PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

बालाजुमा देखिएको मोटरसाइकल फलो गर्दै काभ्रे : प्रहरीले बनाएको जालोबाट कसरी उम्किए ओली?



सविन ढकाल

बालाजुमा देखिएको मोटरसाइकल फलो गर्दै काभ्रे : प्रहरीले बनाएको जालोबाट कसरी उम्किए ओली?

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गर्ने निर्णय गरेसँगै प्रहरी विप्लवका नेताको खोजीमा थियो। नख्खुमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल टावरमा विस्फोटलाई लिएर सञ्चारमाध्यममा छाइरहेका पोलिटव्युरो सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन’ प्रहरीको निसानामा थिए। 

नेकपा समूहको तेस्रो तहका नेतासमेत रहेका ओलीलाई नियन्त्रणमा लिन सके विप्लवको नेपाल कम्युनिस्ट पार्टीलाई ठूलो धक्का पुग्ने प्रहरीको विशेष टोलीले विश्लेषण गरेको थियो। ओलीलाई पक्राउ गरेर आफ्नो साख जोगाउने दाउमा थियो, प्रहरी। ओली मध्यक्षेत्रीय प्रदेशका इन्चार्ज समेत हुन्, विप्लवका।

काभ्रे एक डाँडामा ओली रहेको सूचना प्रहरीलाई थियो। तर, कहाँ र कहिलेदेखि भन्ने पुष्ट जानकारी भने थिएन। 

‘पार्टीका सदस्यलाई आवश्यक पर्ने सीमकार्ड लिएर एक कार्यकर्ता गएको छ। त्यसले प्रयोग गर्ने मोटरसाइकल बालाजु क्षेत्रमा भेटिएको छ,' सुराकीले प्रहरीलाई यस्तै जानकारी दिए।

लामो समयदेखि पोलिटव्यूरो सदस्य ओलीसँग पुग्ने ‘क्लु’ खोजिरहेको प्रहरीलाई यो सूचना महत्त्वपूर्ण थियो। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली बालाजुमा रहेको मोटरसाइकलको रेकीमा जुट्यो। ‘सीम पुर्याउन गएको व्यक्ति पक्कै मोटरसाइकल लिन आउँछ। अनि हामी त्यहीलाई नियन्त्रणमा लिएर हेमन्त ओलीसम्म पुग्छौँ भन्ने थियो,' एक उच्चपदस्थ प्रहरी अधिकृतले पहिलोपोस्टसित भने।

दुई दिनपछि एक व्यक्ति मोटरसाइकल लिन त आए। तर, प्रहरीले अनुमान गरे विपरीत मोटरसाइकल लिन आउने व्यक्ति भने सिम लिएर जाने व्यक्ति थिएनन्। प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लियो। त्यतिखेर प्रहरीको फन्दामा परेका व्यक्ति थिए, डेकेन्द्र राई। प्रहरीलाई ढुङगा खोज्दा देउता मिले झैँ भयो। राई पनि प्रहरीको खोजी सूचीमा नै रहेका व्यक्ति परेछन्। गएको फागुन १० गते नख्खुमा रहेको एनसेल बम प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले राईलाई पनि खोजिरहेको थियो। 

उक्त बम विस्फोटका लागि चार वटा मोटरसाइकल प्रयोग भएको थियो। ती चारमध्ये एउटा मोटरसाइकलमा नख्खु पुग्नेमा थिए डेकेन्द्र। राईसँग ओलीको सम्पर्क हुने सम्भावना थप बलियो भयो। प्रहरी ओलीलाई पक्राउ गर्नेमा ढुक्के हुँदै गएका थिए। त्यसमाथि राईको बयानले प्रहरीलाई झनै सजिलो बनाइदियो। राई हुँदै ओलीका सहयोगी नीरबहादुर विक पनि प्रहरीको कब्जामा परे। 

विकलाई प्रहरीले भक्तपुरको राधे राधे बाट नियन्त्रणमा लियो। दुई दिनदेखि विक काभ्रेमा बसेर गोप्य समीक्षा बैठक गरिरहेको अनुसन्धानका क्रममा खुल्यो।

मङ्गलवार महाशाखाबाट एसपी सौमेन्द्र राठौरले नेतृत्व गरेको टिमले विकलाई नियन्त्रण गर्ने गरी मोबिलाइज भयो। प्रहरीको लागि मार्गदर्शन गर्नेमा विक र राई थिए। काभ्रे पुगेपछि एक व्यक्ति रोयल इन्फिल्डको बुलेट बाइकमा हान्निएर आए। प्रहरीलाई ती युवकको व्यवहारप्रति शङ्का लाग्यो। केरकार गर्दा बुलेट चढ्ने ती युवक अर्थात् विशाल तामाङ पनि विप्लवकै कार्यकर्ता रहेछन्।

तामाङ पनि प्रहरीको खोजी सूचीमै समेटिएका व्यक्ति थिए। म्यानपावर व्यवसायी रोहन गुरुङको वसुन्धरास्थित घरमा विस्फोट गराएको अभियोगमा प्रहरीले तामाङलाई खोजी गरिरहेको थियो। ‘घटना भएको दिन तामाङको लोकेसन त्यही क्षेत्रमा देखिएको छ,' वसुन्धरा घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने।

रात पर्दै गएको थियो। महाशाखाको टोली राई र विकलाई लिएर ओलीलाई समात्ने दाउमा थियो। केही पर पुगेपछि अरु दुई युवकसँग प्रहरीको जम्का भेट भयो। प्रहरीसँगै भएका दुई जनाको अनुहारको भाव भंगीले ती दुई चिनेको संकेत मिल्यो। तर, राई र विकले नचिनेको बताए। त्यसपछि भने प्रहरी अघि बढ्यो। तर, केही पर पुगेपछि प्रहरीलाई शंका लाग्यो। ती दुई जनालाई प्रहरीले पछ्याउन थाल्यो। 

‘हामीले पिछा गरेपछि उनीहरूले फायर खोले। अनि हामीले पनि जवाफी फायर गरेका हौँ,' महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले बताए।

त्यहीबाट प्रहरीले शिव धिताललाई नियन्त्रणमा लियो। एक युवक (प्रहरी अनुसन्धानमा नै रहेकाले युवकको नाम नखुलाएको) भने फरार भए। धिताल राजधानीमा भएको वम विस्फोटमा संलग्न रहेको एसपी राठौरको दाबी छ। 

लामो समयको अनुसन्धानपछि प्रहरी ओलीलाई पक्राउ गर्न नजिकै पुगेको थियो। आफ्नो नियन्त्रणमा रहेका अभियुक्तले ओली बसेको घरको लोकेसन दिएको थियो। त्यही घरमा पुगेर प्रहरीले चारैतिर घेरा हाल्यो। तर, घरभित्र पस्दा प्रहरी हिस्सियो। ओली घरभित्र थिएनन्। प्रहरी आउने जानकारी पहिले नै पाएपछि उनी फरार भइसकेका थिए।

प्रहरीको सूचना अनुसार विप्लवका नेता एक ठाउँमा दुई दिन भन्दा धेरै नबस्ने देखिएको छ। मोबाइल पनि कम प्रयोग गर्ने र कार्यकर्ताबीच पनि सबै जानकारी नदिएर 'ब्रेक चेन'को नीति बनाएको प्रहरीको दाबी छ।

नेता ओलीलाई डायबेटिज छ। पक्राउ परेका व्यक्तिले प्रहरीमा दिएको बयान अनुसार ओलीसँग एक दिनसम्म पुग्ने मात्र ‌औषधी थियो। पक्राउ परेका एक व्यक्तिलाई उदृत गर्ने एक प्रहरीले सुनाए, 'बुढो सुगरको रोगी छ। औषधी खान पाएन भने आफैँ मर्छ।'

हेमन्त ओलीलाई पक्रन नसके पनि प्रहरीले घरबाट केही थान चार्जर र मोबाइल भने बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell