PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एकातिर लगानी सम्मेलन, अर्कोतिर विप्लवको आन्दोलन: आउला त विदेशी लगानी?



विधुर ढकाल

एकातिर लगानी सम्मेलन, अर्कोतिर विप्लवको आन्दोलन: आउला त विदेशी लगानी?

काठमाडौं: सरकारले 'समृद्ध नेपाल सुखी नेपाली'को नाराका साथ देशमा लगानी भित्र्याउने तयारी गरिरहेको छ। यही चैत १५ र १६ गते काठमाडौंमा सरकारले लगानी सम्मेलनको आयोजना गर्दै छ। ७१ परियोजना तयार पारेर सम्मेलन गर्न लागेको सरकारले ती परियोजनाका लागि ३१ खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने योजना बनाएको छ।

नेपालमा लगानीको वातावरण भएको भनेर सरकारले विदेशी लगानीकर्तालाई नेपालमा निम्तो दिएको सरकारले यतिबेला विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि प्रतिबन्ध लगाएको छ।

विगत लामो समयदेखि प्रतिबन्धित नेकपाले विदेशी लगानी रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि आक्रमण गर्दै आएको थियो। त्यस्तै भारतीय लगानीमा बन्दै गरेको अरुण तेस्रोमाथि पनि यो समूहले हमला गर्दै आएको छ।

पछिल्लो समय प्रतिबन्धित नेकपाका मध्यकमाण्ड इञ्चार्जसहितका दुई दर्जन बढी नेता कार्यकर्ताहरु पक्राउ परेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार लगानी सम्मेलनलाई लक्षित गरी कुनै पनि अप्रिय हिंसात्मक गतिविधि नहुन भनेर प्रहरी प्रशासनलाई थप अलर्टमा राखिएको छ। 'यसैको सेरोफेरोमा नेकपा माथिको प्रतिबन्ध आएको हो,' स्रोतले भन्यो, 'अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालमा लगानीको वातावरण छ। हिंसात्मक गतिविधिहरु नियन्त्रण र लगानी सुरक्षा गर्न सरकार सक्रिय र सक्षम छ भनेर देखाउनका लागि पनि विप्लवसमूह माथि निगरानी बढाइएको हो।'

सोमबारमात्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकमा विप्लवका कुनै समयका सहयोद्धासमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई साक्षी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लवलाई समात्ने दाबी गरेका थिए।

‘विप्लव समूहका धेरै नेता कार्यकर्ताहरु नियन्त्रणमा आइसकेका छन्। चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा आउनेछ,’ उनले भनेका थिए, ‘हाम्रा कमरेडहरुको हत्याको प्रपञ्च रच्नेहरु त्यसै कहाँ घुम्न पाउँछन्,’ कमरेडहरु ढुक्क भए हुन्छ। विप्लवलाई नियन्त्रणमा ल्याएर सुधार गर्छौ।’

प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेको केही समयमा नै विप्लवको वक्तव्य आयो संघर्षको कार्यक्रम सहित। बुधवारदेखि २४ गतेसम्मको संघर्षको कार्यक्रम विप्लवले सार्वजनिक गरेका छन्।

यही बीचमा सरकारले काठमाडौंमा लगानी सम्मेलन गर्दै छ। जसअन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, १६ गते नेपाल बन्द, चैत १९ देशभर अन्तर्क्रिया, चैत २१ जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने कार्यक्रम राखेको छ।

लगानी सम्मेलन हुने दिन मशाल जुलुस र नेपाल बन्द जस्ता कार्यक्रम विप्लवले सार्वजनिक गरेका छन्। लगानी सम्मेलनमा सहभागी हुन आउनेहरुमा यसको प्रभाव पर्ने देखिन्छ।

लगानी सम्मेलनका लागि कर्णाली प्रदेशमा पाँच वटा ठूला परियोजनाको प्रस्ताव गरिएको छ। जाजरकोटमा ४१० मेगावाटको नलसिङघाट जलविद्युत परियोजना, डोल्पाको सेफोक्सुण्डोमा लक्जरी रिसोर्टमा लगानी गर्न लगानी बोर्डले प्रस्ताव गरेको छ। त्यस्तै निजी क्षेत्रबाट मुगुमा २६० मेगावाटको नामलान खोला जलविद्युत र डोल्पामा ५० मेगावाट क्षमताको ताराप खोला जलविद्युत परियोजनाका लागि लगानी प्रस्ताव गरिएको छ।

प्रतिबन्धित नेकपाको प्रभाव क्षेत्र रहेको कर्णालीका यी परियोजनामा लगानी जुट्ने सम्भावना कम देखिन्छ।

सोमबार विप्लवले जारी गरेको विज्ञप्तिमा सरकारले देशिभत्र द्वन्द्व लादेर विदेशी लगानी भित्राउने हल्ला चलाएको आरोपसमेत लगाइएको छ।

'सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ। यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।

विप्लवले विज्ञप्तिमा संघर्ष कुनै विदेशी प्रति नभइ सरकारको प्रतिरोधमा भएको स्पष्टसमेत पारेका छन्।

यता विप्लवका गतिविधिले विदेशी लगानीमा असर पर्ने पूर्वअर्थमन्त्री डा रामशरण महत बताउँछन्। 'सुरक्षा नभएपछि लगानीकर्ता आउँदैनन्। बम पड्काउने, आगो लगाउने, टावर जलाउने जस्ता कामहरुले लगानीलाई असर गर्छ,' उनले भने, 'सरकारले हो त्यस्ता गतिविधि चाहिँ रोक्नुपर्छ तर सफल हुन सकेको छैन।'

प्रतिबन्ध समस्याको समाधान नभएको भन्दै पूर्वमन्त्री महतले संगठन भन्दा पनि उसका गतिविधलाई नियन्त्रणमा लिनुपर्ने बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell