PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई?



सागर बुढाथोकी

पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'की पत्नी सीता यतिबेला अमेरिकामा उपचाररत छिन्। पत्नीको उपचारको लागि प्रचण्ड पनि उतै छन्। नेपाल तथा सिंगापुरको अस्पतालमा उपचार गराएर समेत सीताको स्वास्थ्यमा सुधार नआएपछि प्रचण्ड अमेरिका पुगेका हुन्।

सुगर तथा अन्य दीर्घ रोगहरुले थलिएकी सीताले लामो समयदेखि औषधि खाइरहेकी छिन्। तर, यसरी समाचार नै बन्ने गरेर बिरामी भएको भने एक वर्ष मात्रै भएको छ।

एक वर्षअघि 'प्रचण्ड' पत्नी सीतालाई लिएर सिंगापुर प्रस्थान गरे। सिंगापुर पुग्नअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआइपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्विर सार्वजनिक भयो। छेउमा बसेका प्रचण्ड निराश देखिन्थे। सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबरहरू त्यतिबेलै बाहिरिएको थियो। सिंगापुर पुगेपछि उतैबाट सीताले पानीमा डुबुल्की मारिरहेको तस्विर सार्वजनिक भयो। केही दिनपछि उनीहरू उपचार सकेर नेपाल फर्के।

त्यसअघि सीताको गम्भीर स्वास्थ्य अवस्थाको बारेमा खबर सार्वजानिक भएको थिएन। तर, विमानस्थलको फोटो र सिंगापुरको उपचारपछि उनी गम्भीर बिरामी भएको अड्कल काटियो। सिंगापुरका डाक्टरहरुले पनि सीतालाई पार्किन्सनको लक्षण देखिएको बताएका थिए। ६ महिनाअघि (गत कात्तिकमा) प्रचण्ड सीतालाई लिएर तातोपानीको कुण्डमा नुहाउन म्याग्दी पुगे। त्यहाँबाट पनि तातोपानीमा डुबुल्की मारेको तस्विर सार्वजानिक भयो। त्यसपछि सीताको स्वास्थ्य अवस्थाको फेरि बारेमा चर्चा भयो।
 
दुई महिनाअघि पनि सीता बिरामी भइन्। उनलाई धापाखेलस्थित सुमेरु अस्पतालको आइसियुमा एक सातासम्म राखियो। विभिन्न रोगहरुको कारण उनको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएर थला परेको उनका निजी चिकित्सक डा युवराज शर्माले बताएका थिए। उनी त्यतिबेला भाइरल ज्वरोकै कारण आइसियुमा राख्नुपर्ने अवस्था पुगेकी थिइन्। 

पार्किन्सनको लक्षण कि पार्किन्सनले च्यापेको?

पार्किन्सन मस्तिष्कमा रहेको नसा सम्बन्धी रोग हो। चिकित्सकहरुका अनुसार यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ। औषधिको असर, मस्तिष्कमा चोटपटक र अन्य दीर्घ रोगका कारण पनि पार्किन्सन हुन सक्छ। यो रोगले बिरामीको गति सुस्त बनाउँछ। हातखुट्टा काँप्ने हुँदा हिँड्दा हिँड्दै लड्ने सम्भावना पनि हुन्छ। 

गत आइतबार अमेरिका उड्नुअघि दाहालको आधिकारिक फेसबुक र ट्वीटर अकाउन्टमा पत्नी सीताको जोन हप्किन्स् अस्पतालमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार गरिने लेखियो।

के हो त प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी)?
विश्व चर्चित स्वास्थ्य साइट वेभमेडको अनुसार पीएसपी विश्वकै अत्यतन्तै दुर्लभ रोग हो। यो रोग अत्यन्तै कम मानिसहरुलाई देखिन्छ। यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्स नै भने होइन।

पिएसपीले मानिसहरुलाई हिँड्न गाह्हो बनाउने, निद्रा नलगाउने र मष्तिष्कमा सर्कुलर भएको रगत बन्द गराउने समेत गर्छ। वेभमेडका अनुसार यो रोग लागेपछि बानी ब्यहोरा परिवर्तन हुनेदेखि साथीभाइ तथा परिवारबाट टाढा बस्ने बानी लाग्छ।

अमेरिकाको न्याशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआईएनडीएस) का अनुसार, पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गतिदेखि व्याक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ। 

मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ। 

के यसले मानसिक रुपमा प्रभाव पार्छ?

वेभमेडका अनुसार यो रोग लागेका मानिसहरु मानसिक रुपमा प्रभावित हुन्छन्। रोगकै कारणले उनीहरुले आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ। उनीहरुले के बोलिरहेको भन्ने उनीहरुलाई नै थाहा हुन्न। यस्तो रोग लागेको बिरामीलाई एक्लै छोड्नु हुन्न।

उपचार के त?
यो रोग लागेपछि पूरै निको हुने उपचार पद्दति र औषधि बनिसकेको छैन। यो रोगले निम्त्याउने समस्याहरू भने व्यवस्थापन गर्न सकिन्छ।

चिकित्सकहरुले पीएसपीको लागि 'सिनमेट'(sinmet) भन्ने औषधि सिफारिस गरेका छन्। सिनमेटमा 'लेभोडोपा' नामक 'डोपोमाइन' हुनाले हात खुट्टा बाउँडिने समस्यालाई कम गर्छ। त्यस्तै 'एण्टिडिप्रेसान्ट' स्लिपिङ पिल्सले बिरामीलाई निदाउन तथा दुखाई कम गर्न मद्दत गर्छ।

वेभमेड लेख्छ– 'यी औषधिले रोग निर्मुल पार्ने होइन समस्याहरु तत्काललाई समाधान गर्ने मात्र हो।'

दीर्घकालीन खतरा के?
एनआइएनडीएसका अनुसार पीएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित छन्। यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ। सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरूमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ।

यो रोगले सुरुवाती चरणमा शरीरको चाल बिगारिदिन्छ। त्यसपछि विस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ। रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, अवसाद, उदासी बढ्ने र कुनै कुरामा पनि रुचि नहुने हुन्छ। 

रोगले च्याप्दै लग्दा ठोस बस्तु निल्न गाह्रो हुने, अनुहारमा एकै प्रकारको भाव रहने र, बढ्दो उमेरसँगै अल्जाइमर्स र पार्किन्सन्स्का जस्ता समस्या समेत आउने वेभमेडले लेखेको छ।

तातोपानीमा डुबुल्की मारेर के हुन्छ ?
सिंगापुरमा उपचार गराउँदा होस या बेनी जाँदा प्रचण्ड पत्नी सिता तातो पानीमा नुहाइरहेको तस्विर सार्वजानिक भएका थिए। तातो पानीमा नुहाउँदा उनको रोग कम हुन्छ त?
चिकित्सकहरूका अनुसार पानीमा डुबुल्की मारेर गरिने उपचार पद्धतिलाई 'हाइड्रोथेरापी' पद्धति भनिन्छ। हाइड्रोथेरापी उपचार पद्धतिले हाडजोर्नी र नशा बाहेक अन्य रोगहरूको उपचारमा समेत प्रभावकारी हुन्छ।

फिजियाट्री मेडिसिन विशेषज्ञ डाक्टर राजु ढकाल हाइड्रोथेरापी पद्धतिको उपचार विभिन्न अवस्थामा गर्न सकिने बताउँछन्। उनका अनुसार हाइड्रोथेरापी उपचार पद्धतिमा औषधि प्रयोग हुन्न। यो उपचार पद्धतिबाट शरीरको कडापन कम हुन्छ। दुखाई कम हुने सम्भावना बढ्छ।

डा. ढकाल भन्छन्, 'नशाको रोग मात्रै हैन अनिद्रा, तनाव र मानसिक रोगीहरूलाई पनि 'रिल्याक्स' फिल गराउनको लागि हाइड्रोथेरापी पद्धतिबाट उपचार गरिन्छ।'

हाइड्रोथेरापी उपचार पद्धतिले सबैलाई फाइदा गर्छ भन्ने हुन्न। रोग निर्मूल गर्नको लागि यो उपचार पद्धति मात्रै प्रभावकारी हुन्न। यो पद्धतिले तनाव र दुखाई कम गराई केही समय 'रिल्याक्स' फिल गराउँछ। उनी भन्छन्, 'यसले दुखाई कम गराउने र रिल्याक्स फिल गराउने मात्रै हो।'
 
'हाइड्रोथेरापी' उपचार पद्धतिले सामान्य मानिसलाई पनि 'साइडइफेक्ट' गर्दैन। ब्लड सर्कुलेशन र ब्लडको क्वालिटी राम्रो बनाउन यो थेरापी प्रभावकारी हुन्छ। यसले शरीरका अनावश्यक विकारका पदार्थहरू निष्कासन समेत गर्छ। शरीरका कोषहरुमा पोषण भर्नु पनि यो थेरापीको गुण हो।  उनले भने, 'शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने साइड इफेक्टलाई पनि हाइड्रोथेरापीलेले कन्ट्रोल गर्छ।'

विभिन्न अध्ययनहरुले हाइड्रोरोथेरापीले जोर्नी र नसाहरू जाम र कडापन भएको अवस्थामा राम्रो रिजल्ट दिने निष्कर्ष निकालेको छ। त्यसैलेपनि प्रचण्ड पत्नी सीताको यो पद्दतीले उपचार गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell