PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एक बूढीआमैको ‘क्लु’ले भेटियो ७० लाखको सामान, चोरेरै काठमाडौँमा जग्गा र गाडी!



सविन ढकाल

एक बूढीआमैको ‘क्लु’ले भेटियो ७० लाखको सामान, चोरेरै काठमाडौँमा जग्गा र गाडी!

काठमाडौं : गत फागुन २७ गते प्रहरीको एउटा टोली मध्य बानेश्वरमा पुग्यो। प्रहरीको साथमा चोरीमा समातिएका दुई युवक सँगै थिए। बा १ ज ११९२ नम्बरको ट्याक्सी भरि चोरी भएका सामान राखिएको थियो। 

अरू केही छ? सामान कहाँ छन्? प्रहरीले बारम्बार प्रश्न गरिरहेको थियो। 

तर, जवाफ शून्य। 

वरपरका मानिसलाई पनि प्रहरीले ती दुई युवकका बारे सोधखोज गरिरहेको थियो। जवाफ कतैबाट आएको थिएन। सबै तै चुप मै चुप। 

त्यही एक बुढी आमै टुप्लुक्क आइपुगिन्। 'ए बाबु मैले यी मान्छेलाई देखेको थिएँ। हिजो ठूलो बोरा बोकेर त्यो पहेलो घरभित्र छिर्दै थिए,' उनले भनिन्।

ती बुढी आमैको कुराले प्रहरी सतर्क भयो। अरू कोहीले मुख नखोलिरहेको अवस्थामा प्रहरीसामु गजबको 'क्लु' तेर्सियो। ती आमाले दिएको जानकारी अनुसार प्रहरी पहेलो घरभित्र पुग्यो।

घरभित्र छिर्नासाथ प्रहरी नै झस्किन पुग्यो। कोठा त पूरै हार्डवेयर र चाँदीका सामानले भरिएका थिए। बुझ्दै जाँदा थाहा भयो समातिएका ती दुई युवकले कोठा भाडामा लिएका रहेछन्। बुढीआमाले क्लु नदिएको भए अरू सामान बरामद गर्न कठिन हुने महानगरीय प्रहरी वृत्त महाजञ्जका डिएसपी फणिन्द्र प्रसाईले सुनाए। 'स्थानीयले सहयोग गरिरहेका थिएनन्। कोही पनि बोल्न पक्षमा थिएनन्। ती आमाले आएर त्यति भनेकाले ठूलोमात्रामा चोरीका सामान बरामद गर्न सकियो,' उनले भने। बरामद गरेको सामानको मूल्य ७० लाख बराबरको भएको प्रहरीको दाबी छ। 

त्यही क्रममा उपत्यकाभित्र चोरी गर्ने दुई भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भयो प्रहरी। पक्राउ पर्नेहरूमा रामेछाप सुनापती गाउँवालीका घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदारलाई शुक्रवार सार्वजनिक गरियो। 
उनीहरूले चोरीका लागि दुई वटा निजी गाडीसमेत प्रयोग गर्ने गरेको देखिएको छ। प्रहरीले बा १ ज ११९२ नम्बर र बा १४ च ७२६९ नम्बर भ्यान नियन्त्रणमा लिएको छ। उनीहरूले चोरिएको सामान गाडीमा राखेर विभिन्न ठाउँमा पुर्‍याउने गरेको देखिएको छ।

दिनभर मोटरसाइकलमा रेकी, रातभर ट्याक्सी र भ्यान लिएरै चोरी

उनीहरूले चोरेको सामान राख्नका लागि कोठा भाडामा लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। काठमाडौँको पुरानो वानेश्वरमा उत्तमकृष्ण कर्माचार्यको घरमा ३ वटा कोठा भाडामा लिएका रहेछन्। प्रहरीका अनुसार चोरी भएको सामान गाडीमा राखेर घरमा ल्याएर गोदाम गरेको देखियो। विगत चार वर्षदेखि कोठामा भाडामा लिएर चोरीको सामान स्टोर गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले बताए। 'उनीहरूले चोरीको सामान आफूहरू ठुलो व्यापारी भएको भन्दै १० देखि २० प्रतिशत कम गरेर बेच्ने गरेको देखियो,' सिंहले भने।

प्रहरीले उनीहरूको कोठाबाट चोरी भएका झन्डै एक ट्रकभन्दा बढी सामान बरामद गरेको छ। 

प्रहरीको अनुसन्धानमा उनीहरूले चार वर्षदेखि सात जनाको समूह बनाएर चोरी गर्दै आएको देखिन्छ। दिउँसो एक जनाले मोटरसाइकलमा गएर राति कुन पसलमा चोरी गर्ने रेकी गर्ने र राति भ्यान र ट्याक्सी लिएर चोर्ने गरेको अनुसन्धानमा खुलेको हो। ‘दिनभर मोटर साइकलमा रेक्की अनि रातभर गाडी लिएर चोरी गर्ने गरेका छन्,' एसपी सिंहले भने।

प्रहरीले फागुन २१ गते धुम्वाराही पिपल बोट नजिकै रहेको कर्णप्रसाद चौलागाइले सञ्चालन गरेको हार्डवेयर चोरिएपछि ट्र्याक गर्दा उनीहरुको राज खुलेको हो। प्रहरीले पसल नजिकै रहेको सीसी क्यामरामा ट्याक्सी देखेपछि समात्न सफल भएको डिएसपी प्रसाईले बताए। ‘हामीले ट्याक्सीलाई फलो गर्‍यौं। दश वटा ट्याक्सीलाई निगरानी गरेपछि पत्ता लगाएका हौं,' उनले भने। 

चोरीले काठमाडौँमा घर र गाडी!

भारतीय नागरिक पारसप्रसाद चोरी गिरोहका मुख्य योजनाकार हुन्। विगत चार वर्षदेखि उनी नेपालमा रहेर चोरी गर्दै आएका छन्। चोरीमा प्रयोग भएको बा १ ज ११९२ नम्बरको ट्याक्सी, बा १४ च ७२६९ नम्बरको मारुती भ्यान र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरूको नै भएको खुलेको छ।

चोर्नका लागि नै उनीहरूले गाडी किनेको प्रहरीको दाबी छ। त्यस्तै पारसले काठमाडौँमा जग्गा समेत किनेको प्रारम्भीक अनुसन्धानमा देखिएको डिएसपी प्रसाईले जानकारी दिए। ‘गाडी उनीहरूको नै भएको बताएका छन्। जग्गा समेत किनेको खुलेको छ। यस विषयमा हामी अनुन्धान गर्दैछौं,' उनले भने। 

चोरीमा संलग्न अन्य चार जना भने फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell