PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुवेतले पेनाल्टी मिस गर्दा खेल बराबरीमा सकियो, किरणको उत्कृष्ट प्रदर्शन



पहिलोपोस्ट

कुवेतले पेनाल्टी मिस गर्दा खेल बराबरीमा सकियो, किरणको उत्कृष्ट प्रदर्शन

काठमाडौँ : विदेशी प्रशिक्षक योहान कलिनले प्रशिक्षण सम्हालेपछिको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ।

दोस्रो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न चुकेपछि कुवेतले घरेलु मैदानमा नेपालसँग बराबरीमा चित्त बुझाउनुपर्‍यो।

यस्तै नेपालका लागि यसै खेलबाट पाँच खेलाडीले राष्ट्रिय टिमको लागि डेब्यु गरे।

नेपालको लागि गोलकिपर किरण चेम्जोङले पनि उत्कृष्ट प्रदर्शन गरे। उनले कुवेती खेलाडीको आधा दर्जन भन्दा बढी प्रहारलाई बचाउ गरेका थिए।

दोस्रो हाफमा कुवतेल अग्रता लिने मौका पाएपनि सदुपयोग गर्न सकेन। ६५औँ मिनेटमा कुवेती खेलाडीको पेनाल्टी प्रहार पोष्ट भन्दा माथिबाट बाहिरिएको थियो।

नेपालले खेलमा गोलका लागि खासै अवसर बनाउन सकेन। फिफा वरियतामा कुवेत १५८औँ र नेपाल १६१औँ स्थानमा छ।

अजित भण्डारीले पहिलो रोजाईमा रहँदै डेब्यु गरेका हुन् भने रवि पासवान, विमल राना, सुरज विक र सन्तोष तामाङले वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै डेब्यु गरेका हुन्।

रवि खेलको ६१औँ मिनेटमा सुमन लामाको स्थान तथा विमल राना ७३औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए।

सन्तोष ८१औँ मिनेटमा भरत खवास र सुरज ८३औँ मिनेटमा अजित भण्डारीको स्थानमा मैदान प्रवेश गरेका हुन्।

कुवेत विरुद्ध डेब्यु गरेका अजित र रवि नेपाल पुलिसका खेलाडी हुन् भने सुरज र विमल लिग च्याम्पियन मनाङ मर्स्याङ्दी र सन्तोष त्रिभुवन आर्मीबाट क्लब फुटबल खेल्छन्।

कुवेत विरुद्ध १९ वर्षपछि खेलेको नेपालले पहिलो पटक बराबरी खेलेको हो। यसअघि २००० मा भएको पहिल्लो खेलमा नेपाल ५-० ले पराजित भएको थियो।

नेपाल र कुवेतबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी सोमवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell