PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बल्लबल्ल बन्यो, अब भत्काउनुपर्ने भो! पप्पुको पुल गाडी गुडाउनै नहुने



दिनेश खड्का

बल्लबल्ल बन्यो, अब भत्काउनुपर्ने भो! पप्पुको पुल गाडी गुडाउनै नहुने

 

काठमाडौं : पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको टेकु-कालीमाटी पुल भत्काउनुपर्ने भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताए।

गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएपछि रोक्न निर्देशन दिँदा पनि प्राविधिक नै नराखी ढलान गरेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले  बताए।

'हामीले पुल निर्माण रोक्न लिखित रुपमा निर्देशन दिएका थियौं। तर, उहाँहरुले त्यो निर्देशनलाई लत्याएर रातारात सरकारी प्राविधिक समेत नराखी पुल ढलान गर्नुभयो,' महासेठले भने, 'सिस्टम अनुसार ढलान गर्नुभन्दा अघि हाम्रा प्राविधिकलाई राखेर काम गर्नुपर्छ।'

पुल भत्काएर सोही कम्पनीले निर्माण गर्ने बताउँदै त्यसका लागि कानुनी प्रकृया समेत अघि बढाएको उनले बताए।

निर्माण सम्पन्न भए पनि ६२ मिटर लामो पुल प्राविधिक हिसाबले अत्यन्तै कमजोर पाइएकाले सरकारले नै संचालनमा रोक लगाएको छ। बनिसकेको पुलबाट गाडी गुडाउन निषेध गरिएको हो।

पुल गतिलो नभएपछि सडक विभागले महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई जतिसुकै बेला भत्कन सक्ने भन्दै संचालनमा रोक लगाउन पत्राचार गरेको थियो। एसियाली विकास बैक (एडिबी) को २० करोड १३ लाख ऋण सहयोगमा पुल निर्माण गरिएको हो। २०७४ मंसिरमा सम्पन्न गर्ने गरी २०७१ सालमा पप्पु कन्स्ट्रक्सनसँग पुल निर्माण सम्झौता भएको थियो। तर, कम्पनीले एक वर्ष ढिला गरी काम सकेको थियो।

सडक विभागले पुल निर्माण रोक्न जारी गरेको सूचना



पुलमा न्यून गुणस्तरका तार, डण्डी प्रयोग गरेका कारण संचालनमा ल्याउन नसकिने सडक विभागका अधिकारीहरुको भनाइ छ। त्यस्तै पप्पुले नै निर्माण गरिरहेको आर्क ब्रिजमा समेत प्राविधिक गल्ती भेटिएको मन्त्री महासेठले जानकारी दिए।

'तीनकुने पुलमा जुन गल्ती भएको छ, हाम्रा प्राविधिकले गरेका होइनन्। हामीले सच्चाउनुपर्छ भन्दा पनि निर्माण कम्पनीले मानेन्,' उनले भने।

तीनकुनेस्थित वाग्मती नदीमा २०७१ सालबाट पुल निर्माण सुरु गरिएको हो। गत वर्ष नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सडक विभागले अनुगमनका क्रममा प्राविधिक त्रुटि भेटाएपछि निर्माणमा रोक लगाएको हो। पुल जग आवश्यक गहिराइसम्म नपुर्‍याइ स्ट्रक्चर उठाएको पाइएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पुलको जगमै समस्या भेटेपछि रोक्न निर्देशन दिए पनि जबरजस्ती पुल निर्माण गरिरहेको थियो।

विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले पुल निर्माण रोक्न निर्देशनपछि काम रोकिएको बताए। काम रोकिएसँगै पुल्चोक इन्जिनियरिङ कलेजमार्फत् प्राविधिक अध्ययन भइरहेको छ। मन्त्री महासेठले कन्ट्र्याक्टरले सरकारको अर्बौ रुपैयाँ लिएर अरु ठाउँमा लगानी गरेको भन्दै रोक्नका लागि काम भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell