PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्णालीमा तेस्रो नदी शिखर सम्मेलन हुँदै, कर्णाली नदीको विशेष अध्ययन गरिने 

कर्णालीमा तेस्रो नदी शिखर सम्मेलन हुँदै, कर्णाली नदीको विशेष अध्ययन गरिने 

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेतः कर्णाली प्रदेशमा तेस्रो नदी शिखर सम्मेलन हुने भएको छ। दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा राष्ट्रिय नदी शिखर सम्मेलन हुने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए। 


कर्णालीमा नदीको क्षमता अध्ययन गरी नदी संरक्षण गर्ने उद्देश्यले नदी सम्मेलन आयोजना गर्न लागिएको उनले बताए। कर्णाली नदी ऊर्जा, कृषि र पर्यटनका लागि महत्वपूर्ण भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ।


राकम कर्णालीमा चैत १५ देखि तीन दिन चल्ने राष्ट्रिय नदी सम्मेलनमा करिव तीनसय बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञको सहभागिता रहने अध्यक्ष आलेले बताए। 


‘नदी सम्मेलनको चैत १४ गते वीरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुहुनेछ,’ उनले भने, ‘कार्यक्रम उद्घाटनपछि दैलेखको राकम कर्णालीतर्फ सबै टोली लाग्ने छ। सम्मेलन तीन दिन सम्म सञ्चालन हुने छ।’


सम्मेलनमा कर्णाली नदीको अवस्थाबारे विशेष अध्ययन, अनुसन्धानको रिपोर्ट तयार पारिएको उनले बताए। नदीको सम्भाव्यता अध्ययनपछिको प्रतिवेदन प्रस्तुत गर्ने बताए। प्रत्येक वर्ष नदी तटीय कटान हुनुका साथै नदीको संरक्षण गर्न आवश्यक रहेको र नदीबाट लिन सकिने फाइदाका विषयमा समेत छलफल हुने भएको छ।


‘कर्णाली नदीको अवस्थाबारे ४४ दिनसम्म गरिएको अध्ययन, अनुसन्धान पश्चात नदीको सम्भाव्यतामाथि विज्ञले प्रतिवेदन पेश गर्ने छन्,’ संस्थाका सदस्य भक्तबहादुर शाहीले भने, ‘उक्त प्रतिवेदन कर्णाली सरकारलाई समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।’
उक्त नदी सम्मेलनमा र्‍याफ्टिङ्को समेत व्यवस्था गरिएको उनको भनाई छ। सोही सम्मेलनमा सहभागीका लागि नदी तटको छेवैमा टेन्ट लगाएर बस्ने व्यवस्था मिलाइने जनाए। 


त्यस्तै, नदी सम्मेलनको पूर्वसन्ध्यामा आइतबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा फोटो प्रर्दशनी राखिएको छ। कर्णाली नदीको सुभारम्भ(चीनको तिव्वतदेखि) भारतको गंगासम्म खिचिएका फोटोहरु प्रर्दशनीमा राखिएको छ। नदीको ४४ दिनको यात्रामा फोटो पत्रकार नविन बराल र रमेश भुसालले खिचेका फोटा प्रदर्शनीमा राखिएको छ। आइतबार, सोमबार, मंगलवारसम्म चल्ने प्रदर्शनीको आयोजना नदी संरक्षण संस्थाले गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell