PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक जुहारीः मोदीले ल्याए 'म पनि चौकीदार' अभियान



पहिलोपोस्ट

नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक जुहारीः मोदीले ल्याए 'म पनि चौकीदार' अभियान

भारत निर्वाचनमय भएको छ। अप्रिल ११ देखि त्यहाँ लोकसभा निर्वाचन हुँदैछ। गुजरातमा तीनपटक मुख्यमन्त्री बनेर २०१४ मा प्रधानमन्त्री बनेका नरेन्द्र मोदी पुन: प्रधानमन्त्री बन्ने दाउमा छन्।

२०१४ मा भएको लोकसभा निर्वाचनमा मोदीले आफूलाई देशको 'चौकीदार'का रूपमा प्रस्तुत गरेका थिए। प्रधानमन्त्री बनेपछि उनले आफूलाई देशको 'प्रधानसेवक' बताएका थिए।

४ वर्षपछि मोदी फेरि 'चौकीदार'को नारा लिएर आएका छन्। तर यसबीच उनले आफूलाई चौकीदार भन्न छोडेका भने थिएनन्।

यसपटक उनले आफूलाई मात्रै नभई आफ्नो दल भारतीय जनता पार्टीको निर्वाचन अभियानकै रूपमा 'म पनि चौकीदार' अभियान सुरु गरेका हुन्।

यसपटक उनले सुरु गरेको यसप्रकारको अभियानको कारण हुन् भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी।

भारतमा जति निर्वाचनको चर्चा छ। राफेल काण्डको चर्चा पनि उत्तिकै छ। सेनाका लागि किन्ने भनिएको अत्याधुनिक फाइटर जेटमा भ्रष्टाचार भएको र केन्द्र सरकार त्यसको जिम्मेवार रहेको विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन्।

राफेल काण्डकै सन्दर्भमा राहुलले केही समयअघि 'चौकीदार चोर हे' भनेका थिए। डिलसम्बन्धी कागजात सर्वोच्च अदालतले मगाउँदा ती कागजात हराएको सूचना बाहिरिएपछि राहुलले सिधै मोदीप्रति लक्षित गर्दै 'चौकीदार चोर हे' भनेका थिए। राहुलको यस अभिव्यक्तिले निकै विवाद खडा भएको थियो। चौकीदारहरूको संगठनले आफूहरूको बेइज्जत भएको भन्दै राहुलविरुद्ध 'एफआइआर नै दर्ज' गराएका थिए।

यसो त मोदी पनि कम छैनन्। मोदी राहुललाई सार्वजनिक रूपमै 'पप्पु' भनेर बोलाउँछन्। उनको पारिवारिक जीवनलाई लिएर समय समयमा व्यङ्ग्य गर्छन्।

दुई नेता एक अर्काविरुद्ध आरोप प्रत्यारोप चलाउँदै गर्दा मोदीले राहुललाई काउन्टर दिन शुक्रबारबाट 'म पनि चौकीदार' अभियान सुरु गरेको अनुमान गरिएको छ।

मोदीले ट्वीट गर्दै 'तपाईँको चौकीदारले देशको सेवा गरिरहेको छ। तर म एक्लो छैन। भ्रष्टाचार, बेथिति र सामाजिक कुरितीविरुद्ध लड्न सबै चौकीदार हुन्। भारतको विकासमा काम गर्ने सबै चौकीदार हुन्। शुक्रबार सबै भारतीयहरू ' म पनि चौकीदार' भनिरहेका छन्' भन्दै अभियानको सुरुवात गरेका हुन्।

राहुलले पनिको मोदीको 'चौकीदार' अभियान प्रति व्यङ्ग्य गर्दै ट्वीटरमा मोदीसँगै भारतीय व्यापारीहरु अनिल अम्बानी, निरव मोदी, मेहुल चोस्की र विजय माल्या रहेको तस्बिर राख्दै लेखेका छन्, ' मिस्टर मोदीको रक्षात्मक ट्वीट। तपाईँ शुक्रबार केही पश्चाताप महसुस गरिरहनु भएको छ?'

कुनै समय भारतकै धनीमा पर्ने अनिल अम्बानी अहिले घाटामा छन्। कांग्रेसले सुरुवातदेखि नै राफेल डिल हासिल गर्न अनिल अम्बानीले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ। अनिलको कम्पनीसँग कुनै पूर्वाधार नहुँदा पनि उनलाई राफेल डिल दिइएको कांग्रेसको आरोप छ।

यता, निरव मोदी, मेहुल चोस्की र विजय माल्या बैंकबाट अर्बौं ऋण लिए भारतबाट फरार भएका व्यापारी हुन। मोदीले २०१४ को लोकसभा निर्वाचनमा 'काला धन' फिर्ता ल्याउने नारा दिएका थिए। तर ४ बेससम्म पनि मोदीले आफ्नो वाचा पूरा नगरेको काँग्रेसको आरोप छ।

यता, निर्वाचनको संघारमा रहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि जैश ए मोहम्मदका नाइके सुद अजहरलाई 'अन्तर्राष्ट्रिय आतंकवादी' घोषणा गर्न चीनसँग पहल नगरेको भन्दै आलोचना भएको  अवस्थामा मोदीले महत्वकांक्षी र विवादस्पद 'चौकीदार' अभियान ल्याएका हुन्।

पढ्नुस्ः पुलवामा घटनाका 'नाइके' मसुदलाई आतंककारी घोषणा गर्न रोक्यो चीनले: मोदी सि जिनपिङसँग डराएको राहुलको आरोप, मसुदको काठमाडौं कनेक्सन यस्तो

भारतले फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमणको जिम्मेवार मानेको अजहरलाई 'अन्तर्राष्ट्रिय आतंककारी' घोषणा गर्दै प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लगेको थियो। तर चीनले भारतको उक्त प्रस्ताव अस्वीकृत गरिदियो र भारतको योजनामा ब्रेक लागेको थियो।

यस लगत्तै, काँग्रेस अध्यक्ष गान्धीले ट्वीट गर्दै 'कमजोर मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग डराएको' भन्ने तर्क गरेका थिए।

चीनले भारतविरुद्ध गरेका कार्यहरुमा मोदीले एक शब्द नबोलेको भन्दै राहुलले मोदीको चीनसँगको कूटनीति गुजरातमा सीसँग पिङ खेल्नु, सीसँग दिल्लीमा अंकमाल गर्नु र चीनमा सी सामु निहुरिनुमा सीमित रहेको आरोप लगाएका थिए।

निर्वाचन अभियानसँगै प्रधानमन्त्री मोदी र अध्यक्ष राहुलबीचको आपसी जुहारीले कुन रूप लिन्छ र 'चौकीदार र पप्पु' मा जनताले कसलाई जिताउने छ भन्ने विषय लोकसभा निर्वाचनको परिणामले अवश्य प्रस्ट्याउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell