PahiloPost

Sep 19, 2019 | २ असोज २०७६

पढ्नकै लागि प्रेरणाका तीन पात्र र तिनका तीन कथाको नन्दी नाता

पढ्नकै लागि प्रेरणाका तीन पात्र र तिनका तीन कथाको नन्दी नाता

सागर बुढाथोकी/पहिलोपोस्ट


फागुन महिनाको मध्य दिउँसो। घाम चर्किरहेको छ। नक्सालस्थित भोजनालयमा ग्राहक भरिभराउ छन्। स्टाफ पनि उत्तिकै व्यस्त। ग्राहकको आउनेजाने क्रम जारी छ। त्यही भिडमा कसैको आवाज सुनिन्छ — 'सान् भाइ! ए सान् भाइ...

होटलको काउण्टरबाट आएको त्यही सम्बोधनमा थपिन्छ, 'टेबुल सफा गर गर...'

अन्दाज गर्न कठिन थिएन, काम गर्न निर्देशन दिने भोजनालयका सञ्चालक हुन्।

'साहुजी'को आवाज आउनासाथ एक किशोर टेबलमा पुग्छ। सफा गर्छ। अनि, खाना ल्याएर टेबलमा राखिदिँदै फेरि कतै लाग्छ। कतै मतलब आराम गर्न होइन। टेबुलमा खाना सर्भ गरेपछि उसले भ्याउनुपर्छ - भाडा धुने र फेरि टेबल पुछ्ने काम।

'सान् भाइ' अर्थात् दिनेश तामाङ। घर धादिङको गजुरी। उमेर भर्खर १५ वर्ष।

'सान् भाइ'लाई आमाले राखिदिएको नाम त 'दिनेश' हो। प्यारो पनि लाग्छ आफ्नो नाम। अरुले त्यही नामले बोलाइदिउन् भन्ने पनि चाहन्छन्। तर, यहाँ कसैले 'दिनेश' भन्दैन।

'सान् भाइ' भनी बोलाउँदा मन पटक्कै पर्दैन तै पनि मौन रहन्छन्। 'दिनेश भनेर बोलाउनुस्'भन्ने समेत हिम्मत आउँदैन उनमा।

विशेषगरी ट्याक्सी चालक ग्राहक रहेको यो भोजनालयमा भात पाक्छ। त्यसैले दिउँसो साढे तीन बजे नै बन्द पनि हुन्छ। बन्द हुनुअघि खाना खाएर होटलबाट निस्कन्छन् दिनेश।

त्यसै साँझ ७ बजे।

चलिरहेको सिरसिरे हावाले मौसम चिसो बनाउँदै छ। शहर क्रमश सुनसान हुँदै गर्दा यहाँ भने वेग्लै चहलपहल छ। यो ठाउँ हो नक्सालकै नन्दी रात्री मावि। विद्यार्थीको चहलपहलको आवाज बाहिर सडकसम्मै प्रष्ट सुनिएको छ।

रात्री स्कुलको ८ नम्बर कोठामा कक्षा ७ को पढाइ चलिरहेको छ। विद्यार्थी पढाइमा व्यस्त। शिक्षक अगाडि बसेर निर्देशन दिइरहेका छन्। दिउँसो भोजनालयमा भाडा माझ्दै र खाना सर्भ गर्न व्यस्त देखिएका दिनेश त्यही कक्षामा देखिए।

दिनभर काम गर्नु र साँझमा यही स्कुलमा पढ्नु उनको दैनिकी हो। उनले स्कुल नजिकै साथीहरुसँग मिलेर कोठा लिएका छन्। साथीहरुको कथा पनि उनको भन्दा फरक छैन।

त्यसो त दिनेशले गाउँमा छँदा पढाइमा मन लाउन सकेनन्। गाउँघरमा पढ्ने लेख्ने वातावरण पनि थिएन। नपढे पनि जिन्दगी चल्छ भन्ने लाग्थ्यो। चलिरहेको थियो पनि। कम उमेरकै भए पनि पैसा कमाउन भन्दै काठमाडौँ छिरे। यहाँ आएपछिको सबैभन्दा ठूलो ज्ञान पाए — नपढी त केही हुन्न रहेछ।

तर, पढ्नका लागि पैसा चाहियो। पैसाका लागि काम गर्नुको विकल्प थिएन। त्यसैले थाले कामको खोजी। केही समयमै भोजनालयमा काम पाए। उनका लागि काम पाउनुको मतलव थियो स्कुलमा भर्ना पाउनु।

अहिले हरेक दिन स्कुल जान्छन्। फुर्सद मिल्नासाथ पढ्न थाल्छन्। होमवर्क कहिल्यै छुटाउँदैनन्। साढे चार बजे स्कुल पुग्ने उनी डेरामा फर्किँदा रातको ९ बजिसक्छ। कोठामा खाना पकाउन नमिल्ने भएकाले राति भोकै सुत्छन्। भन्छन्, 'तीन बजे नै होटलमा खाना खाएर निस्कने हो राती खान्नौँ।'

कलिलो उमेर। होटलको काम। राती अबेरसम्मको क्लास, त्यसपछि भोकोपेट सुताई। कसरी पढ्न सकिएला? निद्रा आउला त?

दिनेश हाँस्दै भन्छन्, 'बानी भइसक्यो।'

उनलाई नपढ्दा जिन्दगी खत्तम हुन्छ भन्ने लागेको छ। जति दु:ख परे पनि पढ्न नछोड्ने प्रण गरेका छन्। सानातिना दु:खको वास्ता नलाग्ने सुनाउँछन्। जिन्दगीमा बाटो नबिराउने आफैसँग कसम खाएका छन्। हरेक परिस्थितिमा रमाउनसक्ने बानी बनाएका छन्। भन्छन्, 'जहाँ छु रमाएको छु। यहाँबाट उम्किन धेरै दु:ख गर्नुको विकल्प छैन।'

होटलमा काम गरेको महिनामा पाँच हजार हात पर्छ। त्यो पैसा आमालाई पठाउँछन्। आमालाई धेरै पैसा पठाउने सपना पूरा गर्न ट्याक्सी सिकौँ कि भन्ने सोच आएको सुनाए। तर, काम र पढाइको चेपुवाले त्यता समय दिन भ्याउँदैनन्। त्यसमाथि उनको उमेर र लाइसेन्स दुवैलाई साथ दिने बेला भएको छैन- ट्याक्सी चालक बन्न। घुम्न डुल्न मन लागे पनि जाँदैनन्। भन्छन्, 'घुम्न गयो भने आफ्नै पैसा खर्च हुन्छ, के जानु?'

अहिले पैसा, पढाई र परिवारबाहेक उनको जिन्दगीमा अर्को प्राथमिकता छैन।

त्यसै दिन राति ९ बजे। नक्साल भगवती मन्दिरबाट ५ मिनेट पूर्वतिरको गल्लीमा हिँडेपछि पुगिन्छ एउटा पुरानो माटोको घर। दिनेश त्यही घरको दोस्रो तल्लामा साथीसँग बस्छन्। सबै साथीहरु राति अबेर पुग्ने र बिहान ६ नबज्दै बाहिरिने भएकाले कोठा भद्रगोल छ।

कोठामा दुईवटा खाट छन्। खज्मजिएको ओछ्यानमा लगाउने कपडा र भुईँमा जुत्ता, चप्पल छरपस्ट। कार्पेट नबिछ्याएको भुँइमा बग्रेल्ती फोहोर छ। सानो बाँसको र्‍याकमा केही थान किताबहरु राखिएको छ। भित्तामा डोरी टाँगेर लुगाहरु झुण्ड्याइएको छ। विभिन्न पुरस्कार जितेका मेडल तथा प्रमाणपत्रदेखि ब्रुस्लीबारे लेखिएका पत्रिकाको कटिङ भित्तामा टाँसिएको छ।

उनीसँगै होटलमा काम गर्ने साथी नवराज ब्रुस्लीको फ्यान रहेछन्। नवराजले नै ब्रुस्लीको तस्बिर कटिङ गरेर भित्तामा टाँसेका रहेछन्। मेडल तथा प्रमाणपत्र बर्दियाका लक्ष्मणको हो। उनी पनि दिनेशसँगै पढ्छन्, एउटै होटलमा काम गर्छन्।

दिनेश लजाउँदै भन्छन्, 'यस्तै छ केटाहरु बस्ने कोठा।'

उनीहरु एकघण्टा जति पढ्छन्। स्कुलले दिएको होमवर्क सकाउँछन्। र, साढे १० बज्न लागेपछि सुत्ने तरखरमा लाग्छन्।

***

त्यसको भोलिपल्ट। राति आठ बजे। नन्दीरात्री स्कुल। शिक्षकहरु पढाइरहेका छन्।

प्रधानाध्यापक मोहनराज शर्मा निरीक्षणका लागि यता उता गरिरहेका देखिन्छन्।

'पढ्नकै लागि दु:ख गर्नेहरु आउँछन्, उनीहरुको भविष्यको लागि केही त गर्नै पर्‍यो नि!,' भन्दै उनी नियमित काममा लाग्छन्।

रातमा पढाइ हुने उपत्यकाको एकमात्र स्कुल हो यो। पढाउने समयबाहेक यस स्कुलको अरु विशेषता भेटिन्न। अरु स्कुलभन्दा फरक केही छ भने यहाँ पढ्न आउने विद्यार्थी नै हुन्।

यहाँ होटलमा काम गर्ने मजदुरदेखि, गृहिणी र सरकारी कर्मचारीसम्म आउँछन्। कलाकार हरिवंश आचार्य हुन् या नेता रामचन्द्र पौडेल। चर्चित कम्युनिस्ट नेता चित्रबहादुर केसी नै किन नहुन्। स्कुलले आफ्ना सफल विद्यार्थीको सूचीमा गर्वका साथ नाम लिनुपर्दा यस्तै व्यक्तिहरु चिनाउने गर्छ।

यही दिन कोठा नम्बर ९ मा कक्षा ८ को पढाइ जारी थियो। एक विद्यार्थी उभिएर किताब हेर्दै भन्दै थिए, 'दूध जमाएको ठेकीमा हालेर, घुमाउँदै मोही र नौनी निकाल्ने वस्तुलाई 'मदानी' भनिन्छ..।'

अन्य विद्यार्थी किताब हेर्दै ध्यानपूर्वक सुनिरहेका थिए।

त्यहाँ पूर्व व्यावसायिक शिक्षा विषय पढाइ भइरहेको थियो। १२ देखि १५ वर्षका मात्र होइन चालीस र कोही कोही त ५० कटेका विद्यार्थी पनि यहीँ थिए। किशोरीदेखि अधवैंशे महिलाहरु पनि चाखपूर्वक पढिरहेका थिए यहाँ।

उभिएर पढिरहेका थिए, सागर राई। सागर दिनेशका 'रुम पार्टनर' पनि हुन्।

सागर १६ वर्षका हुन्। घर उदयपुर।

चार वर्षअघि गाउँकै स्कुलमा पढ्दै थिए, उनी। पढाइ राम्रो थियो, सपना ठूलो तर घरको वातावरण भने भद्रगोल। बाउले रक्सी खाएर आमालाई पिट्थे। घरमा दिनहुँ रुवाबासी। भाइ बहिनीको बेहाल हेर्नुबाहेक उनीसँग विकल्प थिएन। घरको वातावरणले सानैदेखि विरक्त्याएको थियो।

उनलाई त्यतिबेला लाग्यो— 'पैसा भएपछि सब ठीक हुन्छ। बाउले आमालाई कुट्दैनन्।'

अनि काकासँग काठमाडौँ हानिए।

काठमाडौँ आउनासाथ पढाइ छुट्यो। होटलमा भाडा माझ्न थाले। साहुको गाली र कम तलब। काठमाडौंमा झन् विरक्तिए। कहाँ जाउँ के गरौँ हुन्थ्यो। फर्की जाउँ भने घरको अवस्था सुध्रिएको थिएन। मानसिक रोगी बाउ रोग र रक्सीले झनै विक्षिप्त भइसकेका।

केही उपाय भएन। जसोतसो भाँडा माझिरहेका थिए। एक वर्षपछि नयाँ ठाउँमा काम गर्न जाने भए। काम फेरिएन। पारिश्रमिक केही थपियो। जमलको दूध सागर नयाँ मुकाम बन्यो कामको।

भाँडा मस्काउँदा मस्काउँदै गर्दा उनलाई महसुस भयो— 'पैसा कमाउन त पढ्नै पर्ने रहेछ। नपढी त केही नहुने रहेछ।'

त्यता भन्दा यताको साहु अली ठीक थियो। आग्रह गरे— 'साहुजी नपढे त जिन्दगी गोलमाल हुनेरै'छ। पढ्नुपर्‍यो। स्कुल जानुपर्‍यो।'

दूध सागरका साहुले 'हुन्न्' भनेनन्। उनी नन्दीरात्री स्कुलमा भर्ना भए।

स्कुल जान थालेको २ वर्ष भयो। अहिले कक्षा ८ मा पढ्दैछन्। काम गर्ने ठाउँमा पनि 'कुक' भइसकेका छन्। काम गर्दै पढ्नु पर्ने भएकाले पैहिलेजस्तो दिमागले 'ट्याप्पै' टिप्दैन। तर पनि पढ्न मन नलाग्ने हुन्न। अल्छी नलाग्ने सुनाए। बिहान सबैरै उठेर एक घण्टा पढ्छन। ८ नबज्दै होटल पुग्छन्। दिउँसोको साढे चार बज्दा साइकल चढेर स्कुल आइसक्छन्।

स्कुल सकिएपछि कहिले होटलमा जान्छन् त कहिले कोठा। होटल पुगेको दिन राति खान्छन् नत्र भोकै।

***

जमलस्थित दूध सागर मिठाइ घरमा यतिखेर दिनको ३ बजेको छ। नास्ता गर्न आएका ग्राहक खचाखच छन्।

'सागर भाइ, ५ नम्बर टेबलमा डोसा। ३ नम्बर क्याबिनमा छोला भटौरा...।'

वेटरहरु किचेनमा अर्डर टिपाउँदै छन्।

भित्र किचेनमा चार जना कुक व्यस्त छन्। तीमध्ये रातो टिसर्ट लगाएका सागर डोसा बनाउँदैछन्। साउथ इण्डियन फुड बनाउन जान्ने नेपाली कुकमध्येका उनी पनि एक हुन्।

अन्य कुक भन्दा सागरले छिट्टै प्रगति गरेको दूध सागरका म्यानेजर लक्ष्मण अधिकारी सुनाउँछन्। भन्छन्, 'पैला इण्डियन कुक भएन भने होटल बन्द गर्नुपर्थ्यो अहिले सबै सागरले धानेको छ।'

सागर व्यस्तताकै बीच फुर्सद निकालेर गफिन्छन्।

उनले गाउँबाट आमालाई यतै ल्याएर गलैचा फ्याक्ट्रीमा काम लगाएका छन्। बुबा असनतिरको होटलमा काम गर्छन्। बुबाको तलब पनि सागरकै हातमा पर्छ। बुबाले पैसा माग्दा कहिलेकाही दिन्छन्। कहिलेकाही 'रक्सी खान किन चाहियो?' भनेर पठाउँछन्।

भाइ पनि उनीसँगै होटलमा काम गर्छ। दरबार हाइस्कुलमा पढ्छ। दुवैजनाको एकमुष्ट तलब १५ हजार। खर्च कटाएर बचेको रकम सहकारीमा जम्मा गरेका छन्। स्कुलको पढाइ सकेपछि यस्तै होटल खोल्ने सोच छ। भन्छन्, 'व्यापार गरेरै भाइ र बहिनीलाई उनीहरुले चाहे जति पढाउँछु।'

आफ्नै उमेरका केटाहरु बरालिएर हिँडेको देख्दा उनलाई अनौठो लाग्छ। जाँड रक्सी खाएको देख्दा नराम्रो लाग्छ। अनि मनमनै भन्छन्, 'यी मोराहरुले भविष्य कसरी बनाउलान्?'

अर्को दिन फेरि नन्दी रात्री स्कुल। ७ बजेको छ। कक्षा ७ को ह्वाइट बोर्ड अगाडि एउटी किशोरी नेपालीको रीस र राक्षस पाठ पढिरहेकी छिन् (आवरण फोटो हेर्नुस्)। उनले पढेको अन्य विद्यार्थी चाख मानेर सुनिरहेका छन्।

त्यतिकैमा टिफिनको घण्टी लाग्छ। उनी आफ्नो कथा सुनाउन तयार हुन्छिन्। दार्चुलाकी ममिता धामी हुन् उनी। १४ वर्ष उमेर।

उनी सानै छँदा बुबाआमा छुट्टिए। आमाले माइतीको सहारा लिइन। मावलीले उनको चार जनाको परिवारलाई पाल्न सकेन। ममितालाई एकजना चिनजानकै मान्छेको साथ लगाएर काठमाडौं पठाइदिए।

दार्चुलाबाट काठमाडौं छिर्दा उनी प्रस्ट बोल्न जान्दैन थिइन्। सुदूर पश्चिमेली लयमा 'आया हुन्.. गया हुन्..' भन्दा सबैले अचम्म मान्थे। घरमै काम गर्दा पनि अफ्ठ्यारो हुन्थ्यो।

चार वर्षदेखि उनी लाजिम्पाटको एउटा घरमा घरायसी काम गर्छिन्। स्कुल आउन थालेको भने दुई वर्ष भयो।

अहिले उनी बिहान उठ्नासाथ दुई बच्चाको स्याहारमा व्यस्त हुन्छिन्। पकाउने, खुवाउने र बच्चा तयार बनाएर स्कुल पुर्‍याउँदा बिहान बित्छ। खाना पकाउने, भाँडा तथा लुगा धुँदा दिन बित्छ। चार बजे घरको सबै काम सकाएर स्कुल पुग्छिन्।

सानैमा बुबाआमाको मायाबाट बञ्चित भएकी उनले दुई बच्चा स्याहार्नु पर्छ। त्यहाँका बच्चाहरुले पाएको सेवा सुविधा देख्दा छक्क पर्छिन्। अनि मनमनै आफैँलाई भन्छिन्, 'मेरो नि परिवार राम्रो भइदिएको भए?'

उनलाई पनि आमाको काखमा लुटुपुटु गर्न मन लाग्छ। आमाले पकाएको खान मन लाग्छ। परिवारसँग घुम्न मन लाग्छ। तर, आमासँग बस्दा आमाले धेरै झन् दु:ख पाउने थाहा छ। यसरी बस्नुको बिकल्प नभएको बुझिसकेकी छिन्। त्यसैले फोनमा कुरा गरेर चित्त बुझाउँछिन्। भन्छिन्, 'धेरै पढेपछि आमालाई सुख दिन्छु।'

मावलामा हुर्किएकी उनलाई बुबाबारे थाहा छैन। आमालाई सोध्दा यत्ति मात्रै भन्छिन्, 'तेरो बाउले गर्दा कुक्कुरले नपा'को दु:ख पाइयो। हाम्रो भाग्य नै यस्तो रै'छ!'

आमाले यसो भन्दा सानो छँदाका कुरा स्मृतिमा आउँछ। मावलका छरछिमेकले लगाएका बचनहरु याद आउँछ। आमाका संघर्ष याद आउँछ। अनि आफैसँग प्रण गर्छिन्— 'जसरी भए पनि धेरै पढ्छु।'

उनलाई लाग्छ — आमा बुबाले पढेको भए अहिले दु:ख हुँदैनथ्यो। परिवार छुट्टिँदैन थियो। एउटा परिवार तीन टुक्रा भएर बस्नु पर्दैन थियो। कलिलो उमेरमै अरुको बच्चाको आमा हुनु पर्दैनथ्यो।

जे नहुनु थियो, भइ त गयो।

'म अहिलेको जतिमात्र पढेको भए पनि ममीलाई अन्याय हुन दिन्नथेँ। बुबालाई सम्झाउँथे। त्यति बेला सानै थिएँ, के भयो थाहा भएन,' सानै उमेरमा व्यवहारिक बोली सुनाइन्, 'शिक्षाको कमीले पनि मान्छेहरुको जिन्दगी तहसनहस हुने रहेछ।'

टिफिन टाइम सकिएको जनाउ घण्टी लाग्छ। त्यतिन्जेल ममिताले आफ्नो कथा सुनाइसक्छिन्। 'जान्छू है भन्दै' हतारिँदै कक्षा कोठामा छिर्छिन्।

सधै झै रातको ९ बजे स्कुल छुट्टी हुन्छ। ममिता कक्षाबाट निस्किन्छिन्।

को सँग जाने?

'त्यहीँ लाजिम्पाट त हो, एक्लै जान्छु। त्यता जाने कोही साथी छैनन्।'

डर लाग्दैन?

'पहिले पहिले त लाग्थ्यो। अब त बानी भइसक्यो। पढ्नलाई अध्याँरोदेखि डरायो भने जिन्दगी नै अध्याँरो हुने रहेछ।'

अनि यति राति हिँड्दा कसैले पछ्याउँदैनन्/ जिस्क्याउँदैन?

'एकपटक पछ्याएका थिए। म छिटोछिटो भागेँ। त्यसपछि त्यस्तो छैन।'

उनी यति भन्दै त्यहाँबाट बिस्तारै बिस्तारै ओझेल भइन्।

सम्बन्धित समाचार :

एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु।

१२ वर्षे गंगाकी छोरी देखेपछि मिलेको सन्तुष्टि : डाक्टरकै भाषामा भयो - मेडिकल मिराकल

रेस्लिङ रिङमा युवतीहरु, भन्छन् : अपना टाइम आएगा...

राजा समेत जान डराउने बुङमतीको 'अन्तिम कुमारी' कृपा : संस्कृति र संघर्षको चेपुवामा बज्राचार्य परिवार

फेरि ती दिन सम्झन चाहन्न …!

सर्कसको सकस : ‘जिन्दगी त त्यसै गइगो’

एसिडले डढाएको संगीताको सपना

एसिडले जोडेको नाता, उस्तै उस्तै व्यथा : छोरी बितेको दुई महिनामै धनमाया उडिन् मलेसिया

सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा



ट्रेन्डिङ पोस्ट