PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

साफ महिला च्याम्पियनसिप : पाँच वर्षपछि फाइनलमा भिड्दै नेपाल र भारत, उपाधि जित्ने दुवै टोलीको दाबी



गोविन्दराज नेपाल

साफ महिला च्याम्पियनसिप :  पाँच वर्षपछि फाइनलमा भिड्दै नेपाल र भारत, उपाधि जित्ने दुवै टोलीको दाबी

विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि भोली घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।

बिहीवार भएको फाइनलअघिको प्रिम्याच कन्फरेन्समा दुवै देशका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरेका छन्।

नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवै टिमले अहिलेसम्म गोल पनि खाएको छैन।

पहिलो पटक घरेलु भूमिमै भएको साफ उपाधि जित्ने लक्ष्यका साथ खेलिरहेको नेपालका प्रशिक्षक हरि खड्काले फाइनल खेलका लागि तयार रहेको र उपाधि जित्नकै लागि खेल्ने बताए।

'भोली हामीले अली बढि मेहनत गरेर खेल्यौैै भने जितिन्छ।' पुरुष टिमका पूर्व कप्तान समेत रहेका खड्काले भने। 'यो इतिहास रच्ने दिन हो। हामीले टेक्निकल्ली र ट्याक्टिकल्ली भन्दा पनि भारतलाई मेहनतले जित‍‍्ने हो। गोर्खालीपनले जित्ने हो।'

'नेपाल र भारत दुवैको ५०-५० चान्स छ। जसले पाएको अवसर सदुपयोग गर्छ उसले जित्छ।'

भारतीय टिमका प्रशिक्षक मोयामल रकीले फाइनल खेल जहिल्यै रमाइलो हुने बताइन्। उनले भारतले पाँचौ पटक साफ जित्नेमा कन्फिडेन्ट रहेको बताइन्। 'मेरो विचारमा भारतले जित्छ भन्ने लाग्छ। हामी उपाधि जित्नेमा विश्वस्त छौँ।'

उनले नेपाल पनि राम्रो टिम रहेको बताइन्। 'नेपाल पनि बलियो टिम हो। तर खेलको दिन जसले राम्रो खेल्छ उसैले प्रतियोगिता जित्छ।' रकीले भनिन्।

पछिल्लो दुई भेटमा नेपालले भारत विरुद्ध हार बेहोरेको छैन। म्यानमारमा भएको ओलम्पिक क्वालिफायरमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो भने भारतमै भएको हिरो गोल्डकपमा नेपालले भारतलाई पराजित गरेको थियो।

यी दुई खेलपछि नेपाली खेलाडीहरुको मनोबल उच्च रहेको र भारत विरुद्ध खेल्नुअघिको मानसिकतामा समेत परिवर्तन भएको नेपालका प्रशिक्षक खड्काको बुझाई छ।

'भारत दक्षिण एसियामा स्थापित टिम हो भने नेपाल स्थापित हुने क्रममा छ। पछिल्लो पटक खेलेका दुई मध्ये एक बराबरी र एक जितपछि खेलाडीको मोरल हाई छ। यस पटक भारतको ३/४ जना खेलाडीलाई रोक्दै हाम्रो बलियो पक्षलाई मैदानमा लागू गर्छौँ।'

उता भारतीय प्रशिक्षक रकीले यसअघिको नतिजा भन्दा पनि अहिलेको खेललाई फोकस गरेर खेल्ने बताइन्।

'यो नयाँ प्रतियोगिता हो र हाम्रो लागि सबै कुरा नयाँ छ। रकीले नेपालको घरेलु मैदानमा खेल्दा कुनै फरक नपर्ने बताइन्। हामीले हङकङ, इन्डोनेसियामा पनि उनीहरुसँग खेलिसकेका छौँ। हामी होस्ट टिमसँग खेल्न मोटिभेट छौँ।'

यता नेपालका प्रशिक्षक खड्काले घरेलु मैदानको फाइदा रहेको र भोलीको दिन आफ्नो रहेको बताए। 'यो हाम्रो घरेलु मैदान हो। हामी भारतलाई हराउँदै उसको रेकर्ड ब्रेक गर्न तयार छौँ। भोलीको दिन हाम्रो हो र निश्चय नै हामी भारतको यसअघिको रेकर्ड ब्रेक गर्छौँ।'

नेपालका प्रशिक्षक खड्काले आफ्नो टोली ब्यालेन्स्ड रहेको र फाइनलमा अट्याकिङ फुटबल खेल्ने बताए। 'हामी अट्याकिङमा विश्वास गर्छौँ र अट्याकिङ नै खेल्छौँ। टिम सन्तुलित छ र आफ्नो सेटअपलाई कायम राखेर खेल्छौँ। भारतले पनि टोटल फुटबलमा विश्वास गर्छ। उनीहरुले पनि अट्याकिङ नै खेल्छ भन्ने लाग्छ।'

सेमिफाइनलमा श्रीलंकाले पूरै डिफेन्सिभ खेल्दा नेपाललाई केही गाह्रो भएको बताउँदै खड्काले भारत विरुद्ध त्यस्तो नहुने र नेपालको फरवार्डलाई पनि खेल्न सजिलो हुने बताए। 'फाइनलमा सावित्रालाई खेल्न सहज हुन्छ।'

यसैगरी नेपालका कप्तान र भारतका कप्तानले पनि फाइनल खेल जित्नकै लागि खेल्ने बताए। 'भोली अन्तिम खेल हो र यो खेल जसरी भएपनि जित्नुपर्छ। यदी हामीले कोचले सिकाउनुभएको अनुसार खेल्यौँ भने जित्छौँ भन्ने लाग्छ। कोचले दिएको ड्युटि पुरा गर्‍यौँ भने पक्कै च्याम्पियन हुन्छौँ।' नेपालकी कप्तान निरु थापाले भनिन्।

भारतीय कप्तान असलतादेवीले पनि आफ्नो राम्रो खेल प्रदर्शन गर्ने बताइन्। 'हामी जित्नका लागि खेल्छौँ र आशा छ हामी खेल जित्नेछौँ।'

उनले फाइनलअघि प्रेसर र रिल्याक्स नभएको विपक्षीलाई जहिल्यै सम्मान गरेर खेल्ने बताइन्। 'हामी नेपाललाई सम्मान गर्छौँ। नेपाल पनि तीन खेल जितेर फाइनल पुगेको छ। हामी राम्रो खेल्छौँ।'

नेपाल र भारतले फाइनलसम्मको यात्रा तय गर्दा शतप्रतिशत जित निकालेका छन् भने कुनै गोल खाएका छैनन। नेपालले तीन खेलमा १० र भारतले १५ गोल गरिसकेको छ।

 

५ वर्षपछि फाइनल भेट

नेपाल र भारत साफ च्याम्पियनसिपमा परिचित प्रतिद्वन्दी हुन्। त्यसमा पनि फाइनलमा यी दुई टोलीबीच तीन पटक भेट भइसकेको छ। जसमा तीन पटकनै नेपाल भारतसँग पराजित भएको थियो।

पछिल्लो पटक सन् २०१६ मा भारतमै भएको चौथो साफमा भने नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो।

नेपाल र भारत साफ महिला च्याम्पियनसिपको फाइनलमा भिड्न लागेको यो चौथो पटक हो भने ५ वर्षपछि पहिलो पटक हो।

पछिल्लो पटक पाकिस्तानमा २०१४ मा भएको तेस्रो साफको फाइनलमा भारतले नेपाललाई ६-० ले पराजित गर्दै उपाधिमाथि ह्याट्रिक गरेको थियो।

 

 

नेपालको फाइनल यात्रा

समूह चरण

नेपाल ३-० भुटान

नेपाल ३-० बंगलादेश

सेमिफाइनल

नेपाल ४-० श्रीलंका

 

भारतको फाइनल यात्रा

भारत ६-० माल्दिभ्स

भारत ५-० श्रीलंका

सेमिफाइनल

भारत ४-० बंगलादेश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell