PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट कम्तिमा अझै दुई दिन प्रहरी नियन्त्रणमा, बहस र बयान सकियो आदेश बाँकी



एम बम

निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट कम्तिमा अझै दुई दिन प्रहरी नियन्त्रणमा, बहस र बयान सकियो आदेश बाँकी

कैलाली : कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्ट अझै कम्तिमा दुई दिन प्रहरी नियन्त्रणमा रहने भएका छन्। 

१३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा थुनछेक बहस शुक्रबार सकिएको छ।

शुक्रबार बहस सकिए पनि समय अभावले आदेश भने आइतबारलाई सरेको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

मंगलबारबाट सुरु भएको विष्टको बयान र बहस शुक्रबार सकिएको हो।

विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरीलाई भने अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ।

अदालतले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरूले प्रहरीले घटनामा प्रमाण नष्ट गरेको र यातना दिएको दाबी गरेका थिए।

प्रतिवादी बनाइएका मध्ये एक अनुसन्धानमा सघाउन काठमाडौँबाट खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अङ्गुर जिसी भने अदालतमा उपस्थित हुन बाँकी छ। अदालतले उनलाई उपस्थित हुन ३५ दिने सूचना जारी गरेको छ। 

एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी सबै प्रहरी निलम्बनमा छन्।
 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell