PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बोआओ फोरमका किन सहभागी भएन नेपाल?



विधुर ढकाल

बोआओ फोरमका किन सहभागी भएन नेपाल?

काठमाडौं : चीनले वार्षिक रुपमा आयोजना गर्दै आएको बोआओ फोरममा यस वर्ष पनि नेपाल सहभागी भएन। 

फोरमको स्थापनादेखि नै सरकारी स्तरबाट सहभागीता जनाउँदै आएको नेपाल गत वर्ष पनि सहभागी भएको थिएन। हरेक वर्ष नेपाललाई निम्तो दिँदै आएको बोआओ फोरमले यस वर्ष भने नेपाललाई आधिकारिक रुपमा निम्तो नै पठाएन। 

परराष्ट्र स्रोतका अनुसार यस पटक फोरममा सहभागीताका लागि नेपाललाई निम्तो आएन। गत वर्ष चीनले फोरममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहभागीता गराउन चाहेको थियो। तर, प्रधानमन्त्री ओली सोही समय भारतको भ्रमणमा निस्किए। त्यपछि फोरममा नेपालको सहभागीता शून्य भएको थियो।

‘यसपटक हामीलाई निम्तो आएन। हामीले यस विषयमा कुनै जानकारी नै पाएनौँ,’ परराष्ट्र स्रोतले भन्यो। 

नेपालले यही समयमा लगानी सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि नेपाल निम्त्याइएको छ। तर, छिमेकमा आयोजना भएको विश्वका राजनीतिक तथा आर्थिक नेताहरुको सम्मेलनमा नेपालको सहभागीता भने हुन सकेन। 

आजदेखि चीनको हैनान प्रान्तको बोआओमा सुरु भएको फोरमको उद्घाटन सत्रको कार्यक्रम बिहीवार हुँदै छ। उद्घाटनसत्रमा चीनको राज्य परिषदका प्रधानमन्त्री लि खछ्याङले विशेष मन्तव्य दिने कार्यक्रम रहेको छ। 

‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सहित समृद्धिको यात्रामा नेपाल हिँडिरहेको प्रधानमन्त्री ओलीले दाबी गर्दै आएका छन्। नेपालको उत्तरी छिमेकी तथा ठूलो विकास साझेदार चीनबाट ठूलो लगानी आउने अपेक्षा गरिएको छ। यद्यपि, एसियाका लागि बोआओ फोरम जस्तो आर्थिक मञ्चमा आयोजकले नेपाललाई बोलाएन। 

गत डिसेम्बरमा परराष्ट्र सचिव शंकरदास बैरागीको चीन भ्रमणका क्रममा बोआओ फोरमका नेपालको उच्चस्तरीय सहभागीताका विषयमा छलफल भएको बताइएको थियो। 

वैरागीले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगसमेत छलफल गरेका थिए। 

सम्मेलन आयोजकले सार्वजनिक गरेको डेलिगेट सूचीमा ६९ चिनियाँ तथा विदेशी सरकारी अधिकारीहरु, ३१ जना राजनीतिक नेतृत्व तथा मन्त्रीहरु फोरमका साझेदार संस्थाहरुका ३० प्रतिनिधिहरु सहभागी हुँदैछन्। त्यस्तै फोरमका ९९ सदस्य तथा पदाधिकारीहरु आर्थिक क्षेत्रका ७६ नेताहरु ४७ विज्ञहरु ४८ मिडिया डेलिगेट्सहरु सहभागी हुँदैछन्।   

सम्मेलन डेलिगेटको सूचीमा नेपालका तर्फबाट नेपाल टेलिभिजनका कार्यवहाक व्यवस्थापक नवराज नेपालीको नाम समावेश छ। 

यस अघि २०१७ को सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष वक्ताका रूपमा निम्ताइएको थिए। त्यस्तै सन् २०१६ मा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका थिए। 

त्यस्तै, सन् २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव अतिथिका रूपमा सहभागी भएका थिए। 

२०१८ मा सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागीताका लागि चासो राखेका थिए। तर, भारतले प्रधानमन्त्री ओलीलाई चीनले निम्तो दिएकै समयमा आफ्नो देशको भ्रमणमा बोलायो। प्रधानमन्त्री ओली चीन छाडेर दिल्ली गए। उनी दिल्ली गएसँगै बोआओ फोरममा नेपालको सहभागिता शून्य भएको थियो। 

बीआरआई सम्मेलनमा सहभागी हुने तयारी
यसैबीच चीनले अर्को महिना दोस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) समिटको आयोजना गर्दै छ। अप्रिल २६ र २७ मा आयोजना हुने सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय भ्रमणको तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ। 

स्रोतका अनुसार समिटमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनसक्ने छिन्। 

भण्डारीको यो दोस्रो कार्यकाल हो। तर, उनी हालसम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा गएकी छैनन्। उपराष्ट्रपति नन्दबहादुर पुन भने पटकपटक चीनको भ्रमणमा गएका छन्। 

यो सम्मेलनमा बिआराआई सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी भइरहेको छ। जसमध्ये नेपालबाट पनि उच्चस्तरीय सहभागी हुनेछ। 

सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुग्दै छन्। त्यस्तै इटलीका प्रधानमन्त्री पनि सम्मेलनमा सहभागी हुने तयारी गरिरहेका छन्। चिनियाँ राष्ट्रपति सि जिङ पिङ यतिबेला युरोप भ्रमणमा छन्।  

सम्मेलनमा सहभागी हुन इथियोपियाका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्रीसमेत बेइजिङ पुग्नेछन्। त्यस्तै अन्य सहभागीहरुको सूची तयार हुँदै छ। 

चिनियाँ राष्ट्रपति सीले सन् २०१७ मै सम्मेलन २०१९ मा गर्ने घोषणा गरेका थिए।

सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell