PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साफ महिला च्याम्पियनसिप : भारतलाई लगातार पाँचौ पटक उपाधि, नेपाल घरेलु मैदानमा ३-१ ले पराजित



गोविन्दराज नेपाल

साफ महिला च्याम्पियनसिप : भारतलाई लगातार पाँचौ पटक उपाधि, नेपाल घरेलु मैदानमा ३-१ ले पराजित

विराटनगर : भारतले लगातार पाँचौ पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। विराटनगरमा भएको पाँचौ संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै भारतले लगातार पाँचौ पटक उपाधि कब्जा गरेको हो।

नेपाल भने घरेलु मैदानमा उपाधि जित्न असफल भएपछि चौथो पटक उपविजेता बनेको छ। यसअघि पहिलो देखि तेस्रो संस्करणसम्म नेपाल फाइनल पुगे पनि भारतसाग पराजित भएको थियो। चौथो संस्करणमा भने भारतले बंगलादेशलाई हराउदै उपाधि जितेको थियो।

शुक्रवार विराटनगरस्थित शहिद रंगशालमा भएको फाइनल खेलमा भारतको लागि डालिमा छिब्बर, ग्रेस डाङ्गमेई र अन्जु तामाङले गोल गरिन्। नेपालको लागि सावित्रा भण्डारी साम्बाले एक गोल गरिन्।

पछिल्लो दुई खेलमा नेपाल भारतसँग पराजित भएको थिएन। २०१८ नोभेम्वरमा म्यानमार भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १-१ को बराबरी खेलेको थियो भने २०१९ फेब्रुअरीमा भारतमै भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो।

पहिलो पटक नेपालमा आयोजना भएको साफ महिला च्याम्पियनसिप फाइनलमा नेपालले घरेलु दर्शक र मैदानको साथ पाएपनि त्यसलाई त्यसको फाइदा उठाउन सकेन। उता भारत भने आप्नै स्वभाविक खेल खेल्दै नेपाललाई घरेलु मैदानमा करिब ९ हजार दर्शकको अगाढि जिल्लाउँदै च्याम्पियन बन्न सफल भयो।

खेलको सुरुवातमा नेपालले केही अवसर बनाएपनि अग्रता लिन सकेन। २६औँ मिनेटमा नेपालकी हिरा कुमारी भुजेलले भारतकी ग्रेसलाई फल गरेपछि करिब ३० यार्डमा प्राप्त फ्रिकिकमा डालिमाले भारतको लागि उत्कृष्ट गोल गरिन्।

गोल खाएपछि नेपालले ६ मिनेटपछि नै गोल फर्कायो। ३३औँ मिनेटमा सावित्राले पुनम जर्घा मगरले सेन्टरबाट उपलब्ध गराएको पासमा डि एरिया भित्रबाट हेड गोल गर्दै खेल बराबरी गरिन्।

पहिलो हाफमा त्यसपछि गोल हुन सकेन। दोस्रो हाफको सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको भारतले दुई गोल थप्यो। ६३औँ मिनेटमा ग्रेसले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाइन्। सन्ध्याले उपलब्ध गराएको पासमा ग्रेसले नेपाली गोलकिपर एन्जिला सुब्लाई बिट गर्दै खाली पोष्टमा गोल गरेकी हुन्।

अग्रता बनाएपछि नेपालमाथि हावी बनेको भारतको लागि ७७औँ मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले तेस्रो गोल गरिन्।

नेपालले खेलको सुरुवात देखि नै गोलका लागि अवसरहरु बनाएपनि सदुपयऊव गर्न सकेन भने भारतले पाएको अवसरलाई खेल फालेन।

नेपालका लागि सावित्राले उत्कृष्ट खेल प्रदर्शन गरेपनि उनलाई ब्याकअफ नहुँदा नेपालले गोल थप्न सकेन।

 

सर्वाधिक गोलकर्तामा सावित्रा दोस्रो स्थानमा

भारत विरुद्ध फाइनलमा गोल गरेपछि सावित्रा नेपालको लागि सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा उक्लेकी छिन्। यस संस्करणमा कूल चार गोल गरेकी सावित्राले नेपालको लागि गोल संख्या २६ पुर्‍याउँदै पूर्व कप्तान जमुना गुरुङलाई पछि पारेकी हुन्। जमुनाले २५ गोल गरेकी छिन्।

नेपालको लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने अनु लामाको नाममा छ। उनले ३५ गोल गरेकी छिन्। सावित्राले यस साफमा खेलेको चारवटै खेलमा गोल गरेकी हुन्। उनले समूह चरणमा भुटान र बंगलादेश तथा सेमिफाइनलमा श्रीलंका विरुद्ध पनि १-१ गोल गरेकी थिइन्।

सावित्रा साफ महिला च्याम्पियनसिपको फाइनलमा गोल गर्ने दोस्रो नेपाली खेलाडी समेत बनिन् भने यस संस्करणमा भारतलाई पहिलो गोल गर्ने खेलाडी पनि बनिन्। यसअघि दोस्रो संस्करणको फाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित हुँदा त्यतिबेला दिपा अधिकारीले नेपालको लागि गोल गरेकी थिइन्।

यसैगरी पाँचौ संस्करणमा नेपालकी सावित्रा र भारतकी इन्दुमतिले सर्वाधिक गोलकर्ताको अवार्ड पाइन्। दुवै खेलाडीले ४-४ गोल गरेका थिए।
 

पाँच पटकको फाइनल नतिजा यस्तो

पहिलो साफ सन् २०१० भारत १-० नेपाल

दोस्रो साफ सन् २०१४ भारत ३-१ नेपाल

तेस्रो साफ सन् २०१४ भारत ६-० नेपाल

चौथो साफ सन् २०१६ भारत ३-१ बंगलादेश

पाँचौ साफ २०१९ नेपाल १-३ भारत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell