाढै रहेका राउत पार्टी दर्ताको तयारीमा छन्।

पाँच दिन काठमाडौं बसाइका क्रममा राउतले सम्पूर्ण समय पार्टी दर्ता प्रक्रियाका लागि खर्चेका छन्।

‘अहिले हाम्रो पहिलो प्राथमिकता पार्टी दर्ताको हो। त्यसकै लागि सम्पूर्ण तयारी गर्दैछौं,’ राउतले भने, ‘पार्टीको विधान तथा आवश्यक तयारी भइरहेको छ। अब केही दिनभित्रै पार्टी दर्ता हुनेछ।’

पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढिरहेको बताउँदै वैशाखको पहिलो साता जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले जानकारी दिए। पार्टीको सैद्धान्तिक पक्षमा थप छलफल आवश्यक रहेको उनले सुनाए।

अहिले संगठन सुदृढिकरणको अभियान पनि जनमत पार्टीले चलाएको छ। स्वतन्त्र मधेश गठबन्धनको संरचनामा रहेको संगठनलाई पार्टीगत संरचनामा ल्याउने कार्य भइरहेको उनले जानकारी दिए।

‘अहिले हाम्रो वडादेखि जिल्लासम्मको संगठन निर्माणको क्रममा छ,’ राउतले भने, ‘कार्यकर्तामाझ हाम्रो कुरा पुग्न सकेको छैन। हाम्रो पार्टीको प्रशिक्षण कार्य पनि अगाडि बढ्दैछ।’

जनमत पार्टीले केही दिनभित्रै प्रशिक्षणको खाका बनाएर अगाडि बढाउने जनाउँदै उनले भने, ‘कतिपय साथीले ११ बुँदे सहमतिको विषयमा बुझ्नु भएको छैन। उहाँहरुलाई जानकारी दिन र आगामी रणनीतिका विषयमा प्रशिक्षण हुनेछ।’

राजनीतिक सहमति र जनमत पार्टीको राजनीतिक विषयमा बोल्न नचाहेका राउतले भने, ‘हाम्रो पार्टीले काम गर्दै गएपछि सबै कुरा प्रष्ट हुनेछ। अहिले बोलेर मात्रै हुने होइन। हाम्रो पहिलो प्राथमिकता काम गर्नु रहेको छ।’

यसैबीच, सरकारसँग भएको ११ बुँदे सहमति अनुसार स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता प्रक्रिया अगाडि बढेको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले जनाए।

‘हाम्रो तर्फबाट तयारी हुँदैछ। सबै जानकारीहरु संकलन गरिँदैछ,’ सिंहले भने,‘हामीले सरकारलाई बुझाएलगतै मुद्दा फिर्ता हुने कुरा छ। तर, आन्तरिक तयारीकै क्रममा रहेकाले मुद्दा फिर्ता भएको छैन।’

पार्टी गठन भएपछि जनमत पार्टीले पहिलो सभाका रुपमा सिरहाको मिर्चैयामा पहिलो सभा गर्न लागेको छ। चैत ३० गते मिर्चौयामा हुने सभाबाट राजनीतिक विषयबस्तु बाहिर आउने सम्भावना छ। राउतले सम्बोधन गर्ने उक्त सभामा पार्टीको आगामी रणनीति बारे जानकारी दिइने नेता सिंहले बताए।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि जेलबाट रिहा भए लगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेका राउतले त्यसैराति सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। त्यसको भोलिपल्टमात्र उनीसँगको सम्झौताका केही बुँदा हेरफेरसहित औपचारिकता पाएको थियो। उनको रिहाईदेखि सम्झौतासम्मका प्रकरणले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै पनि विवाद ल्याएको थियो। 

सम्झौतालगत्तै जनकपुर पुगेर आफ्नो आधार क्षेत्रमा सक्रिय रहँदै आएका उनी यतिखेर काठमाडौंमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell