PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीको मोबाइलमा ३६ हजार ५३५ म्यासेज : सुसाइडको धम्कीदेखि केटी उठाउनेसम्म



सविन ढकाल

प्रहरीको मोबाइलमा ३६ हजार ५३५ म्यासेज : सुसाइडको धम्कीदेखि केटी उठाउनेसम्म
प्रतिकात्मक फोटो

काठमाडौं : फागुन २९ गते मोबाइलको म्यासेज घण्टी बज्यो। कन्ट्रोल रुममा खटिएका प्रहरीले हतारहतार हेरे। त्यतिखेर दिउँसोको २ बजेर ३५ मिनेट गएको थियो। ९८०४९३४….बाट आएको म्यासेज एनसेलको नेटवर्कबाट पास भएको बुझ्न प्रहरीलाई समय लागेन।

मोबाइलको कोड अनुसार झापाका मोबाइल प्रयोगकर्ताबाट आएको थियो म्यासेज। प्रहरीले मोबाइलको म्यासेज हेरे जसले उनीहरुलाई ने असमन्जस्यमा पार्‍यो।

अन्योलमा पार्ने त्यो म्यासेज खासै लामो थिएन। जम्माजम्मी सात शब्दको मात्र। शब्द भलै छोटो किन नहोस्, त्यसको तरङ्ग ठूलै थियो। -‘Natra mo sucide garxu sir dnt rply’ लेखिएको थियो। रोमनामा लेखिएका शब्दले प्रष्ट रुपमा भनेको थियो - 'नत्र म सुसाइड गर्छु।' म्यासेज गर्ने को होला र के साच्चै सुसाइट नै गर्छ त?

एक छिनपछि प्रहरीले त्यही मोबाइल नम्बरमा म्यासेजको जवाफ दियो - ‘तपाईँ कुन स्थानमा हुनुहुन्छ? के समस्या परेको हो? खुलाइदिनु भएमा प्रहरी तत्काल आइपुग्छ।' तर, म्यासेजको जवाफ आएन। घटना गम्भीर नै हुनसक्ने भएकाले प्रहरी चुप बस्ने अवस्थामा पनि थिएन।

रानीपोखरीमा रहेको प्रहरीको कन्ट्रोल रुमले घटनाको जानकारी सहित महानगरीय अपराध महाशाखामा जानकारी गरायो। केही समयमा महाशाखाको टोलीले मोबाइल लेकेसन हेर्यो। मोबाइल ट्र्याक गर्दा झापाको निलकोठी देखायो। महाशाखाले घटनाको विवरण फेरि कन्ट्रोल रुमलाई नै दियो।

कन्ट्रोल रुम आफै अपरेसनमा उत्रिने क्षेत्राधिकार भएको युनिट होइन। त्यसैले सम्पूर्ण जानकारी प्रहरी प्रधान कार्यालय नक्साललाई टिपायो। हेडक्वाटरबाट त्यही नम्बरमा पटकपटक कल गयो। अन्ततः झापाका गौरव नाम बताउने व्यक्तिले फोन उठाए।

गौरवसँग कुरा गर्दा उनले म्यासेज गरेको खुलेन। त्यसपछि प्रहरीले 'तपाईँका आफन्त बिरामी भएकाले चिकित्सककोमा जान' सुझाव दियो। उनले अपचारको लागि झापा बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार गराउने बताए।

प्रहरीको मोबाइलमा आएको एउटा म्यासेजपछि प्रहरीले आफन्तसम्म कुरा गर्न सक्यो। ती व्यक्तिको ज्यान बच्यो कि बचेन? वा कसैले प्रहरीसँग मजाक मात्र गरे? यसको जवाफ खोज्न प्रहरी लागेन।

प्रहरीको मोबाइलमा यसैगरी धम्की दिनेगरी म्यासेज आउनेक्रम सामान्य झै भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा रहेको मोबाइल म्यासेज शाखामा अहिले दैनिक सयदेखि १ सय ५० वटासम्म म्यासेज आउने गरेका छन्। आपतकालीन अवस्थामा फोन गर्न नमिल्दा एसएमएस गर्ने व्यवस्था गरेको हो। तर, धेरैजसो म्यासेज जानकारी भन्दा पनि गलत सन्देश हुने गरेको म्यासेज डिपार्टमेन्टका सई हिमाल केसीले बताए। ‘धेरै म्यासेज आइएम बिजी भन्ने हुन्छन्। इमर्जेन्सी भनेर म्यासेज आएको हुन्छ। कल गर्‍यो भने अभिभावकले उठाएर बच्चाले मोबाइल खेलाउँदै थियो भन्ने गर्नुहुन्छ,‘ सइ केसी भने।

यस्तै फरक खाले घटना भयो मङ्सिर ४ गते। एउटा म्यासेज आयो- ‘छिटो आउनु छिटो।'

प्रहरीले तुरुन्तै एक्सन लियो।

म्यासेज कैलालीको धनगढीबाट आएको थियो। एक जना भाइले नै दिदीलाई बन्धक बनाएर कुटपिट गरेको खुल्यो। प्रहरी घटनास्थलमा पुग्यो र बहिनीको उद्धार गर्न सफल भयो।

'कसैलाई उद्धार र समस्या समाधान गर्न पाउँदा खुशी लाग्छ। तर, दु:ख दिने समय बिताउने तरिकाले म्यासेज गर्दा नराम्रो लाग्छ,' सई केसीले भने।

म्यासेज : हाकिमलाई कुरा लगाउनेदेखि केटी उठाउनेसम्म

‘कल मी मलाई इन्पोर्टेन्ट काम छ,' आधा नेपाली र आधा अग्रेजीमा लेखिएको म्यासेज आयो प्रहरीकहाँ। घटना मङ्सिर ६ गतेको। 'इन्फोटेन' त होइन भन्दै प्रहरीले सम्बन्धित मोबाइलमा फोन गर्‍यो। ९८१९७५…. नम्बरमा फोन गर्दा सप्तरी वीरेन्द्रबजारका एक व्यक्तिले फोन उठाए।

'के हो इन्पोर्टेन्ट काम? भन्नुहोला हामी सहयोग गर्छौँ,' प्रहरीले यताबाट सोधे। उताबाट आएको जवाफले प्रहरी झस्कियो।

‘एक जना केटी उठाउन आँटेका छन्,' जवाफ यस्तै थियो।

'केटी उठाउने' कुरा सामान्य थिएन। कन्ट्रोले रुमले तत्कालै सप्तरीमा रहेका प्रहरी निरीक्षक हेमन्त भण्डारीलाई फोन गर्‍यो। घटनाको सबै जानकारी दियो।

तर, त्यसपछि के भयो कन्ट्रोललाई जानकारी आएन। ‘हामीले सम्बन्धित प्रहरीकहाँ घटनाको जानकारी दिन्छौँ। कतिपय कुरा के भयो भनेर हामीले पनि जानकारी लिदैनौं र उताबाट पनि आउँदैन,‘ सइ केसीले सुनाए।

प्रहरीको मोबाइलमा म्यासेज सेवामा आम मानिसको मात्र होइन प्रहरीको एक निकायबाट अर्को निकायको गुनासो समेत आउने गरेको छ। मङ्सिरको पहिलो साता एउटा त्यस्तै म्यासेज आयो। 'कन्ट्रोलको नम्बर दुरुपयोग गर्ने वान सरलाई कुरा नलगाई कहाँ छोड्छु। पख,' कसले दुरुपयोग गर्‍यो भन्ने खुलेको थिएन।

प्रहरीले म्यासेज गर्नेको खोजी गर्‍यो। खोजी गर्दा त आफ्नै सङ्गठन भित्रको नम्बर भएको भेटियो। मोबाइल नम्बर चितवनको कन्ट्रोलको फोन रहेछ। प्रहरीले अनुसन्धान गर्दा फोन बिग्रिएको र मर्मतको क्रममा भएको खुल्यो। घटना यतिमै सकियो।

केही महिनादेखि सञ्चालनमा आएको प्रहरीको मोबाइल म्यासेज सेवाबारे धेरैलाई जानकारी छैन। मोबाइलमा सामाजिक अपराध, व्यक्तिगत समस्या मात्र होइन पारिवारिक कुराको पनि जानकारी आउँछ। ९८५१०११९… नम्बरबाट एउटा म्यासेज आयो।

‘सर मेरो ममी र डेडी फाइट गरिराख्नु भएको छ। प्लिज छिटो आउनु।‘

फोन सितापाइलाबाट आएको थियो। प्रहरीले यस घटनामा पनि एक्सन लियो।

महिलामाथिको हिंसा, चोरी, नो पार्किङमा सवारी पार्किङ गरेको, धम्काएको लगायतका जानकारी प्रहरीको मोबाइलमा आउने गरेको छ। करिब ९ महिनाको अवधिमा प्रहरीको मोबाइलमा ३६ हजार ५ सय ३५ म्यासेज आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। 'यो सेवाले अपराध नियन्त्रण तथा समाधान गर्न सहयोग पुग्छ। तर यसको दुरुपयोग गर्‍यो भने प्रहरीलाई मात्र होइन समाज र तपाईँ हामीलाई नै हानी हुने हो,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell