PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेसबुक लाइभ गर्दै न्यूजिल्याण्ड मस्जिदमा आक्रमण, बंगलादेशी क्रिकेट टोली सुरक्षित



पहिलोपोस्ट

फेसबुक लाइभ गर्दै न्यूजिल्याण्ड मस्जिदमा आक्रमण, बंगलादेशी क्रिकेट टोली सुरक्षित

न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा रहेको अल नूर मस्जिद र लिनउड मस्जिदमा आक्रमण भएको छ। 

आक्रमणबाट हालसम्म ३० जनाको मृत्यु भएको बताइएको छ। धेरै संख्यामा मानिस घाइते भएको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। आक्रमणको समयमा मस्जिदमा ३०० जनाभन्दा बढी मानिस प्रार्थना गरिरहेका थिए। 

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले तीन पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने मध्ये एकजनाले 'आत्मघाती भेष्ट' लगाएको अवस्थामा नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन्। 

हाललाई क्राइस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरुलाई अर्को सूचना जारी नगरेसम्मका लागि बन्द गरिएको छ। प्रहरीले मानिसहरुलाई बिनाकाम बाहिर नहिँड्न आग्रह गर्दै सर्च अपरेसन गरिरहेको छ।

न्यूजिल्याण्डका प्रधानमन्त्रीले यो घटनालाई न्यूजिल्याण्डको इतिहासकै कालो दिनका रुपमा व्याख्या गरेका छन्।

प्रत्यक्षदर्शीहरुले धेरै संख्यामा गोली चलेको आवाज सुनेको दाबी गरेको डेली मेलले उल्लेख गरेको छ। 

घटनामा सलग्न रहेका भनिएका बर्टन टरानर्टले मस्जिदमा प्राथर्ना भइरहेको अवस्थामा फेसबुकबाट लाइभ गर्दै गोली चलाएको मेलले उल्लेख गरेको छ। फेसबुकले त्यो भिडियो हटाएको छ। न्युजिल्यान्डको प्रहरीले त्यो भिडियो सेयर नगर्न अनुरोध गरेको छ। 

१७ मिनेटको लाइभ स्ट्रिमिङमा उसले १०० पटक भन्दा बढी गोली प्रहार गरेको देखिएको उल्लेख गरेको छ। टरानर्टले सेमिअटोमेटिक सटगन प्रयोग गरेको बताइएको छ। मस्जिद भित्र प्रवेश गरेर ती व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए। उनले आक्रमण अघि 'लेस्टस गेट डिस पार्टी स्टार्टेड' भनेर फेसबुकमा लेखेका थिए। 
 
शुक्रबारको प्रार्थनाका लागि क्राइस्टचर्चमा रहेको मस्जिद जाँदै गरेको बंगलादेशी क्रिकेट टोली भने गोली काण्डबाट  बंचेको बताइएको छ। उनीहरु मस्जिद नपुग्दै आक्रमण भएको अन्तर्राष्ट्रिया समाचार संस्थाहरुले जनाएका छन्। आक्रमणपछि टोलीलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ। 

प्रहरीले आक्रमणबारे अनुसन्धान गरिरहेको बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell