PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कार्यकर्तालाई सीकेको जवाफः ‘सरकारमा जाने र सांसद् बन्ने कुनै सहमति छैन, जनमत संग्रह शब्द उच्चारण नै गरेनन्’



बीपी साह

कार्यकर्तालाई सीकेको जवाफः ‘सरकारमा जाने र सांसद् बन्ने कुनै सहमति छैन, जनमत संग्रह शब्द उच्चारण नै गरेनन्’
फाइल फोटो

सिरहा (लहान):  स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेगरी आफूले सरकारसँग कुनै सहमति नगरेको बताएका छन्। गठबन्धनको परिषद् बैठकमा कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिँदै राउतले हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

आइतबार राति १० बजेसम्म संयोजक राउतले कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिएका थिए।

अधिकांश कार्यकर्ताले राउत सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेबारेको अलिखित समझदारी के हो भनी प्रश्न उठाएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार राउतले यस्तो कुनै सहमति सरकारसँग नभएको बताएका थिए।

‘मैले सुरुदेखि नै कुनै पनि पदमा नजाने भनेर लिएको प्रणमा म अडिग छु। राष्ट्रियसभा र सरकारमा जाने हल्ला उठाइएको छ। यसको पछि तपाईँहरु नलाग्नुस्। यस्तो खालको कुनै सहमति भएको छैन’ राउतको भनाई उद्धृत गर्दै ती नेताले भने। 

परिषद् बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिको बुँदागत र शब्द–शब्दमा छलफल भएको छ ।

सहमतिलाई राउतले सरकारले जनतालाई सार्वभौम मानेको र जनताको अभिमत अनुसार अबको बाटो तय हुने व्याख्या गरेका थिए।

बैठकमा सहभागी स्रोतका अनुसार राउतले सहमतिलाई जनमत संग्रहका रूपमा भने व्याख्या गरेनन्। राउतले जनमत संग्रह भन्ने शब्द उच्चारण समेत नगरेको ती नेताले बताए।

जनताको चाहना अनुसार नै अबको बाटो तय हुने राउतको धारणा थियो।

परिषद् बैठकमा आजदेखि सांगठनिक संरचनाबारे छलफल सुरु हुनेछ। अन्य पार्टीबाट आउनेका लागि कस्तो व्यवस्था गर्ने भन्नेमा पनि छलफल भइरहेको छ।

कार्यकर्ताले अन्य दलबाट केन्द्रीय समितिमा तत्काल कसैलाई पनि स्थान नदिन माग गरेका छन्। कतिपयले भने अन्य पार्टी छाडेर आएमा छाडेकै पद अनुसार मिलान गर्न सकिने धारणा पनि राखेका छन्।

सिरहाको लहानमा गठबन्धनको परिषद् बैठक आइतबारदेखि सुरु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell