PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तीन हजारका लागि पुन्टु र आउजीले यसरी गरे ४५ वर्षे भण्डारीको हत्या 



एम बम

तीन हजारका लागि पुन्टु र आउजीले यसरी गरे ४५ वर्षे भण्डारीको हत्या 

कैलालीः चैत १ गते आफन्तलाई भेटेर बैतडीको दशरथ चन्द नगरपालिका २ का ४५ वर्षे हर्क भण्डारी घर जान कञ्चनपुरको वाणीबाट अत्तरीया बसपार्कका लागि हिँडे। उनी अत्तरियाबाट बैतडी जाने तयारीमा अत्तरीया बसपार्कमा पुगेका थिए। 


त्यसको भोलिपल्ट चैत २ गते उनको शव फेला पर्‍यो। कैलालीको गोदावरी नगरपालिका– ४ पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउ खैराना पुल नजिकै खैराना गाउँ जाने बाटोमा टाउकोमा गम्भीर चोटसहित उनको शव फेला परेको थियो। 


शुरुमा पहिचान गर्नै गाह्रो भए पनि पछि प्रहरीले उनको पहिचान गरेर शव आफन्तलाई बुझायो। उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरेको थियो।


प्रहरीले हत्या आरोपमा बैतडीको दशरथ चन्द नगरपालिका घर भई हाल कञ्चनपुर लाल झाडी गाउँपालिका बस्दै आएका पुन्टु भाट भनिने धिरज भाट र कैलाली गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुर बस्ने गोविन्द आउजीलाई शुक्रवार दिउँसो पक्राउ गरेको छ। 


उनीहरूले भण्डारीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

 
यसरी भयो हत्या

प्रहरी अनुसन्धानमा दावी गरिए अनुसार भण्डारी अत्तरीया पुगिसकेपछि २ जना अपरिचित मान्छेसँग चिनजान भयो। सामान्य चिनजानमै दुई जनासँग रक्सी खाने योजना बन्यो। रक्सी खाइसकेपछि गोविन्द आउजीले मेरो घर जाउँ भनी भण्डारीलाई हठ गरेपछि दुबैजनाले बसपार्कको एक होटेलबाट सँगै लगेर गए। 


त्यसपछि गोदावरी नगरपालिका वडा नम्बर चारमा पर्ने जङ्गलमा उनलाई अटोबाट झारेर सामान्य कुटपिट गरी उनका साथमा भएको ३ हजार  रकम लुटेर लगे। फेरि आएर चिनिने डरमा उनलाई लट्ठी र ढुङ्गाले हिर्काए अनि हत्या गरे।


हत्या पश्चात् दुबै जना मिलेर १ सय ४४ फिट भित्रबाट शव तानेर पूर्वपश्चिम राजमार्ग छेउको शाखा सडकमा राखेर फरार भए। गाडी दुर्घटनामा परेर मृत्यु भएजस्तो देखियोस् भनेर त्यसो गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


पक्राउ परिसकेपछि उनीहरूमाथि जिल्ला अदालत कैलालीबाट म्याद थप लिई थप अनुसन्धान थालेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। 


उनीहरूलाई मुलुकी अपराध संहिता अनुसनर जन्मकैद र मृतकका हकदारलाई प्रतिवादीबाट मनासिब क्षतिपूर्तिको व्यवस्था गरिएको उनले बताए। 


घटनामा संलग्न साला भिनाजु रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। 


घटनामा संलग्न पुन्टु भाट भनिने धिरज भाट यस अघि पनि थुप्रैपटक चोरीका घटनामा संलग्न रहेको पाइएको छ। उनले यसअघि पनि गाडी, मोटरसाइकल, रकम चोरेको प्रहरीको दाबी छ। साथै उनी जबजस्ती करणी मुद्दामा साढे तीन वर्ष सजाय भोगेर केही समय अघि मात्रै कञ्चनपुर कारागारबाट बाहिर निस्केको पनि खुलेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell