PahiloPost

May 19, 2019 | ५ जेठ २०७६

मुस्ताङको एउटा रोमाञ्चक यात्रा : हिउँफूलको बगैचामा छिरेजस्तै

मुस्ताङको एउटा रोमाञ्चक यात्रा : हिउँफूलको बगैचामा छिरेजस्तै

वसन्तराज उप्रेती/पहिलोपोस्ट


शिवरात्रीको भोलिपल्ट काठमाडौं छाड्ने तयारी थियो। डेस्टिनेसन मुस्ताङ। शिवरात्रीको आसपास आकाशमा छाउने बादलले शिवरात्रीमा आउने 'बाबा'हरुलाई लुगलुग पार्नेमात्र होइन, हिउँ नै बर्साउने सम्भावना थियो। काठमाडौंमा बसेर मुस्ताङमा हिउँ परेको कल्पिनका लागि आकाशको बादल काफी थियो।

डेढ दशक भइसकेको थियो, मुस्ताङ पुग्ने कल्पना गरेको। त्यही सपना पूरा हुने खुशीले रोमाञ्चित बनाइरहेको थियो। अनि मुस्ताङका दृश्यहरु कल्पनामा एक एक गर्दै आउन थालिरहे। टेलिभिजनका पर्दामा देखेको मुस्ताङलाई आफ्नै आँखासामु पाउँदा कस्तो होला? कौतुहल कायमै थियो।

अघिल्लो दिन नै गुन्टा कसियो। बिहान कतिबेला होला भन्ने जस्तै भएको थियो। निन्द्रामा पनि झसंग झस्किरहेँ, कतै भुसुक्कै निदाएर ट्रिप मिस त हुने होइन? त्यसैले त न पूरै निदाउन सकियो न त ब्युझेर रात काट्न नै।

अघिल्लो साताको मंगलबार बिहान साढे आठ बजेबाट यात्रा सुरु भयो - काठमाडौं टू मुस्ताङ। सात महिनाअघि मात्रै सार्वजनिक भएको टोयोटाको 'रस'मा हुँदै थियो यात्रा। सात वटा रस र दुईवटा हाइलक्स तयारी अवस्थामा थिए।

त्यसो त रस टू ह्विलर क्षमताको गाडी। ढुङ्गे उकाली र ओरालीको बाटोमा 'बजरंग बली'को नाम लिँदै फोर ह्विलर गुड्ने बाटोमा टू ह्विलरमा यात्रा। धेरैको मनमा शंकासँगै थियो, कौतुहलता - गाडी मुस्ताङ त पुग्ला नि!

मुस्ताङको बाटोमा यात्रा गर्दै रहेको नयाँ गाडीमा चालक पहाडी बाटोका लागि नयाँ नै। सातवटामध्ये एउटाका चालक थिए इर्फान अन्सारी। वीरगञ्जका उनी पहिलो पटक निर्धक्क हुँदै सजिलै मुस्ताङ पुग्ने सुनाउँदै थिए। उनको भनाइ सुन्दा उनी नै पहिलोपटक जाँदैछन् भन्ने विश्वास लाग्दैन थियो।

यात्राको पहिलो रात पोखरामा टुंगियो। मुस्ताङ जाने सडकको ट्र्याक खुलेलगत्तै गाडी चल्न थालेको हो। कालोपत्रे त टाढाको कुरा, स्तरोन्नतीका लागि काम नै जारी छ। सडक फराकिलो पार्नेक्रम रहेकाले बिहानै हिँड्नुपर्ने योजना बन्यो। लेतेमा पुगेर बास बस्ने तय भयो।

'गाइज सडक विस्तारका कारण हामी लेते पुग्दा ढिला हुन्छ। त्यसैले बिहान साढे ६ बजे नै हिँड्नुपर्छ है,' विवेकबहादुर बलामीले ब्रिफिङ गरे। उनले बाटोमा हिउँ पर्न सक्ने संकत गर्नासाथ यात्राको रोमाञ्चकता कल्पनामा आउनु सामान्य थियो। त्यही कल्पनाले यो यात्रामा पर्याप्त एड्भेन्चर हुने अपेक्षा बढाइरहेको थियो।

पोखरासम्म ड्राइभ गर्ने अन्सारी अहिले ड्राइभिङ सिटमा थिएनन्। उनलाई पालो दिए सुरेश तामाङले। यिनी पनि पहिलो पटक मुस्ताङ जाँदै रहेछन्। गाडी, चालक र म सबै नयाँ थियौं - मुस्ताङको यो यात्रामा। सहयात्रीहरु केहीको नयाँ र केहीको दोहरिँदो यात्रा।

बिहान हटेको बादलले माछापुछ्रे चहकिलो देखियो। संसारका राम्रा हिमालमध्ये सातौ मानिने माछापुछ्रेलाई जति हेरे पनि रहर पुग्ने रहेनछ। यसपटकको माछापुछ्रेसँगको साक्षतकार एक वर्षको अन्तरालमा भएको थियो।पोखरा बाग्लुङ अन्तर्गतको हेम्जा खण्डमा बाटो विस्तार हुँदै गरेकाले हामी सराङकोट हुँदै बेनीतर्फ लाग्यौँ। साँघुरो बैकल्पिक बाटो भएकाले सराङकोट पुग्दा एकछिन जाममा परियो। लहरै ९ वटा गाडी देखेपछि धेरैको ध्यान हामीतिर जानु स्वभाविक थियो। पसलमा चिया पिउँदै गरेकाहरुले चासो - यी गाडीको लस्कर कहाँ जान लाग्या रै'छ?

'मुस्ताङ जान लागेको दाजु।'

उत्तर सुनेपछि उनको अनुहारमा संशयको भाव देखियो। र, बोले - 'यो गाडी पुग्छ होला त?'

ती स्थानीयको कुरा दोमन बनाउन पर्याप्त थियो - कतै बीचमै अलपत्र त परिने होइन?

नौ डाँडा हुँदै पर्वत झरियो। अनि पुगियो म्याग्दी। म्याग्दीमा खाना खाउन्जेलसम्म पनि सराङकोटमा स्थानीयले भनेको बोली याद रहिरह्यो। उनका शब्दले मनमा चिसो पसिरहेको थियो। पहिले यात्रा गरिसकेको भए सायद उनका भनाईले फरक असर गर्थ्यो। तर, अवस्था फरक थियो।

बेनीसम्म त समस्या भएन। बाटो सजिलै थियो। गलेश्वर कटे लगत्तै अप्ठ्यारो बाटो कस्तो हुन्छ देखिन थाल्यो। यसअघि सामाजिक सञ्जालमात्र देख्दै आएका अक्करे भीर र नागबेली उकालोमा हाम्रो गाडी गुड्न थाल्यो। कच्ची, उकालो अनी जताततै ठूला खाडलहरु। बाटो असहज भए पनि यात्रा असहज थिएन। गाडीको बनावट र सुविधाले असहजतालाई सहजतामा रुपान्तरण गरिरहेको थियो। तर, भयले मनमा राज गरिरहेकै थियो- कुन बेला उकालोमा गाडी रोकिने हो?

रुप्से पुग्दा त मनमा डेरा जमाएर बसेको त्यो भय बेपत्ता भइसकेको थियो, भलै यात्रामा अगाडि काप्रेको भिर र त्यसपछिका अनगिन्ति डरलाग्दा पखेराहरु बाँकी नै थिए।

रुप्सेको झरना पुगिसकेपछि मन चङ्गा भयो। बाटो छिचोल्दै जानेक्रममा देखिएका निलगिरी, अन्नपूर्ण 'ए' लगायतका हिमश्रृंखलाले माछापुच्छ्रेको मोह भंग गराउँदै थिए। सहजै पुग्ने माछापुच्छ्रे पहिलेदेखि नै आफ्नो लाग्थ्यो, यहाँ देखिएका नौला हिमालसँग पहिलोपटक परिचय हुँदै थियो। यिनीहरुले मोहनी लगाइरहेका थिए।

हामी लेते पुग्दा घाम अस्ताउँदो क्रममा थियो। कालोपानी होटलमा बास बसियो। घाम अस्ताउँदै गर्दा आँखा अगाडि धौलागिरि (८,१६७ मिटर), टुकुचे ( ६९२०मिटर) र निलगिरि ६८३९ मिटर) हिमाल आँखा सामुन्ने थिए। यति नजिकबाट हिमाल देख्ने अवसर नै पहिलो थियो, रोमाञ्चित नहुने कुरै भएन।

भोलिपल्ट बिहान साढे आठ बजेदेखि सुरु भयो यात्रा लेते- मुस्ताङ। वीरगन्जका समुद्धिन सेख ड्राइभिङ सिटमा थिए। उनका लागि यो बाटो भने नयाँ रहेनछ। सातवटै नयाँ मोडलका गाडी र दुईवटा हाइलक्स कुनैमा पनि समस्या नआई यात्रा जारी थियो।

हिमाल टलक्क टल्केका थिए। कालीगण्डकीमा पनि ठाउँ ठाउँमा जमेका बरफका ढिक्का देखिन्थे। बगरमा गिट्टी उछिट्याउँदा ट्वाङट्वाङ आवाज निस्किरहे - नौलो धुन झै लाग्नेगरी।

साढे बाह्र बजे जोमसोम पुग्दा मुड बेल्लै बन्यो। १२ बजेपछि यहाँ पुग्दा नेपथ्यको 'जोमसोमै बजारमा...' नसुन्ने कुरै रहेन। जोमसोमको हावामा महसुस गर्दै यो गीत सुन्नुको मजा बयान गर्न सकिन्न।

जोमसोममा खाना खाएपछि मुक्तिनाथतर्फ लाग्यौं। धेरैजसो तेर्सो बाटो भएकाले असहज हुने कुरा भएन। अघिल्लो दिनको बाटोको तुलनामा निक्कै सहज रहेछ यो बाटो। अझ उच्च हिमाली भेगमा कालोपत्रे सडक भेटिँदाको उत्साह कम्ताको थिएन। कागबेनीबाट मुक्तिनाथसम्मको १२ किलोमिटर सडक कालोपत्रे। बगरका तिखा ढुंगाहरु पार हुँदै आएको गाडीले कालोपत्रे सडक छोएको एक किलोमिटर नपुग्दै हिउँ टेक्न पुग्यो। बाटो वरपर कपासका चुली झैँ लाग्ने हिउँ। यस्तो लाग्यो, मानौं हामी हिउँफूलको बगैचामा यात्रा गरिरहेका छौं।

रोमाञ्चक यात्रासँगै त्रासले अझै छाडेको भने थिएन। हिउँमा गाडीको टायर चिप्लिने पो हो कि! घरीघरी यस्तो चिन्ता पनि लाग्थ्यो। थोरै बाटो बिराउँदा जे पनि हुनसक्ने जोखिम लिएर यात्रा जारी थियो। कालोपत्रे सडकमा गाडीको लिक अनि बीचमा हिउँको थुप्रो! गाडीको ग्राउन्ड क्लियरेन्सले भ्याउँछ त? दुई सय २० एमएम रहेछ क्लियरेन्स, निर्धक्क भइयो।

पहिलो पटक मुक्तिनाथ पुगियो दर्शन भयो। फर्कने क्रममा हल्काफुल्का हिउँ पर्न सुरु भइसकेको थियो। धुम्मिएको बाटो पहिल्याउन फग लाइट नै बाल्न पर्‍यो। यहाँ जे गर्दा पनि मनमोहक नै लागिरहेको थियो। सायद पहिलो पटकको प्रभाव थियो। सडक वरपर हिउँले ढाकेका पहाड, हिमाल अनि लस्करै हाम्रो सवारी।

राति हामी फेरि लेतेकै होटल फर्कियौं। भोलिपल्टको यात्रा थियो दुम्बाताल। बाटो जोमसोमसम्म उही तर जोमसोमबाट पारिपट्टि लागिसकेपछि अलिक कठिन। काठे पुलको छेउमा आइपुग्दा साना साना नानीहरु भन्दै थिए, 'त्यो पुलबाट गाडी नलानुस् अलिक साँघुरो छ। हल्लिन्छ पनि।'

उनीहरुले एउटा सुटिङमा आएको गाडी त्यहीँबाट पल्टिएको सुनाउँदा मुटु जोरले धड्किएको महसुस भयो। तर, गाडी सजिलै पार भयो।

२ हजार ९ सय मीटर उचाईमा रहेको दुम्बा ताल जाने ठाडो कच्ची सडकखण्ड सजिलै पार गर्‍यो। जोखिमपूर्ण यात्रा पूरा गर्दै कास्कीको सराङकोटमा आइपुग्दा बाटो फेरि चिल्लो भेटिसकेको थियो। त्यही बाटो हुँदै जाँदा जाममा फसिएको ठाउँमा पुगियो। त्यतिखेर मेरो नजर चिया पिउन बसेका तिनै व्यक्ति देखिन्छन् कि भन्नेतिर गयो। जान सक्ला र? भन्ने तिनलाई हामी गएर आयौं त भन्न मन लागेको थियो। तर, ती व्यक्ति कतै देखिएनन्।



ट्रेन्डिङ पोस्ट