PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रवादी बन्न गाली गर्ने ओलीसँगै मधेशका नेता टाँसिएका छन्: रामचन्द्र पौडेल



राष्ट्रवादी बन्न गाली गर्ने ओलीसँगै मधेशका नेता टाँसिएका छन्: रामचन्द्र पौडेल

महोत्तरी: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशलाई सांस्कृतिक पहिचान आवश्यक भएको उल्लेख गर्दै भूगोलको कुरा भने मधेश विरोधी हुने बताएका छन्।

 

आज नेपाली कांग्रेस महोतरी क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले उक्त भनाई राखेका हुन्।

 

नेता पौडेलले लोकतन्त्र बलियो भएमा मधेश बलियो हुने र सांस्कृतिक पहिचान जोगिने तर्क गरे।  'लोकतन्त्र बलियो भएमात्र मधेशी जनता बलिया बन्छन्। जनता बलिया भएमात्रै मधेशका माग पूरा हुन्छन्,' पौडेलले भने, 'चुरेको दोहनले मधेशको विकास हुदैन। मधेशलाई सांस्कृतिक पहिचान चाहिएको छ। भौगोलिक रुपमा राजमार्ग भन्दा माथि एक इञ्च जमिन चाहिदैन भन्नेहरु मधेश विरोधी हुन्।'

 

उनले चुरेको दोहन तीव्र भएको भनाई दोहोर्‍याउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी सोचबारे समयले चाँडै बताउने दाबी गरे। भने, 'राष्ट्रवादी बन्नका लागि मधेशलाई गाली गर्ने केपी ओलीको राष्ट्रवादी सोच हो कि के हो समयले बताउनेछ।'

 

जनताको इच्छा अनुसार पार्टी नचलेकोले कांग्रेसले निर्वाचनमा हार व्यहोरेको पौडेलको भनाई थियो। त्यसैगरी उनले मधेशलाई गाली गर्ने मधेशका नेता अहिले ओलीसँगै टाँसिएको आरोप लगाए। 'नेपाली कांग्रेसले संविधान संशोधन गर्न खोज्दा तत्कालिन एमालेले विरोध गर्‍यो। हिजो केपी ओलीले हिजो मधेशका जनता र मधेशका नेतालाई के के भन्दै हिडेका थिए,' पौडेलले थपे, 'आज तीनै मधेशका नेताहरु केपी ओली नेतृत्वको सरकारमा किन टाँसिएका छन्। संविधान संशोधनको कुरा कहाँ हरायो? संविधान संशोधन छोडेर सत्तामा जानु भनेको सत्ताको भोगी हो कि होइन?'

 

कांग्रेसले २२ बुँदे संझौता गरेको उल्लेख गर्दै उनले उक्त सम्झौता मधेशविरोधी नरहेको स्पष्ट पारे। पौडेलले राष्ट्रलाई जनमत संग्रहमा लैजादा देश विरोधीहरु बलिया हुने तर्क पेश गर्दै विकासको कुरा गर्नुपर्ने बताए। भने, 'धार्मिक द्वन्द्व भयो भने देश सोमालिया हुन्छ।  लोकतन्त्रले नै देशको स्वाभिमान बलियो बनाउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell