PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

न्यूजिल्यान्ड आक्रमणपछि अष्ट्रेलियामा धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था



न्यूजिल्यान्ड आक्रमणपछि अष्ट्रेलियामा धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था
फोटो: NEWS.AU

क्यानबेराः अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले विभिन्न धार्मिक सम्प्रदायहरुका आ-आफ्ना संस्कारसम्बन्धी कार्यक्रमहरुलाई सुरक्षित बनाउने भन्दै थप सुरक्षा व्यवस्था गर्ने घोषणा गरेका छन्।

उनले सो प्रयोजनका लागि करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गरेका छन्।

न्यूजिल्याण्डको एक मस्जिदमा ५० जनाको मृत्यु हुने गरी भएको नरसंहारपछि अष्ट्रेलियाले विभिन्न धार्मिक सम्प्रदायका क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्यले सो कार्यक्रमको घोषणा गरेको जनाइएको छ।

उक्त आक्रमणको मुख्य योजनकार श्वेत सर्वोच्चताको वकालत गर्दै आएका अष्ट्रेलियाली नागरिक रहेको खुलेपछि अष्ट्रेलियाली प्रधानमन्त्रीले यस्तो घोषणा गरेको बताइएको छ।

मोरिसनले भने,' यहाँका धार्मिक विद्यालयहरु, धार्मिक प्रार्थनास्थलहरु र धर्म सभाहरुमा सुरक्षाका लागि यो अलग्गै बजेटको व्यवस्था गरिएको हो। यो रकम यहाँका विभिन्न धार्मिक समूहहरुलाई आफ्नो सुरक्षाको मापदण्ड अपनाउनका लागि प्रदान गरिनेछ। यसले आतंककारी क्रियाकलापहरु रोक्न र त्यसका विरुद्धमा एकताबद्ध हुन सहयोग पुग्नेछ।'

व्यवस्था गरिएको रकमबाट ती क्षेत्रमा खतराको सूचक घण्टी (साइरन) को व्यवस्था गर्ने, सिसि क्यामेराहरु राख्ने, सुरक्षाकर्मीहरुको व्यवस्था गर्ने र सुरक्षाका अन्य मापदण्डहरु अपनाउने प्रयोजनका कार्यहरु गरिने बताइएको छ।

मोरिसनले अष्ट्रेलिया सरकारको पहिलो उद्देश्य भनेकै हरेक अष्ट्रेलियाली नागरिकलाई सुरक्षित राख्नु हो भन्दै यसबाट उनीहरुको सुरक्षाका लागि सहयोग पुग्ने धारणा व्यक्त गरे।

उनले नागरिकले आफ्ना विचारहरुको अभिव्यक्ति मतदानबाट या शान्तिपूर्ण भनाईबाट राख्नसक्ने अवस्था हुदाहुदै यस्ता आतंककारी आक्रमण गरी नागरिकको ज्यान लिनु जघन्य अपराध भएको प्रतिक्रिया दिएका थिए।  रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell