PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बारा वितण्डा : ११ महिला, १० पुरुष र ६ बालबालिकाको मृत्यु, ३७५ जनाको उपचार हुँदै, तीन ट्रक राहत सामाग्री घटनास्थलमा



पहिलोपोस्ट

बारा वितण्डा : ११ महिला, १० पुरुष र ६ बालबालिकाको मृत्यु, ३७५ जनाको उपचार हुँदै, तीन ट्रक राहत सामाग्री घटनास्थलमा

काठमाडौं : आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको विनाशकारी हावाहुरीमा परी ज्यान गुमाउने सबै जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ। 

सो घटनामा परी बारा जिल्लाका २६ जना र पर्सा जिल्लाका १ जना गरी २७ जनाको निधन भएको छ। ती मध्ये पुरुष १० जना, महिला ११ र ६ जना बालबालिका रहेको र सबैको सनाखत भइसकेको गृह मन्त्रालयले जनाएको छ। 

घटनामा ६६८ जना घाइते भएकोमा २८४ जना प्रारम्भिक उपचार पश्चात घर फर्केका छन् भने ३७५ जनाको पर्सा र बारा जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

गम्भीर घाइते ९ जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काइ ट्रक तथा हेलिकप्टरबाट उद्दार गरी काठमाण्डौ त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ।

पीडितहरुलाई खाद्यान्न लगायतका तत्कालीन अत्यावश्यक सामग्री स्थानीय स्तरवाट व्यवस्था भइरहेको छ।

गृह मन्त्रालयको समन्वयमा काठमाडौँबाट पठाइएको त्रिपाल र टेण्ट गरी ४६८ थान तथा सर्ट, पाइन्ट लत्ताकपडा ४१३८ थान, २ रोल कपडा सहित ३ ट्रक सामग्री बारा पुगेको तथा थप राहत सामग्री पठाउने क्रम जारी रहेको जनाइएको छ। 

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।

नेकपा सांसदको एक दिन, कांग्रेस सांसदको दुई दिनको तलब

हावाहुरीबाट प्रभावितहरुलाई सत्तारुढ नेकपा सांसदले एक दिन र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले दुई दिनको तलब दिने घोषणा गरेका छन्। 

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका छन्।

त्यसैगरी कांग्रेस र प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दले समेत राहत र उद्दारमा खटिन नेता कार्यकर्तालाई आह्वान गरेका छन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell