PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइपीएलमा आज सन्दीपको दिल्ली र चेन्नाई भिड्दै



पहिलोपोस्ट

आइपीएलमा आज सन्दीपको दिल्ली र चेन्नाई भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आज एक मात्र खेल हुंदैछ।

जसमा पहिलो खेल जितेका चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दैछन्। दिल्लीमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि छन्।

मुम्बईलाई पहिलो खेलमा ३७ रनले पराजित गर्दा सन्दीपले खेल्न पाएका थिएनन्।

यस्तै साविक विजेता चेन्नाईले उद्घाटन खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको थियो।

यस सिजनको पाँचौ खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोत्लामा नेपाली समयअनुसार राती ८:१५ बजे सुरु हुँदैछ।

पहिलो खेलमा जित हात पारेका दुवै टोली त्यही लयलाई कायम राख्दै लगातार दोस्रो जित हात पार्ने योजनामा छन्।

महेन्द्र सिंह धोनीको चेन्नाईले पहिलो खेलमा विराट कोहलीको बैंगलोरलाई ७० रनमै अलआउट गरेको थियो। उता युवा खेलाडी रिसभ पन्तको विष्फोटक ब्याटिङमा दिल्लीले मुम्बई विरुद्ध पहिले ब्याटिङ गर्दै २१३ रन बनाएको थियो।

नेपाली खेलाडी सन्दीपसँगै भेट्रान स्पिनर अमित मिश्राले पहिलो खेल खेलेका थिएनन्। दिल्लीले आवश्यकता हेरेर अमितलाई चेन्नाई विरुद्ध खेलाउन सक्छ। त्यसो भएमा राहुल तेवाटिया पहिलो रोजाईमा नपर्न सक्छन्।

पहिलो रोजाईङ्गा ४ मात्र विदेशी खेलाडी राख्न पाउने भएकोले सन्दीप पहिलो खेलमा नपरेका हुन्। दिल्लीले मुम्बई विरुद्ध दक्षिण अफ्रिकाका कोलिन इनग्राम र कगिसो रवाडा, न्यूजिल्यान्डका ट्रेन्ट बोल्ट र वेष्ट इन्डिजका किमो पललाई खेलाएका थिए। किमो यही खेलबाट आइपीएलमा डेब्यु गरेका हुन्।

दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस पनि दिल्ली पुगिसकेका कारण किमो पलको स्थानमा खेल्न सक्ने सम्भावना पनि छ। दिल्लीले पहिलो रोजाईमा दुई विदेशी फास्ट बलर बोल्ठ र रवाडालाई एकै पटक खेलाएको छ।

हेड टु हेडमा भने चेन्नाई दिल्ली भन्दा अघि छ। अहिलेसम्म भएको १८ मध्ये १२ खेल चेन्नाईले जित्दा दिल्लीले ६ खेल मात्र जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell