PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

त्यति गर्न सक्ने देउवाले यति किन गर्न सक्दैनन्?



नेत्र तामाङ

त्यति गर्न सक्ने देउवाले यति किन गर्न सक्दैनन्?

कम समयमै सम्बोधन सकाउने नेताका रुपमा चिनिन्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

मञ्चमा पुगेका अरु नेताले लम्बेतान सम्बोधन गर्दा देउवा आत्तिन्छन् र घडी हेर्दै सम्बोधनकर्तातिर हेरेर मुर्मुरिएको कार्यक्रमहरुमा देख्न पाइन्छ।

जुनियर नेताहरु देउवाको संकेत पाउनसाथ सम्बोधन छोट्याइहाल्छन्। 

अरुलाई समय कस्ने उनी आफै पनि धेरै समय लिँदैनन् सम्बोधनमा। सीधै विषय प्रवेश गर्छन्। अर्थपूर्ण सम्बोधन गर्छन्। बहकिएर बोल्दैनन्। 
त्यसैले कतिपय जिल्लाका कार्यक्रमहरुमा देउवाको सम्बोधन सुन्न आएकाहरुको मनै भर्दैन। शुरुमा त देउवाको बोली बुझ्नै हम्मेहम्मे हुन्छ। त्यसमाथि कम बोल्दिनाले कार्यकर्ता निराश बन्दै फर्कन बाध्य हुन्छन्।

पछिल्लोपटक चुनावी प्रचारमा निस्कँदा ४५ सेकेन्डको भाषणले उनी चर्चामा आएका थिए। मञ्चमा आसीनलाई सम्बोधन गर्नै नपुग्ने ४५ सेकेन्डमा उनले अर्थपूर्ण सम्बोधन गरेका थिए। 

सोलुखुम्बुमा दुधकौशिका गाउँपालिकास्थित जुबुमा सम्बोधन गर्न पुगेका उनले 'तपाईँहरु रुखमा भोट हाल्नुस। कांग्रेसलाई जिताउनुस्। तपाईहरुको सबै माग पुरा हुन्छ' भनी सम्बोधन सकाएका थिए।

सञ्चारकर्मीसँग कुराकानीमा पनि उनी छोटो प्रतिक्रिया दिन्छन्। जसले गर्दा उनको 'बाइट' हेडलाइनलाईमात्र ठीक हुन्छ। त्यसपछि ब्याकग्राउन्ड लेखेर समाचारको बान्की मिलाउनुपर्ने अवस्था आउँछ। प्रसंग नबुझ्नेका लागि उनले बोलेको विषय ठम्याउनै मुश्किल हुन्छ।

यसले देखाउँछ देउवा समयलाई सम्मान गर्छन्। समयलाई मूल्यवान ठान्छन्। 

समय अमूल्य धन पनि हो। समयको ख्याल गरिएन भने पछि परिन्छ भन्ने उक्ति हामीले पनि सुन्दै आएका हौँ। 

यसरी समयको ख्याल गर्ने देउवाले १४ औं महाधिवेशन पनि समयमै गर्लान् भन्ने अपेक्षा कांग्रेस कार्यकर्ताको हो।

२०७२ को फागुन २४ गते केन्द्रीय सभापतिमा चुनिएका देउवाले ३ वर्षको अवधि पूरा गरिसकेका छन्। कांग्रेस विधानअनुसार सभापतिको कार्यकाल ४ वर्षको हुन्छ। 

विधानअनुसार अब देउवाको कार्यकाल ११ महिनामात्र बाँकी छ। यस्तो अवस्थामा अब महाधिवेशनको तयारी हुनुपर्ने हो। तर, कुनै सुरसार छैन।


केही समयअघि चर्चित केन्द्रीय सदस्यहरुले ‘अर्ली महाधिवेशन’को कार्ड बोकेर हिँडेका थिए। समयमै महाधिवेशन त गर्ने छाँट नदेखाएकाले यो कार्ड त्यसै फ्याँकियो।

हुन त यो अर्ली महाधिवेशन विधानमै थिएन। त्यसैले जसले यी मुद्दा उठाए, उठाइरहन सकेनन्। त्यसपछि सेलायो कुरा।


त्यसपछि विशेष महाधिवेशनको कार्ड निकालियो। त्यो कार्ड पनि बिकेन। महासमितिको बैठकमा उक्त कार्ड बिलायो। नियमित महाधिवेशनको मिति नजिक भएकाले होला यो कार्ड पनि त्यति चल्न सकेन।

कांग्रेस विधानमा 'केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ' उल्लेख छ। 

नियमित अधिवेशन आयोजना गर्ने समयमा विशेष अधिवेशनको मागको नारा बुलन्द पार्न खोजिए पनि त्यति चल्न सकेन।

त्यसैले होला १३ औं महाधिवेशनमा सभापति देउवालाई कडा टक्कर दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘टाइम्ली’ महाधिवेशनको कार्ड निकालेका छन्। ‘टाइम्ली’ महाधिवेशनको प्रस्तावले देउवालाई केही राहत मिल्यो भने पौडेलसँग आफ्नै पक्षका केन्द्रीय सदस्यहरु भने हच्किए।

तर विधानत: पौडेलको प्रस्ताव सही पनि छ। नियमित महाधिवेशनमा केन्द्रीय समितिले तत्काल कदम थालिहाल्नुपर्ने पनि देखिन्छ।

अब टाइम्ली महाधिवेशन कहिले त? 

समयमा चल्ने समयको महत्व राख्ने देउवासामू वरिष्ठ नेता पौडेलले यस्तो क्यालेन्डर प्रस्तुत गरेका थिए-

•    २०७५ फागुन १ बाट पारदर्शी ढंगले  सदस्यता वितरण थालौं।
•    २०७६ साउन, भदौ र असोज मसान्तभित्र सदस्य, कृयाशील सदस्यता नवीकरण र वितरण सकाउँ।
•    ०७६ मंसिर मसान्तसम्म गाउँ-नगर र वडा समितिको निर्वाचन सम्पन्न गरौ र क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचन गरौँ।
•    ०७६ पौष मसान्त सम्मप्रदेश निर्वाचन क्षेत्र अधिवेशन, प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवशेन र जिल्ला अधिवेशन सम्पन्न गरौँ।
•    ०७६ माघ १६ गतेसम्म प्रदेश अधिवेशनहरु सम्पन्न गरौं।
•    ०७६ फागुन ७ गते केन्द्रीय महाधिवेशन उद्घाटन होस्।

पदाधिकारीदेखि कार्यकर्तासम्म १४ औ‌ महाधिवेशनको मिति घोषणाको दिन पर्खेर बसेका छन्। 

चैत लागिसक्यो। सदस्यता वितरणको कुनै सुरसार देखिँदैन।  'पार्टीको उज्यालो भविष्यका लागि अब क्यालेन्डरमा काम गर्न जरुरी छ,' पौडेलले भनेका थिए। यसले स्पष्ट देखाउँछ, पौडेलले प्रस्तुत गरेको क्यालेन्डरमा देउवा चल्नेवाला छैनन्। 

तर देउवा भने असाधारण परिस्थिति देखाउँदै अझ एक वर्ष पद लम्ब्याउने मनसायमा देखिन्छन्। 

समयका महत्व बुझेका, द्वन्द्व भोगेका देउवाले समयमा निर्वाचन नहुँदा के कस्ता क्षति बेहोर्नुपर्छ राम्रोसँगै बुझेका छन्। महाधिवेशन ढिला हुँदा नेतृत्वमा जामको स्थिति स्वतः आउँछ, यतिमात्र होइन कार्यकर्तामा निराशा छाउँछ। यसले पार्टीमा क्षति ल्याउँछ नै। कार्यकर्तामा आक्रोश जम्मा हुन्छ र यसले स्वयं पार्टी नेतृत्वलाई पनि घाटा हुन्छ।

त्यसैले पौडेलले भने जस्तै पार्टीको उज्यालो भविष्यका लागि अब क्यालेण्डरमा काम गर्न जरुरी छ। 

सभा र सम्बोधनमा समय कस्न सक्ने देउवाले महाधिवेशनका लागि किन समय कस्न सक्दैनन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell